© 2026
कसैले मौकामा चौका हान्नु पर्छ भन्छन् त कसैले मौकामा सही निर्णय गर्नुपर्छ समेत भन्छन् ।
जसरी भने पनि जे भने पनि कुरा उस्तै हो र उही हो । सही मौकामा सही काम गर्ने र सही निर्णय गरियो भने मौकाको चौका त्यही हो । पहिले मौका आएको ठिक समयमा थाह पाउनु पर्दछ । अनि बल्ल चौका हान्न पाइन्छ । चौका हान्नका लागि सही मौका थाहा नपाई हुँदैन । यसैले मौकाको निर्णय वा मौकामा चौका भनिएको हो । नेपालीमा मौकामा चौका हान्ने भन्ने वाक्यांश निकै प्रचलित छ ।
नेपालमा भाद्र २३ र २४ को आन्दोलनले नेपालीहरूलाई मात्र नभएर यो आन्दोलन बारे चासो राख्नेहरू सबैलाई केही पाठ सिकाएको छ । यसबाट दुई वटा कुरा अगाडि आएका छन् । एउटा सरकारले आफूले गरेका कार्य पहिले नै नागरिकले पूरै थाहा पाउने गरी सार्वजनिक गर्नुपर्दछ । दोस्रो आन्दोलन हाँक्ने निश्चित व्यक्ति हुनुपर्दछ अर्थात् नेतृत्व गर्ने उचित पात्र हुनुपर्दछ ।
यसैले नीति श्लोकमा भनिएको छ– “अन्यायका च नश्यन्ति, नश्यन्ति बहुनायक । बालनायका च नश्यन्ति, नश्यन्ति खल नायक ।।” अर्थात् नायक नभए पनि नष्ट हुन्छ । धेरै नायक भए पनि नष्ट हुन्छ । बाल नायक अर्थात् उचित निर्णय लिन नसक्ने उमेरले कच्चा नायक भए पनि नष्ट हुन्छ । खल अर्थात् बदमास नायक भयो भने पनि नष्ट हुन्छ ।
यसैले नेपालको जेन्जीको आन्दोलन कुनमा पर्दछ पाठकहरूले आफै ठम्याउनु हुनेछ । उचित पात्र विनाको आन्दोलन अराजकहरूको पकडमा जान्छ अनि अनियन्त्रित भएर जे पनि ध्वम्स गर्न सक्दछ । जसरी सिंहदरवार, सर्वोच्च अदालतदेखि लिएर विभिन्न नेताका घरहरू जलाएर उत्सव मनाएको सुनियो, देखियो । उता २४ गतेको विध्वम्सको सिमा नै रहेन ।
त्यसको लेखा नै राख्न गह्रो भयो । यता यसको जिम्मा लिने व्यक्ति वा समुह कुनै भएन । अहिलेसम्म पनि त्यस्तो विध्वम्स के का लागि भन्ने नै थाह पाउन नसकिएको अवस्था रह्यो ।
भाद्र २४ को आन्दोलनले नेपालको सम्पत्ति जलाएर एकातर्फ खरानीको थुप्रो लागायो भने अर्कोतर्फ जन निर्वाचित सरकार अपदस्त गरेर सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधिशको नेतृत्वमा नयाँ सरकार गठन भयो ।
सुशीला कार्की प्रधानमन्त्री भएको लगत्तै उहँको एकल निर्णयबाट संसद विघटन भयो । त्यसैसंग नयाँ निर्वाचन घोषणा भयो । अहिले संसदको निर्वाचनका लागि मिति समेत घोषणा भएर माघ ६ गतेका दिन नोमिनेशन समेत भएको अवस्था हो ।
यस पटकको निर्वाचन विगतका भन्दा केही फरक छ । फरक के मानेमा भने यो निर्वाचन न जननिर्वाचित सरकारले घोषणा गरेको हो न त यसले पूर्णकाल व्यतित गरेको छ । न यो मध्यावधि हो । जसरी घोषणा भएको भए पनि नेपाली नागरिकले यसलाई स्विकार गरेका छन् ।
सर्बसाधारण नागरिक मात्र होइन राजनीतिक दलहरूले यसलाई स्विकार गरेको छन् । किनकी समयमा निर्वाचन भएन भने प्राप्त लोकतान्त्रिक अधिकार खोसिन सक्छन् । केही मात्रामा अहिले पनि खोसिएको चर्चा भइरहेको छ ।
सिंहदरवार जलाउनेहरू नेपाली आवरणमा छन् र नेपालमा छन् भन्ने आम चर्चा आइरहेको छ साथमा यो सुनियोजित घटना हो भन्ने गरिन्छ । सुनियोजित घटनाले मुलुक खरानीमा परिणत भएको भन्ने गरिन्छ । मुलुक ध्वम्स पार्नेहरूलाई कडा कारवाही हुनु पर्छ भन्ने आवाज उठेको समयमा कत कताबाट गोली चलाउनेलाई पहिले कारवाही गर्नुपर्छ भन्ने जवाफ आउँछ ।
जान्नेहरू गोली नियमले चलायो कानूनले चलायो भनेर भन्छन् । उच्च पदस्थ प्रहरीहरूले यस्तो आवस्थामा कसैले आदेश दिनु पर्दैन नियम मै हुन्छ भनेर सुनाउने गर्नुहुन्छ । त्यतिवेलाको सरकारले ती गोलीहरू हाम्रा होइनन् भनिरहेको छ ।
जेन्जीको नाममा अनेत्र बाहिरकतैबाट संकेत आएर यो सबै भएको हो भन्ने गरिन्छ । सबै प्रकृति र प्रवृति नायक विहिन जत्थाको हातबाट नेपाल जलेको हुन सक्ने जस्तो लाग्दछ । केही मात्रामा छानविन आयोगले काम गरेर बुझाउने छ । गोली जसरी चले पनि नेपालीका छोरा छोरीको ज्यान गएको छ । अव यसको क्षतिपूर्ति केही मात्रामा निर्वाचनले गर्ने छ ।
अव बाँकी दिनहरूमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने होइन । त्यो भन्ने दिन र समय गयो । अव निर्वाचन जसरी पनि हुनुपर्दछ भन्ने नै हो । अव हुने निर्वाचन निश्पक्ष धाँधलि रहित हुने कुरामा जोड दिनुपर्दछ । यस पटकको निर्वाचन यस्तो होस वास्तवमा सिंहदरवार जलाउनेदेखि लिएर हाम्रा अन्य भौतिक संरचना जलाउने र तोडफोड गर्नेसम्मका अपराधिहरूलाई दण्ड दिन सकोस । यस पटकको निर्वाचनमा केही उमेदवारहरू नेपाली भाषा बोलेर र नेपाली भेषमा उठेका हुनसक्छन् ।
भोली कुनै किसिमले उनीहरूले विजय हासिल गरे भने सिंगो मुलुकको अवस्था कस्तो होला ? भाद्र २४ गतेका दिन पनि नेपालको रष्ट्रिय झण्डा ओढेर सिंहदरवार जलाउन गएका तमाम तस्विरहरू देख्न पाइन्छ । कस्तो नेपाली हो नेपालमा बस्ने, नेपाली भाषा बोल्ने अनि नेपाली झण्डा ओडेर देश जलाउन हिंडने ? यस्तै भेष बदलेर फागुन २१ को निर्वाचनका उमेदवार कुनै छैनन् कसरी ठोकुवा गरेर भन्न सकिन्छ ।
नेपालीहरू सदियौंंदेखि विश्वमा स्वाभिमानी भनेर चिनन्छन् । यस्ता नेपालीहरूले आफ्नै हातले यस्ता विध्वंश मच्चाउने कुकर्मीहरूलाई विना विश्लेषण कसरी मत दिन उद्यत रहन्छन् । कुरा त्यसो होइन नेपाललाई खरानी बनाउन इशारा गर्ने र आफ्नै हातले आगो लगाउनेहरूलाई समयमा पहिचान गर्नु पर्दछ । उनीहरूलाई यसै समयमा आफै दण्ड दिनु पर्दछ ।
यस पटकको निर्वाचनको सार्थकता यही हुनेछ । फागनु २१ गते सम्पन्न हुने निर्वाचनमा यदि नेपाली नागरिकले लहै लहैमा लागेर गम्भिर नबनिकन मुलुक बचाउने र विगार्ने खुट्याउन नसकेर मत खेर फालियो भने त्यो मतको दुरूपयोग हुने छ त्यही मतले फेरी मुलुक जलाउन सघाउने छ । त्यतिवेला पछुताउनु भन्दा समय छँदै सार्थक निश्कर्ष निकालेर आफ्नो मतको सही सदुपयोग गर्नु पर्दछ । यही हो मौकामा चौका हान्ने भनेको । समयमा ठिक निर्णयलिने भनेको यही हो ।
हामीले पुराना र नायाँको चर्चा गरेको प्रसस्तमात्रामा सुनेका छौं । कतिलाई पुरानाले केही गरेनन् भन्ने लागेको होला । लाग्नु स्वभाविक हो । किनकी पुरानाले गरेको र बोलेको नदेखिएको र नसुनिएको हुन सक्छ । अर्को कुरा कतै थोरै भए पनि पूर्वाग्रही भइयो कि ? वास्तवमा हामीलाई पञ्चायतको कालरात्री र निरंकुश व्यवस्थाबाट यिनै पुराना दल र नेताहरूले छुटकारा दिलाउन सफल भएका हुन् ।
हिंजो यी दलका नेता तथा कार्यकर्ताहरूले गरेको त्याग एक पटक सम्झनु पर्छ । आफूले प्रयाप्त सुनेको छैन भने सुन्ने र बुझ्ने प्रयास गर्नु पर्दछ । विना सुझबुझ अर्काले भन्यो भनेर हल्लाको भरमा नयाँका पछाडि लाग्नाले हुने नोक्सानका वारेमा निकै गम्भिर भएर सोच्नु पर्दछ ।
एउटा व्यक्तिले गरेको एउटा सानो गल्तीले मुलुकले ठूलो नोक्सान ब्याहोर्ने छ । त्यतिवेला न फेर्न बन्छ न फर्काउन बन्छ । हामी किं कर्तव्यविमुढ बन्ने अवस्थामा पुगेका हुनेछौं । यो निर्वाचनलाई ख्याल ठट्टा गरेको जस्तो गरेर कसैले पनि लिनु हुँदैन ।
समयमा चौका हान्न विर्सनु हुँदैन । किनकी मुलुकको वृहत्तर हित गर्ने भनेको यिनी पुराना दल र यिनका नेताहरूले नै हो । चेतना भया ।