दाङ ।
हिउँदे वर्षा भएपछि दाङका किसानहरू खुसी भएका छन् ।
लामो समयदेखि वर्षा नहुँदा सुक्दै गएको गहुँ, तोरी र मुसुरो र दलहन बालीलाई पानी परेपछि राम्रो भएको छ । घोराही उपमहानगरपालिका -६ का किसान सरिता चौधरीले केराउ, चना र तोरीबाली लाई हिउँदे वर्षाले राम्रो गरेको बताइन् ।
पानी नपरेकाले बालीनाली सुक्न थालेका थिए अहिले नयाँ जीवन मिलेको चौधरी बताउँछिन् । हिउँदे वर्षाले माटोमा चिस्यान बढाउनुका साथै उत्पादन राम्रो हुने आशा गरेको उनले बताइन् ।
हिउँदे वर्षा हुँदैन कि भन्ने चिन्ता परेको थियो समयमै परेको हिउँदे वर्षाले सिँचाइको समस्या कम गर्नुका साथै लागत पनि घटाएको उनको भनाइ छ ।
घोराही -९ का राजकुमारी चौधरीले खेतबारीमा छरेको खेतीपाती सुक्न थालेको र हिउँदे वर्षा भएपछि खुसी भएको बताइन् । लामो समयदेखि वर्षा नहुँदा असर परेका तोरी, गहुँ, बर्सिम घाँस लाई धेरै राम्रो गरेको उनले बताइन् । तोरी र केराउलाई सिचाइ दिने समय भएको थियो वर्षाले सजिलो बनाएको उनले बताइन् ।
हिउँदे वर्षाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका अर्थ विज्ञ पृथ्वीराज लामिछानेको भनाइ छ। हिउँदे वर्षाले हिउँदे खेतीपातीलाई धेरै फाइदा हुने उनको भनाइ छ। मौसमले साथ दिएमा यस वर्ष अन्नबालीको उत्पादन बढ्ने आशा गरिएको छ ।