Butwal Today

अर्घाखाँचीमा चुनावी प्रतिस्पर्धा: स्थापित दल लाई ‘घण्टीको पिर’

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची, १६ माघ  । 

अर्घाखाँचीमा विभिन्न पार्टीका १२ जना र ३ जना स्वतन्त्र गरी १५ जना प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । जसमा एक जना मात्र महिला उम्मेदवारी परेको छ ।

अर्घाखाँचीमा एक महिला सहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेपाली काङ्ग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) चुनावी मैदानमा छन् ।

नेकपा एमालेबाट पीताम्बर भुसाल प्रतिस्पर्धामा छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवारी बनाएर पहिलोपल्ट चुनावी मैदानमा उतारेको हो ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि प्रसाद भुसाल, नेकपा माओवादीबाट खिम बहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह चुनावी मैदानमा होमिएका छन् ।

महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र उम्मेदवारी परेको छ । पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पाटीबाट सुर्यबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर गाहा, स्वतन्त्रबाट र हिमाल भुसालले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिए ।

जसमा पुरुष ८७ हजार १ सय ५७ जना र महिला ८४ हजार ४ सय ९५ जना रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार भएका छन् ।

रास्वपाको जिल्ला सङ्गठन बनाउन तथा गाउँ गाउँमा रास्वपाको समिति निर्माण गर्न सुरुदेखि नै लागेका भुसाल २०७९ सालको प्रतिनिधि सभामा पनि रास्वपा बाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्वाचनमा ३५ सय मत ल्याएका थिए ।

३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् । लायन्स क्लब अर्घाखाँचीको संस्थापक अध्यक्ष रहेका भुसाल अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेका छन् । उनी प्रष्ट र यथार्थ बोल्ने हकी स्वभावका युवा हुन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका राम बहादुर चौहानको राजनीतिक यात्रा नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट सुरु भएको हो ।

चौहान पहिलो पटक संसदीय चुनाव लड्दै छन् । सन्धिखर्क स्थित पाणिनि बहुमुखी क्याम्पसको स्ववियु सभापति, अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै युवा सङ्घको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका थिए ।

अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको लामो समय अध्यक्ष भएर काम गरेका थिए । उनी नेपाल पत्रकार महासङ्घ जिल्ला उपाध्यक्ष पनि भए । नेकपा एमालेको जिल्ला सचिव रहेका चौहान नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने ।

फेरि पुष्पकमल दाहाल नेतृत्वको माओवादी र नेपाल नेतृत्वको नेकपा यसबिच एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको चौहान अहिले केन्द्रीय सदस्य छन् ।

नेपाली काङ्ग्रेसबाट लुम्बिनी प्रदेशका सह महामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान) प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । मालारानी गाउँपालिका वडा नम्वर ४ खन स्थायी ठेगाना भएका विष्णु प्रसाद खनाल (मुस्कान) को राजनीतिक यात्रा विद्यार्थी राजनीति नेविसंघबाट सुरु भएको थियो । काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री रहेका मुस्कान काँग्रेस अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

स्थायी शिक्षकको सुरक्षित जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षका लागि उम्मेदवार बनेका मुस्कान राजनीतिमा आफ्नो जीवन समर्पण गरेका छन् ।

राजनीतिसँगै केही समय जिल्लामा पत्रकारिता गरेका खनाल काँग्रेसको सङ्गठन निर्माणमा गाउँदेखि प्रदेशसम्म सक्रिय रहे । उनी मानव अधिकार तथा शान्ति समाजको अध्यक्ष, पत्रकार महासङ्घ अर्घाखाँचीको संस्थापक सदस्य, भू सन्देश साप्ताहिक पत्रिकाको सम्पादक, पाणिनि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष लगायतका सामाजिक सङ्घसंस्थामा काम गरेको अनुभव उनीसँग छ ।

गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै उनी अहिले प्रदेश सह महामन्त्री रहेका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका खनाल हालका मुख्यमन्त्री चेतनारायण आचार्यसँग उक्त निर्वाचनमा पराजित भएका थिए ।

अखण्ड लुम्बिनीको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका मुस्कान जिल्लाका विभिन्न सरोकारका विषयमा राजनीतिक सहमति र सहकार्य मजबुत बनाउने नेताका रूपमा चिनिन्छन् । काँग्रेस जिल्ला पार्टी सङ्गठनमा मजबुत खनाल कुटिल राजनीतिज्ञ तथा व्यक्तिगत मत तान्न सक्ने क्षमता भएका कुशल लिडर भएको काँग्रेसका नेताहरू बताउने गरेका छन् ।

नेकपा एमालेबाट अर्घाखाँचीमा प्रतिनिधि सभामा उम्मेदवार बनेका पीताम्बर भुसाल २०५४ सालमा २५ वर्षको उमेरमा बाँगी गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी २८ वर्षपछि पहिलो पटक संसदीय चुनावमा भिड्न लागेका छन् ।

विद्यार्थी राजनीतिदेखि, गाउँ, इलाका, क्षेत्र, जिल्ला सदस्य हुँदै भुसाल एमाले जिल्ला अध्यक्षमा यो दोस्रो कार्यकाल हो । एमाले वृत्तमा भुसाल कुशल संगठकका रूपमा चिनिन्छन् । केही समय अघि भएको एमालेको महाधिवेशनमा सर्वाधिक मत ल्याएर अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि जितेका थिए । पाटी पङ्क्तिमा राम्रो छवि उनको रहेको छ ।

भुसाल अध्यक्ष रहेको समयमा तत्कालीन नेपाली काँग्रेस, नेकपा माओवादी लगायतको गठबन्धन हुँदा पनि २०७९ सालको निर्वाचनमा संघ तथा प्रदेश नेकपा एमालेले जितेको थियो ।

२०७९ को दलगत अवस्था

२०७९ सालको निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली काँग्रेस भन्दा १० हजार भन्दा बढी मतले अगाडि छ ।
उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो ।

नेपाली काँग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । ८ हजार ९ सय ५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । नेकपा माओवादी केन्द्रले ७ हजार ३ सय ४२ मत ल्याउँदै चौथो भएको थियो । राष्ट्रिय जनमोर्चाले ५ हजार ३ सय २७ मत र नेकपा (एकीकृत समाजवादी) ले १ हजार ६७ मत ल्याएको थियो ।

२०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एमाले एक्लै र नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिस्पर्धा गरेका थिए ।

उक्त निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम) लाई १७३० मतान्तरले पराजित गरेका थिए । भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी थिइन् ।

जेनजी आन्दोलन तथा पछिल्ला दिनहरूमा जनतामा पुराना भनिने पार्टीका कारण देश विकास हुन नसकेको भन्ने धारणा युवाहरूमा बसेको छ । दलकै पुराना अनुहारहरू मिलेर सत्तामा बसेको र जनता माथि शासन चलाएको भन्दै मत परिवर्तन हुने बताउँदै आएका छन् ।

अर्घाखाँची जिल्लामा उठेका नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपा र नेकपाका उम्मेदवारहरू सबै जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माण, जनताका सुखदुःखमा भिजेका उम्मेदवार छन् । जसका कारण पनि फागुन २१ गते हुने निर्वाचनको नतिजा फलानै पाटीको उम्मेदवारले जित्छ भनेर धारणा बनाउन सकिँदैन ।

दलहरू घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन उनीहरू जिल्लाका गाउँ केन्द्रित अभियानमा छन् ।