Butwal Today

लोकतान्त्रिक अधिकारको बीउ सहिदरूले नै रोपेका हुन्ः अध्यक्ष ओली

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, १६ माघ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै  उनले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरेका हुन् ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गर्दै  त्यस्तो शासनको अन्त्य गर्न कम्युनिस्ट र काँग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको बताए ।
“निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिस्ट र काँग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो”, सामाजिक सञ्जालमार्फत उनले भने ।

अध्यक्ष ओलीले सहिदको बलिदानी लाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाएका छन् । रासस