Butwal Today

परीक्षाको मुखमा मेला

१४ माघ २०८२, बुधबार
अ+
अ-
पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकामा सञ्चालन हुन लागेको व्यापार मेलाको प्रचार–प्रसारले एसइई परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
माइकमार्फत गरिने चर्को आवाजका कारण घर र विद्यालय दुवै स्थानमा पढाइ गर्न कठिन भएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
देववाणी माध्यमिक विद्यालय तानसेनमा कक्षा १० मा अध्ययनरत कुशलता थापाले बेलुका घर फर्किएपछि गृहकार्य र पढाइ गर्न खोज्दा निरन्तर बज्ने माइकको आवाजले ध्यान केन्द्रित गर्न नसकिएको बताइन् ।
“एसइई नजिकिँदै छ, यही बेला पढाइ सबैभन्दामहत्त्वपूर्ण हुन्छ,” उनले भनिन्, “तर ध्वनि प्रदूषणले तयारीमा बाधा पुगेको छ ।” यस्तै, जनता माध्यमिक विद्यालयमा अध्ययनरत बिपना कार्कीले पनि विद्यालयबाट फर्किएपछि नास्ता गरेर पढ्न बस्दा ठुलो स्वरमा बज्ने माइकका कारण लेखपढमा कठिनाइ भएको बताइन् ।
उनका अनुसार परीक्षाको अन्तिम तयारीकै बेला यस्तो वातावरणले सयौँ विद्यार्थी प्रभावित भएका छन् । तानसेन नगरपालिकाले ठेक्का प्रक्रियामार्फत आयोजना गर्न लागेको व्यापार मेला माघ १६ गतेदेखि सुरु हुँदै छ ।
मेलाको प्रचार–प्रसारका लागि प्रयोग गरिएको चर्को आवाजका कारण कक्षा सञ्चालन भइरहेको समयमा समेत अध्ययन वातावरण बिग्रिएको देववाणी माविका एक विद्यार्थीले बताए । “कक्षा कोठामै पढाइ भइरहँदा माइकको आवाज आउँछ,” उनले भने, “यसले समय बर्बाद हुनुका साथै परीक्षा तयारीमा नकारात्मक असर परेको छ ।”
तानसेन नगरपालिकाले मूल्य अभिवृद्धि कर बाहेक ८५ लाख रूपैयाँमा मेलाको ठेक्का दिएको छ । तर, केही जनप्रतिनिधिको स्वार्थ अनुकूल बेमौसममा मेला आयोजना गरिएको र ठेक्का प्रक्रियामै विवाद रहेको आरोप उठेको छ ।
एक जनप्रतिनिधिका अनुसार स्थल व्यवस्थापनदेखि ठेक्कासम्म अनियमितता भएको आशङ्काले मेला थप विवादास्पद बनेको हो । पूर्व नगरप्रमुख अशोककुमार शाहीले विगतमा कालोसूचीमा प्रस्तावित शर्मा निर्माण कम्पनीले मेला हात पार्नु कानुनको उपहास भएको टिप्पणी गरे ।
“पहिले काम नगरेर बैङ्क ग्यारेन्टी जफत भएको कम्पनीलाई फेरि जिम्मा दिनु गलत हो,” उनले भने । यता, तानसेन नगरपालिकाको राजस्व शाखा प्रमुख विष्णु पौडेलले टेन्डर प्रक्रियामा त्रुटि भेटिए मेला ठेक्का रद्द हुन सक्ने बताए । उनले चर्को आवाजमा माइक बजाउन नहुने भन्दै आयोजकलाई सचेत गराइएको पनि जानकारी दिए ।
परीक्षाको मुखमा विद्यार्थी शान्त वातावरण खोजिरहेका बेला नगरपालिकाको कमजोरीका कारण ध्वनि प्रदूषण बढ्नु गम्भीर विषय भएको सरोकारवालाहरू बताउँछन् ।
एसइईजस्तो महत्त्वपूर्ण परीक्षाको तयारीमा असर पर्ने कुनै पनि गतिविधि रोक्न नगर सरकार गम्भीर बन्नुपर्ने माग स्थानीयवासी र अभिभावकको छ ।