Butwal Today

बुटवल बदल्ने शिक्षा

१२ माघ २०८२, सोमबार
अ+
अ-

“बुटवललाई बहुसांस्कृतिक र बस्नयोग्य आधुनिक सहर बनाउनुमा बुटवलमा विभिन्न कालखण्डमा स्थापित भएका शैक्षिक संस्थाहरूको मुख्य भूमिका छ । “यो सहर शिक्षाको केन्द्र बन्न नसकेको भए व्यापारिक केन्द्रको रूपमा बजार क्षेत्रमा मात्र बुटवल खुम्चिएको हुन्थ्यो”– बुटवलको कालिका माविमा तीन दशक भन्दा बढी समय प्रधानाध्यापक रहेका पूर्व शिक्षक तथा बुटवलका बासिन्दा ८० वर्षीय कौशलराज बस्याल भन्छन्‌ ।

बस्यालले भने जस्तै बुटवलमा शैक्षिक संस्थाको विकाससँगै बस्ती, बजार र पूर्वाधार फैलिंदै गएको देखिएको छ । २०२० को दशक सम्म हालको ट्राफिक चोकको उत्तरतिर मात्र खुम्चिएको बुटवल अहिले निकै फैलिएको छ । जहाँजहाँ शैक्षिक संस्थाहरू छन्, त्यसकै सेरोफेरोमा बजार केन्द्रहरू बनिरहेका छन्‌ ।

सदियौंदेखि बुटवल व्यापारिक केन्द्र र यात्राको केन्द्र बनेको भएपनि बुटवलमा शैक्षिक संस्थाहरूको विकास निकै ढिलो गरी भएको हो । शैक्षिक संस्थाहरू नभए पनि बुटवलबासी शिक्षा हासिल गर्न कति आतुर थिए भन्ने कुरा महादत्त सेन राजाको पालामा वि.सं.१८५१ मा बुटवल आएका प्रभु स्वामी नारायण (निलकन्ठ वार्णी) लाई राजा र बुटवलका बासिन्दाले ५ महिनासम्म बुटवलमा राखेर शिक्षा लिएको र बुटवलबासीले जान नदिने भएकोले स्वामी नारायण लुकेर बुटवलबाट निस्केर गएको घटनाले देखाउँछ ।

नेपाल एकीकरणपछि राज्यले बुटवललाई व्यापारिक थलो बनाउन विभिन्न प्रयासहरू गरेको भएपनि यस स्थानमा शैक्षिक संस्थाको स्थापना गर्न नागरिक स्तर र राज्यबाट राणा शासनको उत्तराद्र्धसम्म प्रयास गरेको देखिँदैन । पढ्नका लागि बुटवल हुँदै बनारस जाने र ब्रिटिश सेनामा भर्ती भएकाहरू बुटवल हँुदै आवतजावत गर्ने भएकोले बुटवलबासीले शिक्षाको महत्व नबुझेर शैक्षिक संस्थाहरू नखुलेका नभई वि.सं. १९६० को दशकसम्म बुटवल मौसमी बजार भएकोले यहाँ स्थायी बसोबास नभएको र राणा शासकहरू शिक्षाप्रति अनुदार भएकोले पनि बुटवलमा शैक्षिक संस्थाको स्थापनामा ढिलाई भएको अध्येता देवेन्द्रराज शाक्य बताउँछन्‌ ।

बुटवलको पुरानो पुस्ताका अनुसार तत्कालीन स्थानीय राणा भारदारका पुरोहित पं. डिल्लीराज उपाध्यायले गोप्यरूपमा वि.सं. १९८५ मा बुटवल कदमचोकमा एउटा संस्कृत पाठशाला स्थापना गरेपछि बुटवलमा शैक्षिक संस्थाको सुरुवात भएको थियो ।

करिव तीन वर्षसम्म गोप्य रूपमा सञ्चालित उक्त पाठशालामा सुरुमा ब्राम्हण जातिका विद्यार्थीले मात्र अध्ययन गर्ने अवसर पाएकोमा वि.सं १९९३ सालपछि मात्र सो पाठशालामा अन्य जातीका विद्यार्थीलाई समेत अध्ययन गर्ने सुविधा प्राप्त भएको थियो । त्यही विद्यालयलाई २००७ सालमा आदर्श विद्या मन्दिर नामाकरण गरिएको थियो ।

सहशिक्षाको व्यवस्था नभएकोले बालिकाहरू उक्त विद्यालयमा पढ्न जाँदैनथे । तर बुटवलबासीले छोरीलाई पनि शिक्षा दिनुपर्ने आवश्यकता महशुस गरेपछि २००५ सालमा कन्या पाठशालाको रूपमा छुट्टै स्कुल सञ्चालन गर्न थालिएको थियो ।

राणा शासनको अन्त्य भएपछि वि.सं. २००८ सालमा कन्या पाठशाला र आदर्श विद्या मन्दिरलाई एकीकृत गरी बुटवल हाईस्कूल (हालको बुटवल मावि) को विधिवत स्थापना भएको हो । राणा शासनको अन्तिम अवस्थामा (२००७ साल) तिनाउ पूर्वको क्षेत्रमा गणेश विद्या भवन र जनता विद्या भवनका दुईवटा छुट्टाछुट्टै प्राथमिक विद्यालयहरू स्थापना भएका थिए ।

वि.सं. २०१० सालमा ती दुवै विद्यालयहरूलाई एकीकरण गरी गणेश जनता विद्याभवन प्राइमरी स्कुलको नामबाट हालको कान्ति मावि सञ्चालन सुरु भयो । वि.सं.२०१० सालदेखि २०२० सालको अवधिमा बुटवलको शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको देखिन्छ । यो अवधिमा हालका कालिका मानवज्ञान मावि (२०१८), नयाँगाउँ मावि (२०१९), ज्ञानोदय, उजिरसिंह मावि, सरस्वती आधारभूत विद्यालय, तिलोत्तमा मावि (२०२०) स्थापना भएका थिए ।

बुटवलमा शैक्षिक संस्थाहरूलाई स्थायित्व दिने काम २०२० मा तत्कालीन बुटवल खस्यौली नगर पंचायतले सुरु गरेको थियो । २०२० साल पुस ७ गते नगर पञ्चायतबाट सञ्चालित ५ वटा निःशुल्क अनिवार्य प्राथमिक पाठशालाको स्थापना तथा अपनत्व लिने काम भएको थियो । जसको नाम संख्या नं. १ (हाल कालिका उ.मा.वि.), संख्या नं. २ (हाल तिलोत्तमा मा.वि.), संख्या नं. ३ (हाल ज्ञानोदय मा.वि.), संख्या नं. ४ (हाल सरस्वती नि.मा.वि.) तथा संख्या नं. ५ (हाल उजिर सिंह मा.वि.) राखिएको थियो । त्यसबेला ती ५ वटै प्राथमिक पाठशालाको प्र.अ. एक जना र हरेक पाठशालामा स.प्र.अ. एक–एक जना राख्ने व्यवस्था थियो ।

त्यसबेला आवश्यकता अनुसार ५ वटै विद्यालयमा स.प्र.अ. लगायत शिक्षकहरूलाई सरुवा गरिने व्यवस्था थियो । लामो समयसम्म यो अभ्यासले निरन्तरता नपाएपनि बुटवलमा शैक्षिक संस्थालाई सबल बनाउन र समुदायमा शैक्षिक जागरण ल्याउन स्थानीय सरकारले सुरु गरेको यो महत्वपूर्ण कदम थियो ।

अहिले बुटवल उमनपा भित्र ३८ वटा सामुदायिक विद्यालयहरू रहेका छन्‌ । यी मध्ये आधारभूत १३, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा रहेका छन्‌ । बुटवलमा सञ्चालित कालिका, नविन र कान्ति माविले देशमै उत्कृष्ट स्थान हासिल गरिरहेका छन्‌ ।

उपमहानगरपालिकाको ईमिस रेकर्ड अनुसार बुटवलका सामुदायिक विद्यालयमा प्राथमिकदेखि माध्यमिक तहसम्म ३० हजार २९१ जना र मदरसामा १२४ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन्‌ । बुटवलका विद्यालयहरूमा माध्यमिक तहमा शिक्षा, व्यवस्थापन, मानविकी, फाईंन आर्टस्, कानुन, होटेल व्यवस्थापन, पर्यटन जस्ता विषयहरू छानीछानी अध्यययन गर्न पाइने सुविधा छ भने कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, बाली विज्ञान जस्ता विषयहरू समेत कालिका, नविन र नयाँगाउँ माविले सञ्चालन गरिरहेका छन्‌ ।

वि.सं. २०३० को दशकमा बुटवलमा निजी क्षेत्रबाट बोर्डिङ स्कुल सञ्चालन सुरु भएको थियो । पाईनउड, श्री ५ कान्ति, दीप बोर्डिंङ त्यो दशकका चर्चित बोर्डिङ स्कुल थिए । २०४० को दशकपछि भने निजी स्कुल स्थापना गर्ने लहर चल्यो । अहिले बुटवलको मुख्य बजार क्षेत्रमा मात्र नभएर सेमलार, मोतिपुर, तामनगर, नयाँगाउँ जस्ता बजार बाहिरको क्षेत्रमा भने राम्रा बोर्डिङ स्कुलहरू सञ्चालित छन्‌ ।

निजी क्षेत्रबाट सञ्चालित न्यू होराइजन, दीप, अक्सफोर्ड, एभरेस्ट जस्ता निजी स्कुलहरूले एसइई र एसएलसी नतिजामा धेरैपटक देशमै प्रथम स्थान हासिल गरेर राजधानी बाहिर पनि उत्कृष्ट शिक्षा प्रदान गर्न सकिन्छ भने उदाहरण पेश गरेका छन्‌ ।

बुटवलमा हाल ५८ वटा निजी क्षेत्रबाट सञ्चालित स्कुल छन्, यी मध्ये ४२ वटा माध्यमिक स्तरका छन्‌ । देशभर बुटवललाई चिनाउन यहाँका निजी विद्यालयहरूको ठुलो भूमिका रहेको छ ।
वि.सं. २०२० को दशकसम्म आइपुग्दा बुटवल शिक्षाको केन्द्र बनिसकेको भएपनि त्यसबेलासम्म यो क्षेत्रमा क्याम्पस नहुँदा विद्यार्थीहरू उच्च शिक्षाका लागि तानसेन, काठमाडौँ, विरगंजका साथै भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता थियो ।

यो समस्यालाई बुझेर स्थानीय समुदायको सहयोगमा शिक्षित युवाहरूले २०२४ सालमा जनस्तरबाट लुम्बिनी कलेजको स्थापना गरेका थिए । राज्यले सहयोग गर्नुको साटो राजनैतिक प्रतिशोध लिएकोले वि.सं.२०२७ मा उक्त क्याम्पस बन्द भयो ।

शिक्षकलाई सेवाकालीन तथा पूर्व सेवाकालीन शिक्षक तालिम दिइरहेको पाल्पा क्याम्पस २०३०/३१ मा पाल्पाबाट सरेर बुटवलमा जन–सहभागिताद्वारा सञ्चालित लुम्बिनी कलेज तथा बुटवल नगर पञ्चायतद्वारा सञ्चालित निःशुल्क अनिवार्य प्राथमिक शिक्षा योजना अन्तर्गतको केन्द्र नं. २ को भवन तथा मैदानमा बुटवल बहुमुखी क्याम्पसका रूपमा स्थापित भयो ।

अहिले यो क्याम्पसले विभिन्न स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गरिरहेको छ । सामुदायिक स्तरमा २०३८ सालमा लुम्बिनी बाणिज्य क्याम्पस, २०४८ सालमा सिद्धार्थ गौतमबुद्ध क्याम्पस, २०७० सालमा बुटवल कालिका क्याम्पसको स्थापना भएर स्नातकोत्तर तहसम्मको पठनपाठन गरिरहेका छन्‌ । बेलबासमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सिटी क्याम्पस सञ्चालित छ र यहाँ समेत स्नातकोत्तर तहसम्म पढाइ हुने गरेको छ ।

वि.सं.२०२० सालमा बुटवल टेक्निकल इन्स्टिच्युट स्थापना भयो । प्राविधिक शिक्षातर्फ यो पहिलो संस्थाको स्थापना बुटवलमा औद्योगिक विकासको लागि एक क्रान्ति नै सावित भएको छ । बुटवल उमनपाको सहयोगमा यहाँ इन्जिनियरिङमा स्नातक तहको पढाइ सुरु भएको छ । तामनगरमा सिटिइभिटीको आंगिक क्याम्पसको रूपमा के.एन.आई.टी. सञ्चालित छ र यसमा डिप्लोमा तहका प्राविधिक विषयहरू पठनपाठन हुने गरेको छ ।

बुटवलमा लामो समयदेखि लिट्स, रम्भादेवी, मायादेवी र आम्दाले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गरिरहेका छन्‌ । यसैगरी मणिमुकुन्द कलेज, क्षितिज इन्टरनेशनल कलेज, न्यू होराइजन क्याम्पस, एक्सिस कलेज, सिद्धार्थ इन्टरनेशनल, अक्सफोर्ड कलेज जस्ता निजी क्षेत्रका क्याम्पसहरूले दक्ष जनशक्ति उत्पादन गरिरहेका छन्‌ ।

समुदाय, सरकार निजी क्षेत्रबाट व्यवस्थापन भैरहेका आधारभूतदेखि स्नातकोत्तर तहसम्मको शिक्षा दिइरहेका यस्ता शैक्षिक संस्थाहरूले बुटवललाई अब्बल शैक्षिक केन्द्रको रूपमा पहिचान दिलाइरहेका छन्‌ ।

विकासमा योगदान
बुटवलको लामो प्रशासनिक, व्यापारिक पहिचान भएपनि वि.सं.२०१० को दशकसम्म मानिस बस्ने थलोको रूपमा बुटवलले मानिसलाई आकर्षित गर्न सकेको थिएन । बुटवलमा विद्यालयहरू खुलेपछि वरिपरिको क्षेत्रबाट बुटवल आएर बसेर पढ्ने चलन सुरु भयो ।

बिटिआई सञ्चालनमा आएपछि प्राविधिक शिक्षा हासिल गर्नको लागि देशका विभिन्न ठाउँबाट बुटवल आएका अधिकांश मानिसहरू बुटवल क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाउन थाले ।

वि.सं.२०३० को दशकमा बुटवल बहुमुखी क्याम्पस खुलेपछि यस क्याम्पसमा लुम्बिनी अञ्चलका सबै जिल्लाका साथै दाङ, रोल्पा, प्युठान, रुकुम, डोल्पा, बाग्लुङ, पर्वत, स्याङ्जा जिल्लाबाट विद्यार्थीहरू बुटवलमा आउन थालेका थिए ।

देशका विभिन्न स्थानबाट विद्यार्थीहरू आउन थालेपछि बल्ल बुटवल वास्तवमा मान्छे बटुलिने ठाउँ बन्न थालेको थियो । देशका विभिन्न स्थानबाट बुटवलका स्कुल र क्याम्पस पढ्न विद्यार्थीहरू आएपछि उनीहरूसंगै विभिन्न भुगोल र जातीय समूहका खानपिन, नाचगान, भेषभुषा, संस्कृति र रहनसहन बुटवलमा फैलिदै गयो ।

सन्तानलाई बुटवलमा राखेर पढाउन बुटवल झरेकाहरू र क्याम्पस पढ्न आएका विद्यार्थीहरू पढाई पूरा गरेपछि आफ्नो गाउँघर कमै फर्किए । उनीहरू बुटवल र छेउँछाउँमा नोकरी, व्यापार, व्यवसाय गरेर बस्ने र परिवारलाई बोलाउने क्रम बढ्यो । द्वन्द्वकालमा त झन् तम्घास, तानसेन, रामपुर, सन्धिखर्क, प्युठान जस्ता ठाउँमा अध्ययन गर्न खोजेकाहरू पनि पढ्नकै लागि बुटवल आउँदा बस्ती फैलिदै गयो ।

बुटवल बहुमुखी क्याम्पसमा चार दशक प्राध्यापन गर्नुभएका प्राध्यापक रामलाल श्रेष्ठ भन्छन् “पढ्नको लागि बुटवल नझरेको भए पहाडका धेरै मानिसहरूको लागि बुटवल असाध्य स्थान रहन सक्थ्यो र बुटवलको विस्तारको गति कम हुन सक्थ्यो । पढ्न झरेकाहरूले बुटवलाई सुनवलदेखि जितपुर अनि भलवारीसम्म फैलाएका हुन्‌ ।”

बुटवलका शैक्षिक संस्थाहरू सबल हुँदै जाँदा यहाँको आर्थिक क्षेत्र चलायमान र विस्तारित हुँदै गएको बुटवल उद्योग बाणिज्य महासंघका अध्यक्ष हरि प्रसाद अर्याल स्वीकार्छन्‌ ।

उनका अनुसार बुटवल बजार र यातायात क्षेत्रलाई चलायमान गराउन मात्र नभएर देशकै जलविद्युत, औद्योगिकरण, वित्तीय संस्थाको व्यवस्थापन र बाणिज्य संस्थाहरूको कुशल सञ्चालनमा बुटवलबाट शिक्षा प्राप्त गरेका जनशक्तिहरूले महत्वपूर्ण स्थान स्थान बनाइरहेका छन् र यो बुटवलको लागि गर्वको कुरा हो ।

बुटवल निरन्तर विकसित भैरहेको छ, फैलिरहेको छ । बुटवल नुन बेच्ने सहरदेखि शिक्षा र सिप दिने सहर बनेको छ, व्यापारिक सहर मात्र नभएर देशकै उत्कृष्ट शैक्षिक गन्तव्य समेत बनिरहेको छ । शैक्षिक संस्थाहरू जति सबल बन्छन्, उति नै बुटवल विकसित र बिस्तारित भैरहनेछ ।