© 2026
आज विश्व कुष्ठ रोग दिवस । ‘कुष्ठरोगको उपचार सम्भव छ, निको हुन्छ’ भन्ने नाराका साथ यो दिवस मनाईदैछ ।
यो दिवस मनाई रहँदा कुष्ठ रोगीको सङ्ख्या अव औँलामा गन्नुपर्ने भएको छ । कुष्ठरोगप्रतिको बढ्दो जनचेतनाका कारण कुष्ठ रोगीको सङ्ख्या घटिरहेको छ । तर कुष्ठ रोगीप्रति अहिले पनि हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ ।
यो वर्षको कुष्ठ रोग दिवसको नाराले नै धेरै कुरा सम्बोधन गरेको छ । वास्तवमा कुष्ठ रोग अव भयानक रोग होइन भन्ने कुरा यो वर्षको नाराले नै चरितार्थ गरेको छ । हरेक वर्ष मनाइने दिवस वास्तवमा कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न सहयोगी हुँदै आएको छ ।
अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । यद्यपि नेपालबाट कुष्ठ रोग नियन्त्रण हुँदै गएको भनिए पनि छिटफुटरूपमा देखा पर्नु चुनौतीकै विषय हो ।
पुर्खौँदेखि चलिआएको यो रोगले नेपाली समाजलाई नराम्रोसँग जरा गाडेको भन्दा हिचकिचाउनु पर्दैन । सामाजिक कुरीति र मान्यताहरूका कारण अझै पनि कुष्ठ रोगीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकै कारण कुष्ठ रोगीहरू समाजमा खुल्न र घुल्न सकिरहेका छैनन् । उनीहरूलाई मानसिक रूपमै समाजबाट टाढा राखिएको छ ।
दिवस मनाउँदै गर्दा रुपन्देहीमा कुष्ठरोगीहरूको सङ्ख्यामा कमी आएको छ । यो खुसीको कुरा हो । सरकारले कुष्ठ रोग नियन्त्रणमा आएको दाबी गर्दै आएको छ । सयमा एकआध रोगी हुनु नियन्त्रणकै बाटोमा गएको हो भन्दा अन्यथा हुँदैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार कुष्ठरोगीको सङ्ख्या औलामा गन्न सकिने भएको छ तर जिल्लामा बर्सेनि कुष्ठ रोगी फेला पर्ने क्रम भने रोकिएको छैन । कुष्ठ रोगको सङ्ख्या नियन्त्रणमा आउन नसक्नु चुनौती हो तर यो खतरनाक रोगको सूचिबाट भने हटिसकेको छ ।
यो नेपालका लागि खुसीको कुरा हो । दिवसकै सन्दर्भको कुरा गर्दा कुष्ठरोग प्रभावितहरूप्रति जागरूकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो रोगविरुद्ध दिवस मनाउन थालिएको थियो । यो एक प्रकारको जीर्ण सङ्क्रमण हो ।
स्वास्थ्यकर्मीका अनुसार यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’ को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।
कुष्ठ रोगले अवको दिनमा ठूलै चुनौती निम्त्याउँदैन तर यसलाई सामान्य रोग भनेर हेलचेक्र्याइँ पनि गरिनुहुँदैन । नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसकेको छ । तर, यसको जोखिम र सङ्क्रमणलाई कसैले पनि नजरअन्दाज गर्नु हुँदैन ।
बेला बेलामा कुष्ठरोग सङ्क्रमित देखा पर्दै आइरहेको पाइन्छ । त्यो भनेको चामलमा बियाँ हो तर त्यही बियाँले सबै चामललाई खराब बनाउन सक्छ । भन्नुको तात्पर्य कुष्ठरोग नियन्त्रणमा आयो भनेर खुसी मनाउने भन्दा पनि यसको जोखिम अझै कायमै छ भन्ने कुरामा सचेत हुनुपर्ने छ ।
भोलिको दिनमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरू सञ्चालन गर्नु आवश्यक छ । नेपालबाट आजभन्दा १४ वर्ष अघि २०६६ सालमै कुष्ठरोग निमूर्ल भएको घोषणा गरिएको थियो तर नेपालमा कुष्ठ रोगीहरू फेला पर्ने क्रम नरोकिएकोले फेरी पनि सचेत हुनुपर्ने खाँचो छ । कुष्ठरोग नियन्त्रणमा अव सशक्त ढङ्गले अघि बढ्नुपर्ने जरुरी छ
। कुष्ठ रोगलाई अघिल्लो जुनीको पाप होइन उपचार गरे निको हुन्छ भन्ने यो वर्षको दिवसको नारालाई आत्मसाथ गरेर कुष्ठरोगको बचेखुचेको बियाँ फाल्ने कामतर्फ लागौँ ।