गण्डकी, १८ माघ ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ ।
निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावारणमा सम्पन्न गराउन आचारसंहिताको कार्यान्वयनलगायत विषयमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया सम्पन्न भएसँगै आन्तरिक तयारी तीव्र बनाइएको छ ।
जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइने कर्मचारी, पठाइने सामग्री आदिको व्यवस्थापनलगायत कामलाई कार्यालयले बढाइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
जिल्लामा कूल १५३ मतदानस्थल र ३६३ मतदान केन्द्रहरू रहेको बताउँदै उनले मतदानस्थल तथा केन्द्रको आवश्यकता एवं समस्या आदिबारे बुझ्न स्थलगत रुपमा अनुगमनलगायत काम पनि भइरहेको जनाइएको छ ।
निर्वाचनमा आवश्यकपर्ने सामग्रीको व्यवस्थापनमा पनि कार्यालय लागेको बताउँदै उनले निर्वाचनमा मतपत्र, मतपेटिका, स्वस्तिक छापलगायत विभिन्न ५३ किसिमका सामग्री प्रयोग हुने जानकारी दिए ।
जिल्लामा निर्वाचनका लागि स्वयंसेवकसहित करिब तीन हजार कर्मचारी खटाउने कार्यालयको तयारी छ । सूचना अधिकारी न्यौपानेका अनुसार त्यसको व्यवस्थापनका लागि जिल्लास्थित कार्यालयमा निर्वाचनमा खटाउन सकिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।
“आगामी माघ २५ गतेभित्र निर्वाचनमा खटाउन सकिने कर्मचारीको विवरण पठाउन कार्यालयमा माग गरेका छौँ”, उनले भने, “विवरण प्राप्त भएपछि कर्मचारीको विवरण तयार गरिनेछ ।” मतदाता शिक्षालाई अघि बढाउने सम्बन्धमा कार्यालय लागेको र आयोगबाट कार्यविधि आएसँगै उक्त काम अघि बढ्ने उनले बताए । निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस