Butwal Today

प्रतिनिधिसभा निर्वाचन: लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा उम्मेदवारको खर्च सीमा कति ?

१६ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाका २६ सिटका लागि करीब ६ सय उम्मेदवार मैदानमा छन्। आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारहरु मतदाता प्रभावित गर्न व्यस्त छन्।

त्यसरी मत माग्न मतदाताको घरदैलो, सभा सम्मेलन, प्रचार प्रसारका गतिविधि गर्दा कति खर्च गर्ने भनेर निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ। तोकेको सीमा नाघेर उम्मेदवारले खर्च गर्न पाइदैन।

निर्वाचन आयोगले तय गरेको निर्वाचन खर्च सीमाअनुसार लुम्बिनी प्रदेशका यी निर्वाचन क्षेत्रमा न्युनतम २७ लाखदेखि अधिकतम ३३ लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गर्न पाइदैन।

खर्च सीमाका आधारमा हेर्दा ३३ लाखको सीमा भएका निर्वाचन क्षेत्र सबैभन्दा बढी ६ वटा छन् । २९ लाख खर्च सीमा भएका क्षेत्र ११ वटा, ३१ लाख खर्च सीमा भएका ८ वटा छन् ।

सबैभन्दा कम रुकुम पूर्वको निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ भन्दा बढी खर्च गर्न पाउँदैनन्।

सबैभन्दा बढी ६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउँछन्। आयोगका अनुसार बर्दियाका २ निर्वाचन क्षेत्र, दाङ १, प्युठान, रोल्पा, अर्घाखाँचीका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउँछन्।

यस्तै रुपन्देही १, ५, कपिलवस्तु १ र २ बाँके १, दाङ २ र ३, गुल्मी १ का उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउँछन्। यस्तै रुपन्देही २, ३ र ४ कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी पश्चिम १ र २ गुल्मी २, पाल्पा १ र २ का उम्मेदवारले २९ लाख रुपैयाँ खर्च गर्न पाउँछन्।

आयोगले निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, मतदाता संख्या र पहुँचका आधारमा उम्मेदवारले खर्च गर्न पाउने सीमा फरक–फरक तोकेको जनाएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र उम्मेदवारले निर्वाचन खर्च गर्नुपर्नेछ। उनले खर्च सीमा नाघेमा कानुन अनुसार कारबाही हुने बताए।

खर्च अनुगमनमा कडाई, ३५ दिनभित्र विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च अनुगमनका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। आयोगले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न खर्च व्यवस्थापनमा कडाइ गर्ने जनाएको छ।

कतिपय उम्मेदवारले भने निर्वाचन खर्चका विषयमा आयोगको औपचारिकता मात्रै भएको बताउँछन्। गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार सुदर्शन बरालले निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्च सीमाले नेकपालाई केही राहत पुगेको बताएका छन्।

तर, खर्च सीमा व्यवहारिक रूपमा कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा भने उनले शंका व्यक्त गरे। आयोगले खर्चको निगरानी कसरी गर्छ भन्ने स्पष्ट नदेखिएको भन्दै उनले यो व्यवस्था औपचारिकतामै सीमित हुन सक्नेमा शंका गरे।

यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार चुन्नु प्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमा भन्दा माथि नजाने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको आधिकारिक धारणा नै निर्वाचन आयोगको आचारसंहिता पालना गर्दै चुनावी गतिविधि सञ्चालन गर्ने रहेको उनले स्पष्ट पारे।

निर्वाचन क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले आयोगले तोकेको खर्च सीमा भित्रै रहेर निर्वाचन खर्च गर्ने बताएका छन्। वर्तमान जटिल राजनीतिक परिस्थितिमा धेरै पैसा खर्च गरेर मात्रै चुनाव जित्न नसकिने उनको धारणा छ।

लुम्बिनीमा ३३ लाखभन्दा बढी मतदाता

प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका अनुसार प्रदेशमा हाल ३३ लाख ८६ हजार ६८० मतदाता कायम छन्। यसमध्ये १७ लाख १५ हजार १६३ पुरुष, १६ लाख ७१ हजार ४७९ महिला र अन्य ३८ जना मतदाता रहेका छन्।

यस अघि २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता थिए।

पछिल्लो निर्वाचनपछि करिब १ लाख ३७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन्। निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १ हजार ६ सय ७१ मतदानस्थल र ३ हजार ९ सय ९८ मतदान केन्द्र तोकिएका छन्।

२०७९ को निर्वाचनमा भने १ हजार ६ सय ४९ मतदानस्थल र ३ हजार ८६१ मतदान केन्द्र स्थापना गरिएका थिए।