Butwal Today

आक्रोश, लोकप्रियता र विवेकको राजनीति

१८ माघ २०८२, आइतबार
अ+
अ-

नेपालको पछिल्लो राजनीतिक अवस्था एउटा गम्भीर चेतावनी हो ।

आक्रोश, असन्तोष र निराशामा आधारित निर्णयले देशलाई सुधारको दिशामा होइन, सङ्कटको दलदलतर्फ धकेल्छ । सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता राज्यका प्रतीकात्मक संरचनामा भएको आगजनी तोडफोड, कैदी बन्दी छुट्नु तथा जनधनको ठुलो क्षति—यी सबै घटनाले राजनीतिक विवेक कमजोर हुँदा समाज कति छिटो अराजकतामा फस्न सक्छ भन्ने स्पष्ट देखाएका छन् ।

आक्रोशमा विवेक हुँदैन । आवेगले दोषी र निर्दोष छुट्टाउन सक्दैन । कुनै दल वा नेताप्रतिको असन्तोषकै आधारमा सम्पूर्ण राजनीतिक प्रणाली, यसको वैचारिक धरातल र संस्थागत संरचनालाई अस्वीकार गर्नु दीर्घकालीन रूपमा राष्ट्रहित विपरीत हुन्छ । पुराना दलका अनुहारप्रतिको हाम्रो पूर्वाग्रहले सत्य नदेख्ने खतरा पनि उत्तिकै गम्भीर छ ।

यस्तो राजनीति क्षणिक सन्तुष्टि दिन सक्छ तर स्थायित्व, संस्थागत सुदृढता र राष्ट्र निर्माणको आधार बन्न सक्दैन । आज राजनीतिमा सामाजिक सञ्जालको लोकप्रियता ठुलो शक्ति बनेको छ । तर लोकप्रियता शासन होइन—यो बुझाइ अपरिहार्य छ ।

राष्ट्र भावनाबाट होइन; नीति, अनुभव, अध्ययन, वैचारिक स्पष्टता र संस्थागत संरचनाबाट चल्छ । केवल आवेग र भीडको समर्थनमा जन्मिएका राजनीतिक शक्तिहरू दीर्घकालीन हुन सक्दैन । जहाँ एक–अर्काको अस्तित्व स्वीकार गर्ने संस्कार हुँदैन, त्यहाँ लोकतन्त्रको भविष्य पनि सुरक्षित रहँदैन । ठूला र पुराना पार्टी तथा तिनका शीर्ष नेतृत्वप्रति नवपुस्ताको धारणा नै अन्तिम सत्य होइन ।

ती पार्टीभित्र पनि इमानदार, सक्षम र प्रतिबद्ध व्यक्तिहरू छन् भन्ने बुझ्न जरुरत छ । त्यसैगरी नयाँ पार्टीका सबै अनुहार स्वतः नैतिक र योग्य हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । समस्या पार्टीको उमेर होइन—राजनीतिक संस्कृतिको गुणस्तर हो । मूल्य, जिम्मेवारी र नैतिकता बिना नयाँ पार्टी पनि पुरानै रोगको नयाँ संस्करण बन्न सक्छ ।

इतिहासले बारम्बार देखाएको छ—जव समाज प्रशंसा र चाप्लुसीमा डुब्छ, विवेकभन्दा प्रशंसा ठुलो हुन्छ, त्यहाँ तानाशाह जन्मिन्छ । प्रशंसा तानाशाहीको मल हो । तानाशाह हुर्किने आँगन हो । नागरिकले ढिलो बुझ्दा त्यसको मूल्य सधैं ठुलो चुकाउनुपर्छ ।

विश्व राजनीतिका केही उदाहरणहरूले यो तथ्य अझ स्पष्ट पार्छ । युक्रेनमा भोलोदिमिर जेलेन्स्की लोकप्रिय टेलिभिजन पात्रको छविबाट सत्तामा आए । भ्रष्टाचारविरुद्धको कडा भाषा र युवा समर्थन उनको शक्ति थियो । तर संस्थागत अनुभव र भू–राजनीतिक संवेदनशीलताको अभावमा देश युद्धको दलदलमा फस्यो ।

युक्रेनको संकट केवल बाह्य आक्रमणको परिणाम मात्र होइन; आन्तरिक राजनीतिक अपरिपक्वताको मूल्य पनि हो । श्रीलङ्कामा “सबै पुराना खराब” भन्ने भावनात्मक नाराले सत्ता जित्यो । अनुभवविहीन आर्थिक निर्णय र लोकप्रियतामुखी शासनले देशलाई दिवालियातर्फ धकेल्यो । लिबियामा तानाशाह ढल्यो, तर स्पष्ट वैचारिक र संस्थागत विकल्प नहुँदा राज्य नै विघटन भयो ।

क्रान्ति भयो, तर राज्य निर्माणको योजना भएन । यी सबै उदाहरणहरूले के स्पष्ट गर्छन् भने—नयाँ शक्ति सत्तामा आउनु समस्या होइन; ठोस वैचारिक धरातल, स्पष्ट नीति, अनुभव, अध्ययन र संस्थागत तयारी बिना सत्तामा आउन खोज्नु नै मूल समस्या हो ।

नेपालमा पछिल्लो समय देखिएको जेन्जी आन्दोलन पनि यही सन्दर्भमा बुझ्नुपर्छ । यो सत्ता प्रयोगको शैली, दण्डहीनता, भ्रष्टाचार र नैतिकता विरुद्ध उठेको चेतना हो । तर यही चेतनालाई आधार मानेर “फलानै पार्टी नै विकल्प हो” भन्ने निष्कर्षमा पुग्नु विश्लेषणात्मक हतारो हो । आन्दोलन चेतनाको अभिव्यक्ति हो; पार्टी सत्ता–संरचनामा प्रवेश गर्ने औजार हो ।

चेतना र औजारबीचको भिन्नता नबुझ्दा राजनीति भावनात्मक उत्साहमै सीमित हुन्छ । अन्ततः विकल्प पार्टी होइन—विकल्प राजनीति हो । राजनीति बदल्न झण्डा होइन, संस्कृति बदल्नुपर्छ । भावनामा होइन, विवेकमा आधारित मतदान आवश्यक छ ।

नयाँ नामले होइन, नयाँ नियतले मात्र इतिहास मोडिन्छ । यही विवेक अपनाउन सके नेपाल युक्रेनजस्तो संकटबाट बच्न सक्छ; नसके इतिहासले क्षमा गर्दैन ।