Butwal Today

खोटाङ सेवा समाज कतारले मनायो “२९औँ वार्षिकोत्सव”

१८ माघ २०८२, आइतबार
अ+
अ-

कतार  ।

दोहा— कतारमा पहिलो पटक संस्थागत रूपमा स्थापना भएको खोटाङ सेवा समाज कतारले आफ्नो “२९औँ वार्षिकोत्सव” भव्यता साथ मनाएको छ ।

शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष डिल्लीशेर खड्का तथा संरक्षक समिति संयोजक प्रेमप्रसाद भट्टराईको उपस्थितिमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।

“२९ औँ स्थापना दिवसको अवसर पारेर केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको कार्यक्रममा कलाकार वर्षा लोप्चन, सोनिशा तामाङ, सृजना तामाङ, दुर्गा श्रेष्ठ, अन्मिन खालिङ राई, विशाल नेपाली संयुक्त रूपमा स्वागत नृत्य पेस गरेका थिए ।
स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए, शुभकामना वक्ताहरूले ऐतिहासिक संस्थाको यो ऐतिहासिक दिनमा संस्था स्थापना  र इतिहासलाई स्मरण गर्दै कतारमा खोटाङ सेवा समाज पहिलो संस्थागत रूपमा स्थापना हुनुको महत्त्व तथा स्थापना गर्दाका चुनौती र त्यो समयको अप्ठ्यारो परिस्थितिको अवस्थाबाट आजसम्मको सफल सामाजिक यात्राको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सांस्कृतिक संयोजक एलिसा राई र कमल दर्नालले संयुक्त रूपमा “पूर्व जस्तो राम्रो ठाउँ अरू कहाँ छर” भने गीत गाउँदै सांस्कृतिक कार्यक्रमको दैलो उघारेका थिए ।

कार्यक्रममा करिब एक दर्जन कलाकारहरूले पूर्वेली पहिचान झल्किने सामूहिक एकल, तथा सामूहिक नृत्य र गायन प्रस्तुत गरेका थिए ।
कतारमा रहेर निरन्तर साहित्य साधनामा जुटिरहेका साहित्यकार राजिब दाहाल, सिताराम थापा,चक्र कार्की, शोभाराम ओलीले गजल कविता वाचन समेत गरेका थिए ।

उपस्थित सम्पूर्ण साहित्य प्रेमी तथा उपस्थित सम्पूर्णलाई भरपुर साहित्यिक मनोरञ्जन प्रदान गरेका थिए । साङ्गीतिक प्रस्तुति दिएका कलाकारहरूलाई पारिश्रमिक सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेका कवि तथा गजलकार महेश्वर पन्त “आमा एक पोल्टा घाम पठाइदेऊ” नामक कविता वाचन गर्दै स्टेज चढे, उनले आमा, मलाई दुखेको बेला रुने त तिमी हौ, “जिन्दगी” पर्खिबसे दोधारमा,मान्छे मरेको  हेर्न कसलाई रहर हुन्छ, भन्ने गजल वाचन गरे ।

कवि पन्तको लाइभ प्रस्तुतिमा कबिका गजल र कविताका शब्दहरूले सभा हल भावनाले भरिएको थियो। कवि पन्तलाई समाजले स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेको थियो ।

प्रमुख अतिथि भट्टराईले आफ्नो मन्तव्य बोल्दै साहित्यिक उर्वरको भूमि रहेको खोटाङ सेवा समाज कतारको “२९ औँ स्थापना दिवसको अवसरमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर अमेरिका देखि कतार सम्म आएर  कार्यक्रमलाई सौहार्दपूर्ण रूपमा भव्य बनाइदिने कवि तथा गजलकार महेश्वर पन्त र शारदा पन्तलाई विशेष धन्यवाद व्यक्त गरे ।

सभापति खड्काले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेका खोटाङेलीहरूलाई एकतामा बाँधेर दुःख सुखमा साथ दिने संस्थाको मानवीय पक्ष र आफ्नो उद्देश्य रहेको बताए ।

उनले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नको निमित्त साथ र सहयोग गर्नुहुने सम्पूर्णलाई एकमुस्टमा धन्यवाद व्यक्त गरे। संस्थाका उपाध्यक्ष रविन शेर्पाले स्वागत मन्तव्य पेस गरेको कार्यक्रमको सहजीकरण महासचिव महेश दाहालले गरेका थिए ।