© 2026
म्याग्दी, १४ माघ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधवार हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए ।
समुन्द्री सतहदेखि दुई हजार सात सय मिटर उचाइमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरू घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडा बाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् ।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटेल व्यवसायी मिना पुनले हिमपात सुरुभएपछि चहलपहल घटेको बताइन । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।
यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । वर्षाका कारण हिउँदे बालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाइको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भूपेन्द्र शर्माले बताए ।
सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्त्व पाउने र खेती बाली सप्रिने उनले बताएका छन् । गहुँ, जौ, केराउ, सुन्तला जात फलफूलका लागि वर्षाले सहयोग गरेको छ । रासस