Butwal Today

थकानपछि सुरु हुने रात्रीकालीन पढाइ

१२ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल, १२ माघ ।

बुटवल साँझपख चुपचाप अन्धकारतिर धकेलिँदै जान्छ । पसलका सटर बन्द हुन्छन् । तर यही समय, जब धेरैका लागि दिन सकिन्छ, त्यही बेला केही युवाका लागि पढाइ सुरु हुन्छ ।

ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालयको गेट बेलुकी चार बजेपछि मात्रै खुल्छ । कोही होटलमा भाँडा माझेर आएका हुन्छन्, कोही निर्माण मजदुरी गरेर, कोही पसलमा काम सकेर । कामको कपडा नफेरेकै अवस्थामा उनीहरू कक्षाकोठामा पस्छन्–भविष्य बदल्ने आशासहित ।

यी विद्यार्थीहरूका लागि शिक्षा विकल्प होइन, बाध्यता र सपना दुवै हो । बिहानदेखि बेलुकासम्म काम नगरे परिवारको खर्च चल्दैन । तर पढाइ छाडे भविष्य झन् अँध्यारो हुन्छ भन्ने बुझाइले उनीहरूलाई राति कक्षाकोठातर्फ तान्छ ।

त्यसमध्येका एक विद्यार्थी हुन् २८ वर्षीय मोहिनी थारु । उनी अहिले एउटा निजी क्लिनिकमा जागिर गर्दै छिन् । तर पढाइको स्तर अनुसार जागिर पाइने र अगाडि बढ्न नसकिने महसुस भएपछि आफू ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालयमा अध्ययन गर्न आएको उनी बताउँछिन् ।

उनले कक्षा ८ देखि यस विद्यालयमा अध्ययन गरेकी हुन् । उनी अहिले एसइईको तयारीमा छिन् । सानोमा स्कुल जान भन्दा घरकै काममा रमाएर पढाइलाई वास्ता नगरेकोमा उनलाई अहिले पछुतो छ ।

विद्युत् बिक बिहान र दिउँसोको समयमा अरू काममा व्यस्त हुन्छन् । उनले आमालाई सघाउँदै सानोतिनो जागिर गर्दै आएका छन् । तर साँझको समयमा ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालयमा पढिरहेका छन् ।

आफूले साँझको समयमा विद्यालयमा पढ्दा खुसी लागेको उनी बताउँछन् । ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको छ । २०२१ सालमा स्थापित यो विद्यालय सुरु भएको केही समयमा २८ सालमा बन्द भएको थियो ।

त्यसको १० वर्षपछि २०३८ सालमा फेरि सुरु भयो । त्यसयता विद्यालय निरन्तर रूपमा सञ्चालन भइरहेको छ । २०२१ सालमा बुटवलमा रात्रिकालीन विद्यालयको आवश्यकता महसुस गरी उद्योगी व्यापारीको पहलमा विद्यालय सुरु गरिएको हो ।

बुटवल क्षेत्रमा विभिन्न स्थानमा जागिर गर्ने व्यापार गर्ने तथा बिचैमा पढाइ छुटेकाहरूलाई विद्यालयको आवश्यकता महसुस गरी तत्कालीन पञ्चायत सरकारले रात्रिकालीन विद्यालयको सुरुवात गरेको थियो ।

२०२८ सालमा रात्रिकालीन विद्यालय सञ्चालन ऐन नभएको भन्दै विद्यालय बन्द भयो । पछि फेरि २०३८ सालमा विद्यालय सञ्चालन भएसँगै अनवरत रूपमा विद्यालय चलिरहेको छ ।

अहिले रात्रिकालीन विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू कुनै न कुनै कार्यमा सक्रिय छन् । उनीहरूले दिनभरिको कामसँगै पनि पढ्न सकिने भएकाले रात्रिकालीन शिक्षा अध्ययन गरिरहेका छन् ।

गुल्मीबाट बुटवल झरेका नारायण रायमाझी सानोमा पढाइ छुटेकाले अहिले रात्रिकालीन विद्यालयमा पढ्दै आएका छन् । रात्रिकालीन विद्यालय गरिब, जेहनदार तर पढाइमा इच्छा भएका जुनसुकै उमेर समूहका व्यक्तिको अध्ययन गर्ने स्थान भएको उनी बताउँछन् । उनी भन्छन्, “विद्यालय धेरै राम्रो छ । हामी जस्ता गरिबले पनि पढ्न पाएका छौँ ।”

१० वर्षदेखि बुटवलमा बसोबास गर्दै आएका धिरन बम्रेन पनि अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । आठ कक्षादेखि यसै विद्यालयमा उनले अध्ययन गरेका छन् । पाल्पा रानी ठाँटी जन्मिएका उनी सानोमा पढाइ छुटेको बताउँछन् ।

बुटवल आएपछि ज्ञानोदय माध्यमिक विद्यालयमा केही समय पहिला पनि उनले पढेका थिए । तर त्यति बेलाको पढाइले निरन्तरता पाउन सकेन । अहिले फेरि आठ कक्षामा भर्ना भएर ९ र १० हुँदै एसइईको तयारीमा रहेको उनी बताउँछन् ।

ज्ञानोदय माध्यमिक विद्यालय इच्छा हुँदाहुँदै पनि पढाइ छुटेका र आर्थिक अभावले पढ्न नसक्ने विद्यार्थीहरूको पढ्ने स्थान भएको उनको अनुभव छ । उनले विद्यालयमा शिक्षकहरूले पनि पारिवारिक वातावरणमा पढाउने गरेको बताए ।

उनले साँझको समयमा विद्यार्थीहरूलाई घर जान अप्ठ्यारो हुँदा शिक्षकहरूले नै पु¥याउनेसम्म गरेको बताउँछन् ।
विद्यालयमा धेरैजसो आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।

विद्यार्थीहरूलाई अध्ययनमा हौसला प्रदान गर्दै निरन्तरता दिँदै अगाडि बढाउनुपर्ने विद्यालयलाई चुनौती छ । पढ्दै काम गर्दै गर्ने योजनाबाटै सुरु भएको रात्रिकालीन विद्यालयमा विद्यार्थीहरू धेरैजसो आर्थिक अभावसँग गुज्रिएका छन् ।

विद्यालयले उनीहरूको शैक्षिक सुधारलाई ध्यान दिँदै विद्यालयको भवनमा रहेका सटरहरूबाट आउने भाडाले विद्यार्थीहरूका अतिरिक्त क्रियाकलापमा समेत सहयोग गर्ने गरेको विद्यालयको भनाइ छ ।

रात्रिकालीन विद्यालय दिउँसोको समयमा पढ्न नपाउने विद्यार्थीहरूलाई लक्षित गरी सुरु गरिएको विद्यालय हो । बुटवल व्यापारिक केन्द्र भएकाले धेरै स्थानबाट व्यापार व्यवसाय दैनिकी गुजारा गर्न आउनेको सङ्ख्या धेरै हुने गर्छ ।

पढाइ सँगसँगै काम गर्न बाध्यता भएका विद्यार्थीहरूलाई लक्षित गरी रात्रिकालीन विद्यालयको स्थापना भएको हो । सोही अन्तर्गत अहिले पनि विद्यालयमा धेरै विद्यार्थीहरू जागिर गर्दै अध्ययन गरिरहेका छन् ।

हाल विद्यालय कक्षा ६ देखि १० सम्म सञ्चालित छ । विद्यालयमा अहिले ९० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ मा १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । साथमा ८ मा २२, ९ मा २० तथा १० कक्षामा २० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

सरकारी स्वामित्वको यस विद्यालयमा हाल नौ जना शिक्षकले अध्यापन गराउँदै आइरहेका छन् भने दुई जना कर्मचारी रहेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू अहिले व्यापार, राजनीति, खेल लगायतका क्षेत्रमा अग्रस्थानमा रहेको विद्यालयको भनाइ छ ।

यही विद्यालयमा अध्ययन गरेका केही राजनीतिमा पनि अब्बल रहेका छन् । राजनीति गर्दै सांसदसम्म भएका छन् ।
विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेल विद्यालयमा विद्यार्थीहरूलाई दिनहुँ उपस्थित गराउन तथा समय पालनालाई कडाइका साथ अगाडि बढाउन नसकिने बताउँछन् ।

विद्यार्थीहरूलाई समय पालनामा कडाइ गर्ने, उपस्थितिमा कडाइ गर्ने लगायतका कार्य गर्दा विद्यार्थीको सङ्ख्या घट्ने उनको भनाइ छ । विद्यार्थीहरूलाई उनीहरूकै परिस्थिति अनुसार आफूहरूले पढाइमा अगाडि बढाएको उनले बताए ।

अहिले रात्रिकालीन मावि पुरानै शैलीको पठनपाठनमा सीमित रहेको छ । कम्प्युटर प्रयोगशाला र कम्प्युटर कक्षा पनि विद्यार्थीहरूलाई प्रदान गर्न सकिएको छैन । सामुदायिक विद्यालयको पाठ्यक्रममा आधारित भएर चलिरहेको रात्रिकालीन विद्यालयमा समयअनुसारको कम्प्युटर कक्षाको आवश्यकता छ ।

विद्यालयमा साँझको समयमा पढाइ हुने भएकाले विद्यार्थीहरूलाई घर जान समस्या भएकाले सवारी साधनको आवश्यकता महसुस भएको छ । विद्यालयले सवारी साधनको आवश्यकता महसुस गरी बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न थालेको छ ।

विद्यालयलाई नै प्राप्त गराउने गरी सवारी साधन किन्न नसके पनि उपमहानगरपालिकाले कुनै माध्यमबाट विद्यार्थीहरूलाई आवतजावतमा सहजता उपलब्ध गराउने आश्वासन उपमहानगरपालिकाबाट विद्यालयले पाएको पनि प्रधानाध्यापक पौडेलले बताए ।

पढाइको महत्त्व नबुझेर पढाइ छोडेका पढ्ने चाहना हुँदाहुँदै पनि पढ्नै नपाएका तथा उमेर बढ्दै जाँदा पढाइको महत्त्व बुझेर पढ्न खोज्नेहरूका लागि ज्ञानोदय रात्रिकालीन विद्यालय एक सिडी बनेको छ ।

जहाँ दिनभरि आफ्ना काममा व्यस्त हुँदै साँझको केही समयमा पढ्न सकिन्छ । ज्ञानोदय रात्रिकालीन माध्यमिक विद्यालयले अध्ययन बिचमै छुटेका र कहिल्यै विद्यालय नटेकेकाहरूका लागि दोस्रो अवसर प्रदान गरेको छ ।

आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र कामको बोझका कारण पढाइ छोड्न बाध्य भएका विद्यार्थीहरूलाई विद्यालयले उज्यालो भविष्यको बाटो कोरिदिएको छ ।