Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

प्राविधिक शिक्षाबाट बदलिँदै करिअर

पढ्दापढ्दै स्वरोजगार हुने प्राविधिक शिक्षामा विद्यार्थीहरूको अत्यधिक रुचि छ । यसले विद्यालय तहबाटै करियर तर्जुमामा सहज बनाएको छ ।
१८ माघ २०८२, आइतबार
अ+
अ-

बुटवल ।

बुटवल–१३ निवासी अङ्कित खनाल सिभिल इन्जिनियरिङमा स्नातकको अध्ययन सक्दै छन् ।

नवीन औद्योगिक माध्यमिक विद्यालय, बुटवलमा प्राविधिक धारमा अध्ययन गरेका उनी त्यतैबाट इन्जिनियरिङतर्फ मोडिए । ‘स्कुल तहमै इन्जिनियरिङ पढेपछि मैले त्यतै नै भविष्य देखेर उच्च शिक्षामा इन्जिनियरिङ पढे, अव इन्जिनियर हुने तहमा पुगिसके’, उनी भन्छन् ।

विद्यालय तहमै प्राविधिक शिक्षाको ज्ञान हुँदा करियर निर्माणमा ठुलो सहयोग पुग्ने उनको अनुभव छ । नवीन औद्योगिक माध्यमिक विद्यालयले ०७० सालदेखि कक्षा ९ देखि १२ सम्मका लागि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनको अनुमति पाएको थियो । त्यसयता सो धारमा रही झन्डै ६ सय जनाले विद्यालय तहको अध्ययन पूरा गरी सकिसकेका छन् ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले हरेक वर्ष कक्षा ९ मा ४८ जनाको सङ्ख्यामा विद्यार्थी भर्ना हुने गरेको बताए ।  ‘प्राविधिक धारमा विद्यार्थीको आकर्षण उच्च नै छ, अहिले कक्षा ९ देखि १२ सम्म १ सय ९२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्’, उनले भने । नवीनका उत्पादनहरूले करियर निर्माणमा पनि छलाङ नै मारेका छन् ।

प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयमै अध्ययन गरेकी सुस्मिता पुनले इन्जिनियरिङ नेपाल प्रथम स्थान हासिल गरेकी थिइन् । विद्यालयबाट कक्षा १२ सकेका चार जना विद्यार्थीहरूले एकै पटक सब ओभरसियरमा नाम निकालेर सरकारी सेवामा छन् । लोकसेवाले लिएको अधिकृत तहको परीक्षाको एक नम्बरमा नाम निकाल्ने विद्यार्थी समेत नवीनकै उत्पादन रहेको बस्नेतले बताए ।

नवीन औद्योगिक माध्यमिक विद्यालय जस्तै रुपन्देहीको धकधईमा रामनरेश माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ पठनपाठन भइरहेको छ । त्यहाँ समेत विद्यार्थीको चाप उच्च रहेको विद्यालयले जनाएको छ ।

कम्प्युटरतर्फ बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालय र शुद्धोदन गाउँपालिकाको फर्साटिकर माध्यमिक विद्यालयले पठनपाठन गरिरहेका छन् । कालिका मान ज्ञानले ०७० देखि कम्प्युटर शिक्षा सुरु गरेको हो ।

बुटवलको नवरत्न माध्यमिक विद्यालयले कृषितर्फ बाली विज्ञान विषय अध्यापन गरिरहेको छ । ४८ जना प्रतिवर्ष कोटा निर्धारण भए पनि बाली विज्ञानतर्फ विद्यार्थीको चाप हुन सकेको छैन ।

बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा कम्प्युटर इन्जिनियरिङ विद्यार्थीहरूले समेत करियरमा उच्च प्रगति गरेको विद्यालयले जनाएको छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाएको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले पढ्ने समयदेखि नै स्वरोजगार बन्दै आएका छन् ।

कालिकाले प्राविधिक धारतर्फ नेपालमै पटक पटक उत्कृष्ट नतिजा ल्याएको छ । कालिकाका कम्प्युटर कार्यक्रम संयोजक अरविन्द कुमार दुबेका प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढी रहेको छ ।

कक्षा ९ देखि नै कम्प्युटर अध्ययन गर्ने विद्यार्थीहरू सफ्टवेयर इन्जिनियरिङ बनेर आफ्नो उद्यममा तल्लीन रहेका छन् । ‘भर्ना नपाएर विद्यार्थीहरू फर्किनु परेको छ, सेक्सन थप नहुँदा सबैले पढ्न पाएका छैनन्’, शिक्षक दुवेले भने ।

कम्प्युटर, सूचना प्रविधि र सिभिल इन्जिनियरिङजस्ता प्राविधिक विषय समेटिएसँगै सामुदायिक विद्यालय युवालाई रोजगारमुखी बनाउने केन्द्रका रूपमा चिनिन थालेका छन् । कक्षाकोठामा किताबसँगै कम्प्युटर, प्रोजेक्ट वर्क र प्रयोगात्मक अभ्यास देखिन थालेपछि यहाँको शैक्षिक वातावरण नै फेरिएको छ ।

देशभर प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता बढिरहेका बेला नवीन औद्योगिक, कालिका मानव ज्ञान माविले माध्यमिक तहबाटै प्राविधिक धार सञ्चालन गरेर उदाहरणीय अभ्यास सुरु गरेका हुन् ।

विद्यालय प्रशासनका अनुसार पछिल्ला वर्षमा प्राविधिक विषयतर्फ विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । पहिले एसइईपछि विद्यार्थी अन्य विद्यालय वा निजी कलेज खोज्दै बाहिरिने प्रवृत्ति थियो । तर प्राविधिक शिक्षा सुरु भएपछि अवस्था फेरिएको छ । विद्यालयमै कम्प्युटर र प्राविधिक विषय पढ्न पाइने भएपछि विद्यार्थीको निरन्तरता बढेको नवीन औद्योगिकका प्रधानाध्यापक बस्नेत बताउँछन् ।

कालिकामा कम्प्युटर विषय पढ्नेहरू कुनै पनि बेरोजगार हुनु परेको छैन । ‘पढ्दै गरिरहेका विद्यार्थीहरूले पनि ३०÷३५ हजारको आशिंक रोजगारी गरिरहेका छन्’, कार्यक्रम संयोजक दुवेले भने, ‘कुनै विद्यार्थीले बेरोजगार बस्नु परेको सुनेका छैनौँ ।’

सरकारी सेवा प्रवेशदेखि ठुला कम्पनीहरूमा पनि कालिकाका उत्पादनहरूले काम गरेको उनले बताए । प्राविधिक शिक्षा सञ्चालन भने त्यति सजिलो छैन । यसको ल्याब निर्माणदेखि व्यवस्थापनमा विद्यालयलाई चुनौती रहेको छ ।

प्रयोगात्मक सामानहरू निकै महँगो पर्छ । नवीन औद्योगिकले लुम्बिनी इन्जिनियरिङ कलेजसँगको सहकार्यमा युनिभर्सल टेष्टिम मेसिनको अभ्यास गराउने गरेको छ । एउटै मेसिनको ४० लाखसम्म पर्ने भएकाले त्यसको व्यवस्थापन विद्यालयलाई चुनौती छ ।

अन्य ल्याब, सर्भे मेसिनहरू भने विद्यालयमै राखिएका छन् । सिभिल इन्जिनियरिङ पढिरहेकाहरू विद्यालय तहमै टायल लगाउन, इँटा परीक्षण, बाटो परीक्षण गर्ने मेसिनहरूसँग अभ्यस्त रहने गरेका छन् ।

प्राविधिक धारतर्फ ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक कक्षा हुने गरेको छ । नवीन औद्योगिकले प्रयोगात्मक सिकाइका लागि विभिन्न सिमेन्ट उद्योग, अन्य कलकारखानाको अध्ययन भ्रमणमा विद्यार्थी लैजाने गरेको छ ।

“आजका विद्यार्थी डिग्रीभन्दा सीप खोजिरहेका छन्,” शिक्षक दुवे भन्छन्, “प्राविधिक शिक्षा सुरु गरेपछि भर्ना मात्र बढेको छैन, विद्यार्थीको आत्मविश्वास र भविष्यप्रतिको दृष्टिकोण पनि बदलिएको छ ।” सरकारले सामुदायिक विद्यालयमा विद्यालय तहबाटै हाल कृषि, कम्प्युटर र सिभिल इन्जिनियरिङतर्फ आधारभूत प्राविधिक शिक्षा पढाइ गराउँदै आएको छ ।

प्रयोगशाला, कम्प्युटर ल्याब र प्रोजेक्ट–आधारित सिकाइले कक्षा पढाइलाई व्यवहारिक बनाउने भएकाले एक निर्वाचन क्षेत्रमा एक प्राविधिक शिक्षाको नीति अवलम्बन गरिएको हो । तथापि क्षमतावान् विद्यालयमा त्यो मापदण्डका अलावा अनुमति दिने गरिएको छ ।

सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरू केवल सैद्धान्तिक ज्ञानमा सीमित छैनन् । उनीहरू स्थानीय निर्माण कार्य, भवन नक्सा अध्ययन र आधारभूत संरचना सम्बन्धी फिल्ड अभ्यासमा समेत सहभागी हुँदै आएका छन् ।

“पहिले इन्जिनियरिङ भनेको किताबमै सीमित जस्तो लाग्थ्यो । अहिले साइटमा गएर काम बुझ्न पाइन्छ । पढाइसँगै काम सिक्दा भविष्य स्पष्ट देखिन थालेको छ”, विद्यार्थी खनालले भने । कम्प्युटर र आइटी पढिरहेका विद्यार्थीहरू पनि डिजिटल सीपमा अगाडि बढिरहेका छन् । आधारभूत प्रोग्रामिङ, डकुमेन्टेशन, डिजाइन र अनलाइन प्रयोगका सीपले उनीहरूलाई समयसँगै अपडेट बनाएको छ ।

कालिका मानव ज्ञान माविबाट प्राविधिक शिक्षा लिएका केही विद्यार्थी अहिले उच्च प्राविधिक अध्ययनतर्फ गएका छन् भने केही निजी कम्पनी र प्राविधिक फार्ममा सहायक कर्मचारीका रूपमा काम गरिरहेका छन् । विद्यालयका अनुसार, प्राविधिक पृष्ठभूमि भएका विद्यार्थीलाई रोजगारी खोज्न तुलनात्मक रूपमा सहज भएको छ ।

संघीय सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ । सीपयुक्त जनशक्ति उत्पादन, बेरोजगारी घटाउने र शिक्षा–रोजगारीबिचको खाडल कम गर्ने उद्देश्यसहित नीति बनाइएका छन् ।

लुम्बिनी प्रदेश सरकारले पनि शिक्षा तथा सामाजिक विकास क्षेत्रअन्तर्गत प्राविधिक धार सञ्चालन गर्ने विद्यालयलाई सहयोग गर्ने नीति लिएको छ । प्रदेश र स्थानीय तहबाट भवन, ल्याब र तालिममा आंशिक सहयोग पुग्दै आएको विद्यालयहरूले बताएका छन् । तर विद्यालय तहमा आवश्यक पर्ने उपकरण र दक्ष जनशक्ति अझै चुनौतीकै रूपमा छन् ।

प्राविधिक शिक्षा विस्तारसँगै समस्या पनि उस्तै देखिन्छ । दक्ष प्राविधिक शिक्षकको अभाव, आधुनिक उपकरणको कमी र उद्योगसँग प्रत्यक्ष सहकार्य कमजोर हुनु मुख्य चुनौती हुन् । नवीन औद्योगिक माविका प्रधानाध्यापक बस्नेत भन्छन्, “नीति राम्रा छन्, तर कार्यान्वयनमा स्रोत र जनशक्ति अपुग छ । यदि सरकार र निजी क्षेत्रसँग सहकार्य बढ्न सके प्राविधिक शिक्षा अझ प्रभावकारी हुन्थ्यो ।”

प्राविधिक शिक्षामा शिक्षकले गाइडलाइन दिन्छन्, विद्यार्थीले त्यसलाई प्रयोग गर्छन् । कालिका मानव ज्ञानका कार्यक्रम संयोजक दुवे भन्छन्–“टेक्निकल विषयलाई सोही ढाँचाकै रूपमा पढाउनुपर्छ । डेढ घण्टा प्राक्टिकल गर्न ल्याब प्रभावकारी हुनुपर्छ, राम्रो कम्प्युटर चाहिन्छ”,  उनले भने । कालिकामा ५ वटा ल्याब रहेका छन् । एआई, नयाँ सफ्टवेयरमा अभ्यास गराइएको छ ।

सेमिनारमा विद्यार्थीहरू सहभागी हुन्छ । आइटी क्लब बनाइएको छ । विद्यार्थीहरूले एप्स बनाएर आफै अभ्यास र प्रयोग गर्छन् । नवीन औद्योगिक र कालिका विद्यालयसहितका विद्यालयको अभ्यासले सामुदायिक विद्यालय पनि सही योजना र प्रतिबद्धता भए प्राविधिक शिक्षाको केन्द्र बन्न सक्छन् भन्ने उदाहरण दिएका छन् ।

पढाइसँगै सीप, सीपसँगै रोजगारीको बाटो खोल्ने यो प्रयासले बुटवल मात्र होइन, रुपन्देहीका अन्य विद्यालयका लागि पनि उदाहरण प्रस्तुत गरेको छ । प्राविधिक शिक्षामा गरिएको लगानीले युवाको भविष्य सुरक्षित गर्न सक्छ भन्ने विश्वास यी विद्यालयका कक्षाकोठाबाट स्पष्ट देखिन थालेको छ ।