© 2026
वीरगञ्ज १८ माघ ।
वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रु ७ अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताउनुभयो । जबकि गत आवको ६ महिनामा भने ७ थरिका दलहन खाद्यान्न रु ५ अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको ६ महिनामा रु ३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ ।
त्यस्तै सोही अवधिमा रु १ अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको ६ महिनामा रु १ अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।
त्यसैगरी, रु १ अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । रू २७ करोड बराबर रहरको दाल र रु १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै रु ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ । रासस