© 2026
बुटवल ।
बिहानको पहिलो किरणसँगै घण्टाघरको आवाज, मन्त्र पाठको गुञ्जन र अनुशासनमा बाँधिएको जीवनशैली– बुटवलका धार्मिक विद्यालयहरू आज केवल आस्थाका केन्द्र मात्र छैनन्, विपन्न वर्गका बालबालिकाका लागि शिक्षाको भरोसाको थलो पनि बन्दै गएका छन् ।
पछिल्लो समय बुटवलमा सञ्चालित धार्मिक विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।
शिक्षामा सबैको पहुँच भन्ने मूल नारालाई व्यवहारमा उतार्दै बुटवल उपमहानगरपालिकाले आर्थिक तथा भौतिक सहयोग बढाएपछि यहाँ रहेका तीन वटा धार्मिक विद्यालयमा अध्ययन–अध्यापन सहज बन्दै गएको हो ।
यसले सयौँ विपन्न, असहाय तथा जोखिममा परेका बालबालिकालाई शिक्षा, संस्कार र सुरक्षित आश्रय प्रदान गरेको छ ।
बुटवल उपमहानगरपालिका–१३, शिवनगरस्थित नीलकण्ठ बाबाधाम परिसरमा रहेको सन्तोषी माता गुरुकुल विद्याश्रम धार्मिक शिक्षाको एउटा सशक्त उदाहरण हो ।
२०६४ सालमा दाताहरूको सहयोग र मन्दिरको भेटीबाट सञ्चालन गर्ने उद्देश्यसहित स्थापना गरिएको यस गुरुकुलमा हाल ३८ जना विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ६ देखि १० सम्म पढाइ हुने गुरुकुलमा कक्षा ६ मा १२, कक्षा ७ मा ६, कक्षा ८ मा ५, कक्षा ९ मा १२ र कक्षा १० मा ५ जना विद्यार्थी छन् । गुरुकुलले विद्यार्थीलाई निःशुल्क शिक्षा मात्र होइन, खाने–बस्ने सम्पूर्ण व्यवस्था समेत मिलाएको छ ।
यहाँको दिनचर्या अत्यन्त अनुशासित छ । विद्यार्थीहरू बिहान ५ बजे उठ्छन्, सरसफाइपछि ५ः३० मा जप, ६ देखि ८ बजेसम्म रुद्राभिषेक, ८ः३० मा आरती, ९ः१५ देखि ९ः४५ सम्म भोजन, १० बजेदेखि ४ बजेसम्म औपचारिक पढाइ हुन्छ ।
साँझ खेलकुद, सन्ध्या बन्धन, पाठ–आरती र अध्ययनपछि राति १० बजे विश्राम गर्ने तालिका छ । गुरुकुलकी प्राचार्य निरा पोख्रेल भन्छिन्, “यो दिनचर्याले विद्यार्थीहरूलाई अनुशासित, लगनशील र आत्मनिर्भर बनाउँछ । यहाँ धार्मिक ग्रन्थसँगै नेपाली, अङ्ग्रेजी, गणितजस्ता विषय पनि पढाइ हुन्छ ।”
गुरुकुलमा ५ जना शिक्षक–शिक्षिकाले शुक्ल यजुर्वेद, संस्कृत भाषा, कर्मकाण्ड, संस्कृत व्याकरण, नेपाली, अङ्ग्रेजी र गणित विषय पढाउँदै आएका छन् ।
गत वर्ष एसइईमा सहभागी ६ जना मध्ये ४ जनाले राम्रो अङ्कसहित उत्तीर्ण गरेको गुरुकुलले यस वर्ष ५ जना विद्यार्थीलाई एसइई परीक्षामा सहभागी गराउँदै छ ।
“धार्मिक शिक्षासँगै आधुनिक विषय समेट्दा विद्यार्थीहरू आत्मविश्वासी बन्दै गएका छन् र समाजमा सकारात्मक भूमिका खेल्न सक्ने क्षमता विकास हुँदै गएको छ,” प्राचार्य पोख्रेलले थपिन् ।
बुटवल उपमहानगरपालिकाबाट वार्षिक १० लाख, केन्द्र सरकारबाट १५ लाख गरी कुल २५ लाख रुपैयाँ अनुदान प्राप्त हुँदै आएको छ । यद्यपि, पूर्वाधार अभाव, शिक्षक दरबन्दी नहुनु र अपूर्ण बजेटका कारण सोचेजस्तो व्यवस्थापन गर्न कठिनाइ भइरहेको प्राचार्य पोख्रेलको गुनासो छ ।
“बजेट पर्याप्त हुने हो भने यो विद्यालयलाई अझै पूर्वाधार सम्पन्न गराएर थप गुणस्तरीय धार्मिक शिक्षा प्रदान गर्न सकिन्थ्यो”–प्राचार्य पोख्रेल भन्छिन् । यहाँ २०४४ साल असार २ गतेदेखि सन्तोषीमाता गुरुकूल विद्याश्रमको विधिवत् सञ्चालन हुँदै आएको हो ।
यस विद्यालयमा देशका विभिन्न जिल्लाबाट बटुकहरू आएर पूर्ण रूपमा आवासीय सुविधासहित निःशुल्क अध्ययन गरिरहेका छन् । यस क्षेत्रको एक मात्र गुरुकुल बुटवल उपमहानगरपालिकाको गहनाको रूपमा रहेको स्थानीयको भनाइ छ ।
मदरसा शिक्षा: आस्थासँगै आधुनिक ज्ञान
धार्मिक शिक्षाको अर्को रूप मदरसा शिक्षा पनि बुटवलमा विस्तार हुँदै गएको छ ।
बुटवल उपमहानगरपालिका–२ मा रहेको मस्जिदमा सञ्चालित मदरसामा नेपाल र भारतका गरी २० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि ३ सम्मको पढाइ हुने मदरसामा सबै कक्षा एउटै कोठामा राखेर अध्यापन गरिन्छ ।
बुटवल उपमहानगरपालिकाले मदरसामा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई दैनिक खाजा खर्च, कापी–किताब र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । मदरसाकी प्राचार्य कल्पना पोख्रेल भन्छिन्, “विपन्न परिवारका बालबालिकालाई शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले निरन्तर सहयोग गरिरहेको छ ।
बिहान–बेलुका उर्दू भाषा र दिउँसो नेपाली, अङ्ग्रेजी, गणित, सेरोफेरो पढाइ हुन्छ ।” यदि निरन्तर सहयोग र अभिभावकको साथ मिल्यो भने मदरसामा अध्ययन गर्ने बालबालिकालाई पनि औपचारिक शिक्षाको मूलधारमा ल्याउन सकिने उनको भनाइ छ ।
तर, चेतनाको कमी र पारिवारिक समस्याका कारण कतिपय विद्यार्थी दुई–तीन महिना पढेर विद्यालय छाड्ने समस्या पनि देखिन्छ । “विद्यार्थीलाई टिकाइराख्नु नै यहाँको लागि ठुलो चुनौती मानिन्छ, कतिपय पारिवारिक समस्याका कारण पनि विद्यालय छाडेका उदाहरण छन्”–उनको भनाइ छ ।
धार्मिक प्रकृतिको परम्परागत शिक्षालय मदरसालाई मुस्लिम समुदायको शैक्षिक अवस्थासँग मात्र जोडेर हेर्ने गरिन्छ । तर यो खासमा मुस्लिम सभ्यतासँग जोडिन्छ ।
मुस्लिम सभ्यताको विकास हुने हरेक क्षेत्रमा मस्जिद र मदरसा सँगसँगै जोडिएर आउँछन् । मुस्लिम समुदायको १०–२० घरपरिवार भएको ठाउँमा पनि एउटा मस्जिद हुन्छ र त्यही मस्जिदभित्र बालबालिका पढाउन कक्षा चलाइएको हुन्छ ।
त्यही नै मदरसा हो । यसका आकार फरक फरक हुन्छन् । पछिल्लो समय मदरसा शिक्षा प्रभावकारी छैन, यसले काम गर्न सक्दैन भन्ने धारणा शिक्षा क्षेत्र र नागरिक तहमा विकास भएको पाइन्छ । तर यथार्थ फरक छ ।
नेपालमा मुस्लिम समुदायको शैक्षिक स्तर उकास्न मदरसाको ठुलो योगदान छ । मदरसाको समयानुकूल परिवर्तनमा ध्यान नदिँदा यसको सुधार हुन नसकेको चाहिँ साँचो हो ।
निजी र सामुदायिक विद्यालयमा तीव्र गतिमा सुधारका प्रयास भए पनि मदरसामा सुधार हुन सकेन । यसका दुई कारण छन् । पहिलो, मदरसा सञ्चालन गर्दै आएका मुस्लिम समुदाय आफैँ सुधारका लागि तयार भएनन् । दोस्रो, नेपाल सरकारको नीति ।
बुटवल–५ मा रहेको मदिना प्राथमिक विद्यालयमा कक्षा ३ सम्म अध्यापन हुन्छ । ३५ जना भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बिहान र बेलुका दुवै समय पढाइ हुन्छ ।
बुटवल उपमहानगरपालिकाले वार्षिक २ लाख ४२ हजार रुपैयाँ सहयोग गर्दै आएको विद्यालयका अध्यक्ष सकुर मियाँ बताउँछन् । धार्मिक शिक्षासँगै आधारभूत औपचारिक शिक्षा दिइने विद्यालयमा २ जना शिक्षक र एक जना कार्यालय सहयोगीमार्फत विद्यालय सञ्चालन हुँदै आएको छ ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थी धार्मिक विद्यालयप्रति बढ्दो आकर्षणलाई सकारात्मक रूपमा हेर्छन् ।
उनका अनुसार, “धार्मिक विद्यालयहरू आस्थाका केन्द्र मात्र होइनन्, विपन्न र सीमान्तकृत बालबालिकाका लागि शिक्षाको ढोका पनि हुन् । संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकार सबैमा पु-याउन उपमहानगरपालिका प्रतिबद्ध छ ।
धार्मिक विद्यालयहरूलाई पनि न्यूनतम मापदण्डभित्र राख्दै व्यवस्थापकीय, भौतिक र शैक्षिक सुधारमा सहयोग गर्दै आएका छौँ ।” उनले आगामी दिनमा धार्मिक विद्यालयहरूको पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि र अनुगमनलाई अझ व्यवस्थित बनाइने बताए ।
बुटवलका धार्मिक विद्यालयहरूले आस्था, संस्कार र आधुनिक शिक्षालाई एउटै धागोमा गाँस्ने प्रयास गरिरहेका छन् । स्थानीय सरकारको सहयोग, समुदायको सहभागिता र दाताहरूको सद्भावले यी विद्यालयहरू विपन्न बालबालिकाका लागि उज्यालो भविष्यको बाटो बन्दै गएका छन् ।
अब आवश्यकता छ– दीर्घकालीन नीति, पर्याप्त बजेट र संरचनागत सुधारको, ताकि धार्मिक शिक्षाले पनि गुणस्तरीय र समावेशी शिक्षाको लक्ष्य पूरा गर्न सकोस् ।