© 2026
तिलोत्तमा ।
प्राचीन कालमा गुरुकुलीय शिक्षा प्रणाली थियो । यस प्रणालीमा राज्यको हस्तक्षेप हुँदैनथ्यो ।
यी गुरुकुल र आश्रमहरू गुरुहरूको निजी प्रयासबाट सञ्चालित हुन्थे । राजाहरू कहिलेकाहीँ आश्रममा गएर भेटघाट गरे पनि राज्यले शिक्षा, शिक्षक, पाठ्यक्रम जस्ता कुरामा हस्तक्षेप गर्दैनथ्यो ।
आश्रमहरू पनि राजधानी र अन्य सहरभन्दा धेरै टाढा सञ्चालित गरिएका हुन्थे । बाँझो जग्गाहरू चरनका लागि र हरिण आदि जनावर छोडिएका बगैँचा र रुख भएको जङ्गललाई वेद अध्ययन गर्न, गराउन र सोमयागका लागि छुट्ट्याउने गरिन्थ्यो । वेदाध्ययन हुने वनलाई ब्रह्मारण्य र तपस्वीहरू बस्ने बनाई तपोवन नामकरण गरिन्थ्यो ।
गुरुकुलमा सोमयाग हुने गर्थे । त्यस बेला गुरुकुलहरूमा यज्ञ र हवन एक नियमित प्रक्रिया रहेको थियो । शिष्यको दैनिकीमा अग्निहोत्र एक प्रमुख कार्य थियो ।
गुरुकुलका अध्यापकहरूलाई आचार्य भनिन्थ्यो । आचार्यको अर्थ हो आफ्नो विषयमा विशिष्टता प्राप्त शिक्षक । वर्तमानमा यसलाई विद्यावारिधि गरेका शिक्षकसँग तुलना गर्न सकिन्छ । शास्त्र अध्ययनको अर्को विशिष्ट व्यक्तिलाई कौटिलीय अर्थशास्त्रमा पुरोधा भनिएको छ ।
यो एक विशिष्ट राजकीय अधिकारी हो । जसको कार्य हो राजाका लागि धार्मिक कार्य सञ्चालन गर्ने र राजालाई समय समयमा ज्योतिष विषयक सुझाव दिनु । यसका अतिरिक्त कौटिलीय अर्थशास्त्रमा एक अन्य शब्दको प्रयोग गरिएको छ – वृद्ध ।
संस्कृतमा वृद्धको अर्थ हुन्छ– अनुभवी, वरिष्ठ, बुद्धिमान, नैतिक, चरिवान् र धार्मिक व्यक्ति । तर कौटिल्यले यस शब्दको प्रयोग एक विशिष्ट अर्थमा गरेका छन् । उनले गुरुकुलका योग्य वरिष्ठतम शिक्षक अथवा गुरुकुल सञ्चालक कुलपतिलाई सङ्केत गरेका छन् ।
राजाले विद्याका लागि वृद्धको सङ्गत गर्नु पर्छ भन्ने उनको सुझाव छ । योग्य र शिक्षित बनाउन शिक्षकले कसैलाई बढी परिश्रम र कसैलाई कम परिश्रम गर्नुपर्छ भन्ने कुरातर्फ सङ्केत गर्दै भनेका छन्– विद्यार्थीमा योग्यताको विकास दुई प्रकारको हुन्छ– १. स्वाभाविक र २. निर्मित । कोही बालक वंशाणुगत कारणले तीक्ष्ण हुन्छ भने अन्यलाई परिश्रमपूर्वक योग्य बनाउनु पर्छ ।
तर शिक्षकले सबैलाई योग्य बनाउन नसक्नेतर्फ सङ्केत गर्दै उनले भनेका छन्– जति नै प्रयास गरे पनि द्रव्यलाई मात्र योग्य बनाउन सकिन्छ, अद्रव्यलाई जतिसुकै परिश्रम गरे पनि योग्य बनाउन सकिँदैन ।
सामान्यतया गुरुकुलीय शिक्षा निःशुल्क हुने गर्थ्यो तर विद्याध्ययन समाप्त गरेपछि शिष्यहरूले गुरुको सम्मानमा गुरु दक्षिणा दिने प्रचलन थियो । तैत्तिरीय उपनिषादमा प्रयुक्त दीक्षान्त वाक्यमा गुरु दक्षिणाको कामना गरिएको छ ।
गुरुकुलका वरिष्ठ शिक्षकहरूबाट शिक्षित प्रशिक्षित राजाले मात्र असल शासन गर्न सक्छ भन्दै कौटिल्यले भनेका छन्– जुन राजा आफू सुशिक्षित हुन्छ, उसले नै प्रजालाई पनि शिक्षित गराउन सक्छ । यसरी प्रजाको हितमा निरन्तर लागेर शत्रुरहित भएर उसले यस पृथ्वीको आनन्दले भोग गर्छ ।
यज्ञोपवीत संस्कार गरेपछि बालकको दीक्षारम्भ हुन्थ्यो । गुरुले यज्ञोपवीत प्रदान गरेपछि बालक गुरुकुलका लागि योग्य मानिन्थ्यो ।
विद्यार्थीलाई ब्रह्मचारी तथा अध्ययनको अवधिभरिलाई ब्रह्मचर्याश्रम भनिन्थ्यो । कौटिल्यले ब्रह्मचारीका कर्तव्य यस प्रकार उल्लेख गरेका छन्– स्वाध्याय, हवन, नित्य स्नान, भिक्षा वृत्ति गरेर गुरुबाट निरन्तर शिक्षा ग्रहण गरिरहनु पर्छ ।
गुरुको अनुपस्थितिमा गुरूपुत्र अथवा गुरुभाईसँग अब्रह्मचर्य आश्रम पर्यन्त अध्ययन गरिरहनु पर्छ । अब्रह्मचर्य आश्रमको अधिकतम उमेर २५ वर्ष निर्धारण गरिएको छ । यद्यपि अध्ययन पूरा नभएमा विद्यार्थीले त्यहाँ रहेर त्यसपछि पनि अध्ययन गरेका उल्लेखहरू पाइन्छन् ।
गुरुकुल छात्रावास रहेर अध्ययन गरिरहेको विद्यार्थीलाई सामान्यतया अन्ते वासी भन्ने गरिन्थ्यो । (तैत्तिरीय उपनिषद्,२०१०, शिक्षा वल्ली)
कौटिल्यले शिक्षार्थीका दृष्टिले बालकहरूको वर्गीकरण गर्दै भनेका छन्, बालक तीन प्रकारका हुन सक्छन्–

बुद्धिमान त्यो हो जसले उचित अनुचित स्वाभाविक रूपमा छुट्ट्याउँछ र उचित आचरण गरेर निरन्तर सफलता प्राप्त गर्छ ।
आहार्य बुद्धि भनेको यस्तो बालक हो जसले उचित र अनुचित आचरण के हो, त्यो जानेको हुन्छ तर उचित आचरणलाई ठिक समयमा पालन गर्न जान्दैन र यस कारण सफलतामा बारम्बार बाधा उपस्थित भइरहेको हुन्छ ।
बालकको तेस्रो श्रेणीलाई उनले दुर्बुद्धि भनेका छन् । दुर्बद्धि भनेको यस्तो बालक हो जसले उचितलाई अनुचित र अनुचितलाई उचित बुझेर उल्टो आचरण गर्छ । यसको फलस्वरूप त्यसमाथि सधैं विपत्ति आइरहन्छ ।
तीक्ष्ण मेधा भएको विद्यार्थीलाई प्रज्ञा गुणयुक्त बताइएको छ । यस गुणले विद्यार्थीको बुद्धिको निरन्तर विकास गर्छ र उ अध्ययन कार्यमा उत्कृष्ट भइरहेको हुन्छ । बुद्धिमान विद्यार्थीका यी विशेष गुण यस प्रकार बताइएको छ– अनुशासन, ध्यान दिएर सुन्नु, सुनेको ग्रहण गर्नु, ग्रहण गरेको कुरा मनमा लिनु, मनमा त्यस ज्ञानमाथि वैज्ञानिक तर्क वितर्क गर्नु र एकाग्रताले मात्र विद्या र सीपको विकास हुन्छ, अन्य कुनै उपाय छैन ।
शुश्रूषा श्रवण ग्रहण धारण विज्ञानोहापोह तत्त्वाभिनिविष्टबुद्धिं विद्या विनयति नेतरम् ।
त्यस बेलाको प्रमुख शिक्षण विधि भनेको श्रवण हो । ध्यानपूर्वक जसले सुन्न सक्थ्यो निश्चित रूपमा ऊ पढाइमा अरूभन्दा तीक्ष्ण हुन्थ्यो र छिटो आफ्नो अध्ययन पूरा गर्थ्यो । वास्तवमा नयाँ ज्ञान प्राप्त गर्नु भनेको सुन्नु हो । बोल्नेले त पुरानो ज्ञान दोहो¥याउने मात्र हो ।
कौटिल्यले आन्वीक्षिकी, त्रयी, वार्ता, दण्डनीति तथा अनेक प्रयोगात्मक शिक्षाको मूल उद्देश्य बताएका छन्– इन्द्रिय संयम । कौटिल्यका अनुसार इन्द्रिय विजयी हुनु नै शिक्षाको मूल उद्देश्य हो ।
यसका लागि छवटा आन्तरिक शत्रुमाथि नियन्त्रण गर्न सक्नुपर्छ– काम, क्रोध, लोभ, मान, मद र उपहास । यदि राज्य सञ्चालक इन्द्रिय संयमी हुनुको साटो इन्द्रियका वशमा हुन गयो भने सम्पूर्ण पृथ्वीको मालिक भए पनि छिटै नष्ट हुन जानेछ ।
यसका लागि कौटिल्यले केही ऐतिहासिक प्रमाण दिँदै भनेका छन्– दाण्डक्य कामको वशमा भएर ब्राह्मण कन्या अपहरण गर्नाले, जनमेजयले ब्राह्मणमाथि कोप गर्नाले, लोभको वशमा परी पुुरुरवाले अत्यधिक करारोपण गर्नाले, अभिमानले गर्दा रावणले र उपहास गर्ने हुँदा वातापि नाश भएर गए । यस्ता अन्य ऐतिहासिक उदाहरण समेत त्यहाँ प्रस्तुत गरिएको छ ।
तर जितेन्द्रीय हुनाले अम्बरीश आदिले पृथ्वीको अनन्त कालसम्म भोग गरे । यसरी विद्या आर्जनलाई प्राचीनकालमा ठुलो महत्त्व दिएको देखिन्छ । समाजको विकासका लागि शिक्षा अनिवार्य हुन्छ ।
राज्य प्रमुखको कर्तव्य के हो भने शिक्षाको प्रचार प्रसार गरेर प्रजालाई प्रगतिशील, इन्द्रिय संयमी, जिव्हा नियन्त्रक, विनम्र व्यवहार गर्ने बनाउने कार्यमा चिन्तनशील रहनु पर्दछ भनिएको छ ।

अध्ययन कार्य समाप्त भएपछि विद्यार्थीको अब्रह्मचर्य आश्रम समाप्त भएको मानिन्थ्यो ।
अध्ययनको समाप्तिमा कुनै विशेष परीक्षा सञ्चालन गरिन्थ्यो कि गरिँदैनथ्यो यसबारेमा कौटिलीय अर्थशास्त्र तथा शुक्र नीतिमा उल्लेख पाइँदैन । तर उपनिषदहरूमा निरन्तर प्रश्नोत्तर गर्दै शिष्यले दिएका उत्तरले गुरु सन्तुष्ट भएपछि शिष्यको अध्ययन पूरा भएको बताइएको छ ।
छान्दोग्यमा गौतम ऋषिले सत्य काम जबालालाई ज्ञान दिएर अध्ययन पूरा भएको उल्लेख पाइन्छ । अध्ययन पूरा भएपछि शिष्यहरूलाई समावर्तन संस्कार गरेर गृहस्थ आश्रममा प्रवेश गर्ने सुझावहरू दिइन्थ्यो ।
सत्य बोल, धर्म अनुसार आचरण गर । स्वाध्याय गर्ने गर । आचार्यले चाहेको धन ल्याउनु । सन्तान परम्परालाई नछोड्नु ।
सत्य कुरामा प्रमाद नगर्नु । धर्ममा प्रमाद नगर्नु । सिप सिक्न अल्छी नगर्नु । सुमार्गबाट धन कमाउन लापरबाही नगर्नु । स्वअध्ययन र प्रवचन बेवास्ता नगर्नु । असल आचरणको मात्र उपासना (प्रशंसा र अनुसरण) गर्नु । अर्थात् असल आचरण नगर्नेहरूको प्रशंसा र अनुकरण नगर्नु ।
यदि तिमीलाई कर्म र आचरणको सम्बन्धमा कुनै प्रकारको सन्देह हुन्छ भने विचारशील, परामर्श कुशल, आचरण निष्ठ, निर्मल बुद्धि, धर्माभिलाषी ज्ञानीसँग सल्लाह लिनुपर्छ ।
उनले जुन व्यवहारको निर्देश गर्छन् त्यो व्यवहार गर्नुपर्छ यही गुरुकुलको अन्तिम आदेश र उपदेश हो । यसपछि गुरुसँग भेटघाट गरेर अनौपचारिक शिक्षा लिन सकिन्थ्यो तर गुरुकुलमा बसेर अध्ययन गर्ने समय, ब्रह्मचार्य आश्रम समाप्त भएको मानिन्थ्यो ।
रुपन्देहीमा गुरुकुलीय पद्धतिबारे कुनै अनुसन्धान प्रकाशित भएको लेखकको जानकारीमा छैन । तिलोत्तमामा तीन, बुटवलमा एक र सिद्धार्थनगर तथा दुर्गानगरमा एक गरी पाँच वटा गुरुकुलीय पद्धतिबाट शिक्षा दिइने संस्थाहरूबारे जानकारी पाइन्छ ।
यी संस्थाहरूले गुरुकुलीय पद्धतिका आधारमा शिक्षा दिने गरेको भए पनि नयराज पन्त गुरुले झैँ पूर्ण गुरुकुलीय प्रचलन अहिले देख्न पाइँदैन । नयराज पन्त गुरुले शिक्षण दिने र शिक्षा पूरा भएपछि दीक्षान्त गरेर घर पठाउने तर कुनै प्रमाण पत्र भने नदिने प्रचलन सुरु गरेका थिए ।
जुन पन्तको निधनसँगै समाप्त भयो । यसका अतिरिक्त गुरुकुलीय शिक्षण पद्धतिको मौलिकता जोगाउँदै त्यसमा आधुनिक शिक्षण पद्धतिको प्रयोग गरेर शिक्षणलाई आकर्षक र प्रभावकारी बनाउनेतर्फ भने कुनै पनि नवप्रवर्तन हुन सकेको छैन ।
स्वयं नेपाल संस्कृत विश्वविद्यालयले पनि नव प्रवर्तनात्मक शिक्षण पद्धतितर्फ कुनै विशेष कार्य गरेको थाहा छैन । त्रि.वि.ले यस तर्फ सोचेको पनि छैन । रुपन्देहीमा गुरुकुलीय शिक्षण पद्धतिबारे अनुसन्धान गर्ने प्रशस्त सम्भावनाहरू छन् ।