© 2026
दाङ/लमही, १७ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।
ठुला दलका प्रभावशाली उम्मेदवार र स्वतन्त्र उम्मेदवारबिचको प्रतिस्पर्धाले यो क्षेत्रको चुनाव रोचक बन्ने देखिएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी दाङ–२ का मुख्य केन्द्रमा देखिएका छन् ।
दुवै उम्मेदवार विकास र स्थिरताको पक्षमा उभिएको दाबी गरे पनि उनीहरूको प्राथमिकता र राजनीतिक दृष्टिकोण फरक–फरक देखिन्छ ।
एमालेका महासचिव पोखरेलले उम्मेदवारी दर्तापछि दाङका विभिन्न क्षेत्र पुगेर घरदैलो र आन्तरिक भेटघाटमार्फत मतदातासँग संवाद बढाइरहेका छन् ।
उनले यो निर्वाचनलाई ‘विनाश होइन, निर्माणको पक्षमा जनताको मतादेश’ को रूपमा व्याख्या गरेका छन् । विगतमा गठबन्धनका कारण करिब दुई सय मतले पराजित भएको स्मरण गर्दै यस पटक दाङवासीले विकास, समृद्धि र स्थायित्व रोज्ने विश्वास पोखरेलले व्यक्त गरे ।
पोखरेलले दाङको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । लमही–घोराही–तुल्सीपुर फोरलेन सडक, घोराही औद्योगिक क्षेत्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार, तुलसीपुर विमानस्थल स्तरोन्नति र कृषिको आधुनिकीकरण उनका प्रमुख एजेन्डामा छन् ।
उनले सिंहदरबार र राष्ट्रिय प्रतीकमाथि भएका आक्रमणलाई राष्ट्र विरोधी कार्यको संज्ञा दिँदै ‘देश बनाउने शक्तिलाई नै मत दिनुपर्ने’ धारणा सार्वजनिक रूपमा राखेका छन् ।
उता, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी भने राजधानी देउखुरीका अधुरा काम पूरा गर्नकै लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै मैदानमा छन् ।
दलगत स्वार्थ, नेतृत्व दोहोरिने प्रवृत्ति र राजधानीप्रतिको उदासीनताले विकास अवरुद्ध भएको ठहर गर्दै उनले राजधानी क्षेत्रको गुरुयोजना कार्यान्वयन नै आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् ।
लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केसीले लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय आफ्नो नेतृत्वमा भएको दाबी गरे । दलका उम्मेदवारहरूले राजधानीको विषयमा ‘टुक्रे कुरा’ मात्र गरिरहेको आरोप लगाउँदै उनले समग्र गुरुयोजनाअनुसार काम अघि नबढेको बताए ।
माओवादी केन्द्रभित्रको आन्तरिक असन्तुष्टिलाई पनि उनले आफ्नो उम्मेदवारीको कारणका रूपमा प्रस्तुत गरेका छन् । पार्टी नेतृत्वले कार्यकर्ता र जनताको भावना नबुझी पटक–पटक एउटै व्यक्तिलाई उम्मेदवार बनाउँदा वितृष्णा बढेको उनको तर्क छ ।
देउखुरीका जनताले विकास र समृद्धि खोजिरहेको उल्लेख गर्दै उनले ‘देउखुरी बनाउने अभियान’ को नेतृत्व आफूले गर्ने स्पष्ट पारे ।
केसीको उम्मेदवारीलाई पूर्व माओवादी नेता तथा कार्यकर्ताको समर्थन पनि देखिन थालेको छ ।
राप्ती गाउँपालिका इन्चार्ज श्यामेश चौधरी र केन्द्रीय सदस्य होमप्रसाद शर्मालगायतले राजधानी देउखुरी ल्याउन भूमिका खेलेका केसीलाई जिताउन सक्रिय सहयोग गर्ने बताएका छन् । दाङ क्षेत्र नम्बर २ मा हाल १ लाख ४० हजारभन्दा बढी मतदाता रहेका छन् ।
एकातिर सत्तारूढ दलका शक्तिशाली नेता पोखरेल विकास र स्थिरताको एजेन्डासहित मैदानमा छन् भने अर्कातिर राजधानीका अधुरा काम पूरा गर्ने प्रतिबद्धतासहित स्वतन्त्र उम्मेदवार केसी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दाङ–२ को चुनाव यस पटक दलको सङ्गठन, उम्मेदवारको प्रभाव र मतदाताको विकासप्रतिको अपेक्षाबिचको टकराबका रूपमा हेरिएको छ । मतदाताले ‘दल रोज्ने कि एजेन्डा’ भन्ने प्रश्नको जवाफ दिनुपर्ने अवस्थामा यो क्षेत्रको चुनाव पुगेको छ ।