© 2026
काठमाडौँ, ११ माघ ।
देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह देखिएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा लगानीकर्तामा विश्वास बढ्दै गएको छ, जसले नेप्से परिसूचकमा उच्च अंकको सुधार ल्याएको हो ।
६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बजार सकारात्मक हुँदै आएको छ । गत साता बुधबार ९ अंकले ‘करेक्सन’ भएको नेप्से अन्य कारोबार दिन बढेको थियो ।
गत साताभरि करिब ७० अंकले वृद्धि भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यस साता पहिलो दिन आइतबार नै ५७.५५ अंकले बढेको छ । कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा २७७२.१७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका २४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक रहेको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।
विशेषज्ञहरूले विश्लेषण गरेका अनुसार, तोकिएको समयमा निर्वाचन सम्पन्न भए पनि राजनीतिक स्थिरताको अपेक्षामा लगानीकर्ताले बजारमा लगानी बढाएको देखिन्छ । त्यस्तै, नेप्सेमा सूचिकृत कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कार्यसम्पादन विवरण आउन थालेपछि सेयर बजार सूचक सुधारमा थप मद्दत पुगेको छ ।
आइतबार सेयर बजारमा कारोबार रकममा पनि उच्च सुधार देखिएको छ । नेप्सेमा नयाँ लगानीकर्ता प्रवेश तथा पुराना लगानीकर्ताको लगानी वृद्धि भएपछि कारोबार रकम करिब १४ अर्ब रुपैयाँ पुगेको छ, जुन गत साता बिहीबारको तुलनामा करिब ४ अर्बले बढी हो ।
समूहगत परिसूचक हेर्दा, बैंकिङ २४.९१, विकास बैंक ९९.०९, वित्त ४५.२९, होटल २४६.२५, जलविद्युत् ९५.९९, लगानी २.९९, जीवन बीमा २६८.६८, उत्पादनमूलक २७५.२९, लघुवित्त ८१.१०, सामूहिक लगानी कोष ०.२०, निर्जीवन बीमा २२0.७५, अन्य ३७.९६ र व्यापार ५६.९३ अंकले बढेका छन् ।
आज नेप्सेमा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आइतबार नेप्सेमा ३३१ कम्पनीको १ लाख ३३ हजार ५ सय २९ कारोबारबाट १३ अर्ब ७८ करोड बराबरका ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।