Butwal Today

सुरु भयो बर्दघाट एक्सपो 

१४ माघ २०८२, बुधबार
अ+
अ-

बर्दघाट ।

उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा प्रथम बर्दघाट एक्सपो २०८२ मंगलबार देखि सुरु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ को हरियाली नगर स्थित बर्दघाट मण्डपमा एक्सपोको आयोजना गरिएको छ । मङ्गलवार देखी सुरु भएको एक्सपो माघ २५ गतेसम्म जारी रहने छ ।

एक्सपो को नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले उद्योग व्यापार नै देशको प्रमुख आर्थिक मेरुदण्ड भएका बताए ।

उद्योग कलकारखानाको तीव्र स्थापना र सञ्चालन हुन सके रोजगारी सिर्जना हुने र युवा पलायन रोक्दै देशलाई समृद्धितर्फ जाने बताए । देशमा थप उद्योग सञ्चालन आउनुको सट्टा भएका उद्योगहरु पनि सरकारी नीतिका कारण बन्द हुँदै जाने अवस्था आएकोले नीति नै परिमार्जन गरेर भए पनि उद्योग कलकारखाना बन्द हुने अवस्थाको अन्त्य हुनुपर्ने भण्डारीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक्सपो ले शिथिल अवस्थामा पुगेको व्यापार व्यवसायलाई सुदृढ हुन टेवा पुग्ने बताए । उनले एक्सपो ले कृषि, पर्यटन, लघु उद्यम, लगायतका क्षेत्रलाई पनि चलायमान बनाउने बताए ।

उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय, सी जी फाउन्डेसनकी मेरिना रञ्जित, रवीन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार मूल नाराका साथ सुरु भएको एक्सपो ले स्थानीय व्यवसायी, कृषक र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजक सँस्था उद्योग व्यापार सङ्घ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बताए ।

१२ दिनसम्म चल्ने एक्सपो करिब १ लाखले अवलोकन गर्ने र ७ करोड रुपैयाँको आर्थिक कारोबारको आङ्कलन गरिएको अध्यक्ष न्यौपानेले बताए ।

करिब २ सय ५० स्टल रहेको एक्सपो मा कृषि, लघु उद्यमी, महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादन सँगै विभिन्न जातजातिका संस्कृति झल्कने प्रदर्शनी, बाल उद्यान र साङ्गीतिक कार्यक्रम समेत रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले जानकारी दिए ।