© 2026
बर्दघाट, १८ माघ ।
स्थानीय स्तरमा आफ्नै समूहद्वारा उत्पादित वस्तुको बिक्री एवम् प्रवर्द्धनसँगै संस्कृति संरक्षणमा समेत महिला र जनजाति अग्रणी स्थानमा देखिएका छन् ।
बर्दघाट उद्योग व्यापार सङ्घद्वारा आयोजित प्रथम बर्दघाट एक्स्पोमा नगरभित्रका विभिन्न समुदाय र महिला उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुको प्रवर्द्धन र बिक्री गर्दै व्यावसायिकतातर्फ उन्मुख भएका हुन् । विभिन्न जातीय संस्कृतिको समेत संरक्षणमा उनीहरूको सहभागिता देखिएको छ ।
एक्स्पोमा थारु समुदाय, मगर समुदाय, गुरुङ समुदायको संस्कृति झल्कने घर, रहनसहन र खाना पाउन सकिन्छ । छुट्टै पेवेलियन नै निर्माण गरी आफ्नो स्टलहरूमा समुदायसँग सम्बन्धित विभिन्न वस्तुहरू प्रदर्शनमा राखिएका छन् भने समुदाय विशेष खाना समेत बिक्री गर्दै आय आर्जन समेत गरेका छन् ।
उद्यमीका उत्पादनसँगै एक्स्पोमा जातीय विशेषको खाना समेत अवलोकनकर्ताहरू चाखपूर्वक स्वाद लिँदै आएका छन् । थारु समुदायको संस्कृति र खाना पाइने स्टलमा घुँगी, माछा, चिच्चर, ढिकरी, हाँसका परिकार लगायतका खानाका परिकार उपलब्ध रहेका छन् ।
थारु समुदायको संस्कृति र खाना प्रदर्शनीको व्यवस्थापन ब्रम्हबाबा सामुदायिक विकास प्रतिष्ठान र सम्झना आमा समूहले गर्दै आएको छ । यस्तै मगर समुदायको स्टलमा बटुक, बङ्गुरको मासु, लगायतका परिकार उपलब्ध रहेका छन् ।
यहाँ मगरहरू पहिरन र जातीय संस्कृति झल्कने सामग्री समेत प्रदर्शनीमा राखिएका छन् । गुरुङ समुदायको पनि संस्कृति झल्कने जातीय पहिरन र विशेष गरी गुरुङ समुदायले प्रयोग गर्ने वस्तुहरू प्रदर्शनीमा राखिएका छन् । तमु प्हे ल्हु सङ्घले गुरुङ स्टलको संयोजन गरेको छ ।
दैनिक उपभोग्य सामग्री होस् या शृङ्गारका सामग्री, हस्तकलाका सामग्री, झोला, अचार, पिठो, चिप्स जस्ता आ–आफ्ना उत्पादन लिएर स्टलमा राखिएका छन् । एक्स्पोमा सहभागी महिला उद्यमीहरूले समेत आफ्ना उत्पादनहरू प्रदर्शनी र बिक्रीमा राखेका छन् । केही समूहगत छन् त केही व्यक्तिसँग रूपमा सहभागी भएका छन् ।
एक्स्पोमा सेल रोटी, घोंगी, ठेकुवा, बटुक, बंगुरको मासुका परिकारजन्य स्थानीय उत्पादनलाई बजारीकरण तथा पहिचान दिन हरियालीनगर आमा समूह, सम्झना आमा समूह, मगर समूह, गुरुङ्ग समूह अग्रसर भएर लागेका छन् ।
अचारमा भाउजू अचार उद्योग, महिला अधिकार मञ्च बर्दघाट १४, दाउन्ने अचार, आमाछोरी अचार, मिना गुरुङ्ग अचार जस्ता नामले एक्स्पोमा उत्साहित भएर बसेका छन् । विगत लामो समयदेखि स्थानीय महिलालाई रोजगारी तथा जीविकोपार्जन गर्न अग्रसर रहेको दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिला उद्यमीले तयार पारेका झोला लिएर एक्स्पोमा आएका छन् ।
महिला उद्यमीहरूले उत्पादन गरेका झोला, अचार, खेलौना, सजावटका सामग्री, सरसफाइ सम्बन्धी सामग्रीहरू फिनेल, साबुन, सर्फ, हर्पिक, हेण्डवास, पिताम्बरी लगायतका सामग्रीहरू समेत एक्स्पोमा राखिएका छन्, जुन अधिकांश महिला उद्यमीहरूबाट व्यक्तिगत वा सामूहिक रूपमा उत्पादन गरिएका हुन् ।
मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले एक्स्पोमा महिलाहरूको सहभागिता उल्लेख्य हुनु उत्साहजनक भएको बताउँदै घरेलु उद्योग तथा नगर सरकारसँग समन्वयमा आएका महिला उद्यमीलाई निःशुल्क स्टल, संस्थामा आबद्ध महिला उद्यमीलाई ५० प्रतिशत छुट तथा कृषिमा आधारित महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको बताए ।
एक्स्पो औद्योगिक प्रदर्शनी मात्र नभई साना मझौला र महिला उद्यमीहरूलाई पनि प्रोत्साहन गर्न, उनीहरूका उत्पादन प्रदर्शनी गराइ थप व्यावसायिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने थलो रहेको एक्स्पोका सहसंयोजक दिनेश न्यौपानेले बताए ।
जारी एक्स्पोमा उद्यमीका स्टलहरूमा दर्शकहरूको विशेष चासो रहेको र आगामी वर्षमा यस्ता खाले कार्यक्रम आयोजना गरिँदा थप उद्यमी र जनजातिहरूलाई समेत समेट्दै थप व्यवस्थित गर्न प्रेरणा मिलेको उद्योग उपाध्यक्ष एवम् प्रचार प्रसार संयोजक लिलाहरी पौडेलले बताए ।