Butwal Today

लायन्स एरिया–५ को तेस्रो जिल्लास्तरीय बैठक

१८ माघ २०८२, आइतबार
अ+
अ-

रुपन्देही, १८ माघ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालको तेस्रो डिस्ट्रिक क्याबिनेट बैठक भैरहवामा सम्पन्न भएको छ । भैरहवास्थित रोयल होटलमा आयोजित कार्यक्रममा लायन्सहरुको उल्लेख्य सहभागिता रहेको जिल्ला प्रमुख (गभर्नर) बालाराम भट्टराईले बताए । कार्यक्रमको उदघाटन पूर्व अन्तर्राष्ट्रिय निर्देशक इन्जिनियर सञ्जय खेतानले गरेका थिए ।

कार्यक्रममा एरिया–१ काठमाडौं, एरिया–२ पाल्पा, एरिया–३ परासी र बुटवल, एरिया–४ बुटवल तथा एरिया–५ अन्तर्गत भैरहवा र कपिलवस्तु क्षेत्रका लायन्स क्लबहरूको संयुक्त सहभागिता रहेको थियो । जिल्लास्तरीय बैठकमा १५६ क्लबका प्रतिनिधि र लायन्स सदस्य गरी करिब ८०० जनाको उपस्थिति रहेको थियो ।

बैठकको मुख्य उद्देश्य संगठनात्मक गतिविधिको समीक्षा, भावी कार्ययोजना निर्माण, नेतृत्व विकास र सेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु रहेको थियो । बैठकमा विगत तीन महिनामा सम्पन्न भएका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको र आगामी तीन महिनामा सञ्चालन गरिने योजना माथि विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा बुटवल क्लबद्वारा सञ्चालित कपडा र खाद्यान्न भण्डारको विशेष सहभागिता रहेको थियो । जाडो मौसममा विपन्न र असहाय समुदायलाई आवश्यक कपडा, जुत्ता र खाद्यान्न वितरण गर्ने कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरिएको बताइएको छ ।

कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरूका लागि आयोजित शान्ति पोस्टर प्रतियोगिता थियो, जसमा उत्कृष्ट हुने विद्यार्थी र क्लबहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन गर्ने लायन्स क्लब र सदस्यहरूको नेतृत्व क्षमता, सक्रियता र सामाजिक सेवाप्रतिको प्रतिबद्धता उच्च मुल्यांकन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रमुख बालाराम भट्टराईले सेवा, नेतृत्व र एकताको माध्यमबाट समाज रूपान्तरण सम्भव हुने उल्लेख गरे । उनले साना तर निरन्तर प्रयासहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रभाव पार्ने बताए र क्लबहरूलाई दिगो, पारदर्शी र परिणाममुखी काम गर्न प्रेरित गरे ।

इन्जिनियर सञ्जय खेतानले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तिकरण र मानवीय सेवाका क्षेत्रमा लायन्सले पुर्याएको योगदानको प्रशंसा गरे । स्थानीय आवश्यकतामा आधारित कार्यक्रमहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा संस्थाको सकारात्मक छवि निर्माण गरेको उनले बताए ।

कार्यक्रममा बहु–जिल्ला सहयोग समन्वयकर्ता, पूर्व जिल्ला प्रमुख, उप–जिल्ला प्रमुख, युवा शिविर अध्यक्ष र अन्य वरिष्ठ लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सचिव एम.एल. पाण्डेले उद्देश्यमाथि प्रकाश पारेका थिए ।