Butwal Today

रुपन्देही–२: नयाँ अनुहारसँग अनुभवी नेतृत्वको परीक्षा

१४ माघ २०८२, बुधबार
अ+
अ-

बुटवल ।

प्रमुख दलका शीर्ष नेतादेखि नयाँ अनुहारबिचको प्रतिस्पर्धाले रुपन्देही क्षेत्र नम्बर २ यति बेला सर्वाधिक चासो र चर्चाको केन्द्र बनेको छ ।

विकासवादी नेताको छवि बनाएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यही क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । यसैले पनि यो क्षेत्रलाई धेरैले चासोका साथ हेरिरहेका छन् । पौडेल २०५६ सालदेखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् ।

पहिलो आम निर्वाचनमा काँग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए पनि त्यसयताका निर्वाचनमा उनले लगातार जित हासिल गरिरहेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई यस पटक भने चुनाव जित्न फलामका चिउरा चपाए जस्तै कठिन रहेको विश्लेषण गरिएको छ ।

यस क्षेत्रबाट नेपाली काँग्रेसले मुलुकमै सफल उद्योगी कहलिएका र राजनीतिलाई सँगसँगै अघि बढाएका चुन्नप्रसाद शर्मा (पौडेल) लाई उम्मेदवार बनाएको छ । उनी बुटवलमा मात्रै होइन, मुलुकभर नै सफल उद्योगीका रूपमा चिनिन्छन् ।

काँग्रेसको बलियो सङ्गठन, उद्योगी–व्यवसायीबिच राम्रो सम्बन्ध र रोजगारी सिर्जनामा योगदान दिएकाले पनि चुन्न बलिया दाबेदार हुन् ।
रास्वपाले अधिवक्ता समेत रहेका युवा सुलभ खरेललाई उम्मेदवार बनाएको छ । युवाहरू माझ लोकप्रिय उनी प्रस्ट वक्ताका रूपमा चिनिन्छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुभाष पाण्डे (विश्वदीप) लाई उम्मेदवार बनाएको छ ।

लामो समयदेखि बुटवलका मतदातासँग भिजेका उनी पनि युवाहरूमाझ राम्रो प्रभाव राख्छन् । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका चिकित्सक कमल भुसाल (निकोलस) समेत यही क्षेत्रबाट चुनावमा होमिएका छन् । आफूलाई अभियन्ता बताउने उनी पनि युवाहरूमाझ बलियो पकड भएका युवा हुन् ।

बुटवल आर्थिक विकासले महत्त्वपूर्ण मानिन्छ । यहाँका मतदाता हरेक क्षेत्रमा जागरूक छन् । विष्णु पौडेलले आफूले रुपन्देहीमा गरेको विकासलाई मुख्य एजेन्डा बनाएका छन् । लगातार जित निकाल्दै आएकाले पनि उनी तुलनात्मक रूपमा अन्य उम्मेदवार भन्दा बलिया देखिन्छन् ।

तर, बदलिँदो परिस्थितिले उनलाई रक्षात्मक बनाएको छ । रुपन्देही छाडेर पाल्पा–२ बाट उम्मेदवार बन्ने तयारी गरेका उनी क्षेत्रका पार्टीका नेताकार्यकर्ताहरूको दबाबपछि यहीँबाट उम्मेदवार बनेका हुन् ।

पौडेलले २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेललाई हराएका थिए । त्यस बेला रास्वपाका गणेशले २५ हजार ७८१ मत पाएका थिए भने विष्णुले २७ हजार १४७ मत प्राप्त गरेका थिए ।

लगातार जित्दै आएको क्षेत्रमा करिब १३ सय मत मात्रै अन्तर पर्नु विष्णु पौडेलका लागि निराशाजनक भएको भन्दै त्यस बेला एमालेमा खैलाबैला नै भएको थियो ।

युवा र बुटवलमा राम्रो पकड भएका उम्मेदवारका कारण यस पटक विष्णु केही रक्षात्मक देखिन्छन् । तर, चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘रुपन्देहीको विकासमा मैले के गरेँ भन्ने छर्लङ्ग छ’, उनले भने, ‘चुनावमा प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि परिणाम हाम्रै पक्षमा आउँछ ।’ उनले रुपन्देहीमा विकास निर्माणका अधुरा योजना पूरा गर्ने बाचा गरेका छन् ।

विगतका वर्षहरूमा रुपन्देहीमा भएका ठुला पूर्वाधार विकासका योजना विष्णु पौडेलको राजनीतिक परिचयसँग जोडिएर आएका छन् । सिद्धार्थ राजमार्गको स्तरोन्नती, बुटवल–नारायणगढ सडकखण्ड, औद्योगिक क्षेत्र विस्तार, विद्युत् आपूर्ति सुधार, सडक, पुल र सहरी पूर्वाधार निर्माणमा उनले खेलेको भूमिकालाई यहाँका धेरै मतदाताले प्रत्यक्ष अनुभव गरेका छन् ।

पूर्वअर्थमन्त्रीका रूपमा उनले ल्याएका बजेट, योजना र केन्द्र–प्रदेश समन्वयका कारण रूपन्देहीले पाएको प्राथमिकताले उनलाई अझै पनि अनुभवी र प्रभावशाली नेताका रूपमा स्थापित गरेको छ ।

विशेषगरी बुटवलको आर्थिक गतिविधि विस्तार, औद्योगिक करिडोरको अवधारणा र रोजगारी सिर्जनामा गरिएको लगानीलाई उनका समर्थकले ‘देखिने विकास’ का रूपमा व्याख्या गर्छन् । सहरी मतदातामाझ विकासको निरन्तरताको चाहना बलियो भएकाले यही पक्ष अन्ततः विष्णु पौडेलका लागि निर्णायक बन्न सक्ने कतिपयको ठम्याइ छ ।

युवामैत्री उम्मेदवारको चुनौती, वैकल्पिक शक्तिको उदय र चौपक्षीय प्रतिस्पर्धाका बाबजुद, विकासमा आधारित अनुभवी नेतृत्वको छवि र सङ्गठनात्मक पकड विष्णु पौडेलका बलिया आधार बनेका छन् ।

काँग्रेसका चुन्नले परिवर्तित अवस्थालाई क्याच गर्ने पार्टी काँग्रेस भएको, बुटवललाई थप समृद्ध बनाउन, रोजगारी सिर्जना गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् । ‘विकसित बुटवल हाम्रो एजेन्डा हो’, उनले भने, ‘यहाँ सुकुम्वासी समस्या समाधान गर्नु छ, समानुपातिक विकास र युवालाई उद्यमसँग जोड्नु छ । यसका लागि मैले काम गर्छु ।’

सुलभ, पाण्डे र भुसाल भने युवाहरूमा आएको जनलहरलाई आफूहरूले क्याच गर्ने योजनामा देखिन्छन् । चुनावी अड्कलबाजी जे जस्तो भए पनि रुपन्देही–२ मा यस पटक चौपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ । एमाले उपाध्यक्ष पौडेल, कांग्रेसबाट चुन्नु पौडेल, नेकपाका पाण्डे र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धी हुन् ।

बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता छन् ।

सहरी क्षेत्र भएकाले यहाँको मत परिवर्तन हुनसक्ने आङ्कलन गरिएको छ । अहिले चारै जना उम्मेदवारहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई तीव्र रूपमा अगाडि बढाएका छन् ।

निर्वाचन परिचालन कमिटी बनाएर उनीहरूले टोल टोलमा मतदाता भेटघाट र नागरिकको गुनासो सुन्ने कामलाई मुख्य प्राथमिकता दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?