Butwal Today

गगन थापा भन्छन्– देश जोड्न मधेस जाँदै छु

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । 

प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि सर्लाही जानुअघि नेपाली कांग्रेसका सभापति गगन थापाले भिडिओ सन्देशमार्फत काठमाडौँ–४ का मतदातालाई धन्यवाद दिएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । यसअघि उनी काठमाडौँ–४ बाट लगातार प्रतिस्पर्धा गर्दै आएका थिए ।

वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही प्रस्थान गरेका छन् । सर्लाहीमा रहँदा उनले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।

सर्लाही जानुअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा थापाले काठमाडौँ छोडेर मधेस झर्नुको कारण स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘म मधेस जाँदै छु, किनकि म देश जोड्न चाहन्छु ।’

पछिल्ला तीन निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित भएका थापाले आफूले उक्त क्षेत्रमा परिवारजस्तै माया पाएको उल्लेख गर्दै भनेका छन्, ‘मैले परिवारको जस्तो माया यो क्षेत्रबाट सधैँ पाएँ ।’

कांग्रेसका नेता तथा कार्यकर्ताले काठमाडौँ नछोड्न सल्लाह दिएको कुरा पनि उनले सार्वजनिक गरेका छन् । तथापि, देश जोड्नका लागि मधेस झर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘मधेससँगको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने तीव्र इच्छा मेरो मनमा थियो, र त्यो आवश्यक पनि थियो,’ थापाले भनेका छन्, ‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्केको म सिंगो देशको हुनुपर्छ ।

त्यसका लागि मैले एकपटक मधेसको माटो ढोग्नुपर्छ, टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ र त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ ।’