Butwal Today

लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि रबिन–हिमान्सु जोडीलाई

१८ माघ २०८२, आइतबार
अ+
अ-

बुटवल, १७ माघ ।

लाफा समूह बुटवलद्वारा आयोजित तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत प्रदेश खुला तर्फको उपाधि लाफाका रबिन केसी र हिमान्सु कुँवर मगरको जोडीले हात पारेका छन् ।

फाइनल खेलमा रबिन–हिमान्सु जोडीले लाफाकै बिनोद पौडेल र नारायण पौडेलको जोडीलाई २–१ ले पराजित गर्दै उपाधि जितेका हुन् । विजेता जोडीले ५५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको बिनोद–नारायण जोडीले ३५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

यसैगरी, मदौलिया ब्याडमिन्टन क्लबका खेलाडी विवेक अधिकारी, विवेक न्यौपाने, गणेश रायमाझी र नसिङ बुढाको टिमले समान रूपमा १०–१० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रदेश ‘सी’ लेभल तर्फ लाफा समूहका सौरव अर्याल र संजिप खातीको जोडी प्रथम हुँदै ३५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तैघोराही ब्याडमिन्टन क्लबका मदन खड्का र विशाल घिमिरेको जोडी द्वितीय हुँदै २५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । तृतीय हुने गुल्मी लुम्पेकका यादव थापा–विशाल थापा तथा युवराज पुन–रवि ठकुरीको जोडीले ७ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

५४ वर्षमाथिको भेट्रान्स तर्फ लाफाका पुरन गाहा र कृष्ण रानाको जोडी विजयी भयो । उनीहरूले बुटवल ब्याडमिन्टन क्लबका पंकज ज्ञवाली र शंकर टन्डनको जोडीलाई पराजित गर्दै ३५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता बनेको पंकज–टन्डन जोडीले २५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । तृतीय हुने दीप आचार्य–दिलीप गौचन (बीबीसी) र लाफाका बबिन थापा र रितेश थापाको टिमले ७ हजार ५ सय नगद प्राप्त गरे ।

५५ वर्षमाथिको सुपर भेट्रान्स तर्फ नवराज श्रेष्ठ र गोपाल टन्डनको जोडी प्रथम भएको छ । उनीहरूले राजु गुरुङ र खगेन्द्र रेगामीको जोडीलाई पराजित गर्दै २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता गुरुङ–रेगामी जोडीले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । तृतीय हुने नेत्र बगाले–युवा राना तथा सुदिप कडेल–दिलीप ककेँठको जोडीले ५–५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष बबिन थापाले जानकारी दिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खेलकुद प्रतियोगिताले खेल र खेलाडीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बुटवल उपमहानगरपालिकाले नगरभित्र सञ्चालन हुने खेलकुद प्रतियोगितालाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्दै आएको उल्लेख गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२७ टिमको सहभागिता रहेको खेल संयोजक बिनोद पौडेलले जानकारी दिए ।