© 2026
आज ७४ औँ भन्सार दिवस । नेपालमा विविध कार्यक्रम गर्दै आज यो दिवस मनाइदैछ ।
दिवस मनाउँदै गर्दा नेपालको भन्सार प्रणालीलाई डिजिटल अनलाइन सिस्टममा लैजाने प्रतिबद्धता गरेको पाँच वर्ष पूरा भएको छ तर प्रतिबद्धता अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
नेपालले ६८ औ भन्सार दिवसको अवसरमा २०७६ सालमा भन्सार प्रणालीलाई अनलाइनमा लैजाने प्रतिबद्धता जनाएको थियो । भन्सार जसले नेपालको कुल आम्दानीको ५० प्रतिशत हिस्सा एक्लै जम्मा गर्दछ ।
पछिल्लो समय भन्सारप्रति जनविश्वास घटिरहेको सन्दर्भमा भन्सारमा पारदर्शिता, जबाफदेहिता र विश्वसनीयताको आवश्यकता झनै महसुस भइरहेको छ । भन्सारले आफ्नो साख समेत जोगाउन नसकिरहेको अवस्था छ ।
भन्सार भन्ने बित्तिकै ‘लुटतन्त्र’ संस्थाको रूपमा आम नेपाली जनजनले बुझ्ने गरेका छन् । भन्सारलाई आगामी दिनमा स्वच्छ संस्थाको रूपमा विकास गर्ने हो भने यसमा पारदर्शिता झनै आवश्यक छ ।
नेपालको अर्थतन्त्रलाई आवश्यक ५० प्रतिशत अर्थात् कूल राजस्वको आधा हिस्सा एक्लै थेग्ने गरेको छ, त्यो संस्थाप्रति जनताले हेर्ने दृष्टिकोण राम्रो नहुनु दुःखको कुरा हो ।
भन्सारलाई विश्वासयोग्य कर सङ्कलन संस्थाको रूपमा विकास गर्न जबाफदेही र जिम्मेवार तथा विश्वसनीय बनाउन नसक्नु र यसलाई समय अनुसार परिमार्जित नगरिनु सरकारको कमजोरी हो भन्दा अत्युक्ति हुँदैन ।
भन्सारको प्रमुख काम भनेकै व्यापार सहजीकरण गर्नु हो । यसका साथै यात्रुको आवागमन सहजीकरण, अवैध व्यापारमा नियन्त्रण र राजस्व सङ्कलन मुख्य काम हो । अतः सामान्य बुझाइमा नै भन्सारलाई साँघुरो दृष्टिबाट हेर्ने भ्रम छ ।
यसले सीमा व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने, अवैध व्यापारलाई नियन्त्रण गर्ने, व्यापारको नियमन गर्ने, आर्थिक समृद्धिका लागि राजस्व सङ्कलन गर्ने, प्रतिस्पर्धी बजार प्रणालीको विकास गर्ने हो ।
तर, दुःखको कुरा के छ भने अझै पनि नेपालका राजनीतिज्ञ र प्रशासकहरूका लागि भन्सार दुहुनो गाई बन्दै आएको छ । भन्सारमा आउन कर्मचारीले अझै पनि नेतादेखि मन्त्रीहरूलाई लाखौँ रुपैयाँ नजराना बुझाउनु पर्ने बाध्यता छ ।
त्यसरी आउने कर्मचारीले पहिले आफैले भन्सारलाई हुन्छन, अनि त्यस बापतको नजराना माथिसम्म पु¥याउँछन । यो आजको यथार्थ हो । यसमा कुनै शंका गरिरहनु पर्दैन । त्यसमाथि नेता र तीनका तल्लास्तरका कार्यकर्ता समेत भन्सारमाथि नै निर्भर हुने गरेको देखिएको छ । अहिले पनि भन्सारबाटै चन्दा उठाएर कतिपय कार्यक्रम हुने गरेका छन् ।
नेताहरूको चुनाव खर्चको केही हिस्सा यहीँबाट जाँदैन भन्न सकिदैन । आखिर यसरी बाँड्नेगरी भन्सारमा पैसा कहाँबाट आउँछ ? उत्तर सहज छ– भन्सार पारदर्शी हुन सकेको छैन । कमाई खाने संस्थाका रूपमा यसलाई अहिलेसम्म दुहिएको छ । बदलामा यसलाई विश्वसनीय बनाउने प्रयास भएको छैन ।
भन्सार विभागले अहिलेसम्मको जनगुनासो र अविश्वासको वातावरण चिर्न असफल भइरहेको छ । भन्सारप्रति कायम अविश्वासको वातावरण हटाउन भन्सारलाई पूर्णरूपमा अनलाइन पद्धतीमा रूपान्तरित गर्नु जरुरी छ ।
होइन भने भन्सारले भोलीका दिनमा आम्दानी दिने कुरा एकादेशको कथा मात्रै बन्नेछ । भन्सारलाई आगामी दिनमा स्वच्छ र पारदर्शी संस्थाको रूपमा विकास गर्ने हो भने यसमा रूपान्तरण झनै आवश्यक छ ।
भन्सारलाई विश्वासयोग्य कर सङ्कलन संस्थाको रूपमा विकास गर्न जबाफदेही र जिम्मेवार तथा विश्वसनीय बनाउन नसक्नु कमजोरी हो । नेपालको भन्सार प्रशासनलाई राष्ट्रिय आवश्यकता एवं जनअपेक्षा बमोजिम सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन अझ थुप्रै चुनौती छन् । हामी अझै पनि भन्सार प्रक्रियाका सबै कामलाई पूर्ण स्वचालित बनाउन सकेका छैनौँ ।
भन्सारमा इ–पेमेन्ट र डिजिटलको सही उपयोग अझै हुन सकेको छैन । जेहोस भन्सारप्रति कायम अविश्वासको वातावरण हटाउन भन्सारलाई पूर्णरूपमा अनलाइन पद्धतीमा रूपान्तरित गर्नु जरुरी छ । भन्सार दिवसको सन्दर्भमा सरकारको ध्यान पुगोस् ।