Butwal Today

प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला बैठक सम्पन्न

१० माघ २०८२, शनिबार
अ+
अ-

जितपुर ।

प्रेस चौतारी नेपाल कपिलवस्तुको जिल्ला बैठक गोरुसिङ्गेमा सम्पन्न भएको छ ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रचार–प्रसार तथा सङ्गठन सुदृढीकरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बैठकले निर्वाचनको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन जिल्लालाई तीन वटै निर्वाचन क्षेत्रमा विभाजन गरी समाचार डेस्क तथा क्षेत्रगत जिम्मेवारी तोकेको छ।

क्षेत्र नं. १ का लागि प्रेस चौतारी नेपाल बाणगंगा नगर अध्यक्ष हरि आचार्यको संयोजकत्वमा सरिता थारु, दीपिका सुनार, विनोद भट्टराई र इमरान हुसेनलाई प्रचार–प्रसार समाचार डेस्कको जिम्मेवारी दिइएको छ।

त्यसै गरी क्षेत्र नं. २ मा प्रेस चौतारी नेपाल जिल्ला सदस्य सागर सुनार, सुशील गैरे, अजय बर्मा र नरसिंह कहारलाई जिम्मेवारी प्रदान गरिएको छ।

क्षेत्र नं. ३ मा भने प्रेस चौतारी नेपाल जिल्ला सहसचिव राम अवतार थारुको संयोजकत्वमा घनश्याम भर, कृष्ण पौडेल, अर्जुन बेल्बासे र गीता पौडेललाई प्रचार–प्रसार समाचार डेस्कको जिम्मेवारी तोकिएको छ ।

बैठकले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा सञ्चार क्षेत्रको भूमिका अझ जिम्मेवार, तथ्यपरक र प्रभावकारी हुनुपर्नेमा जोड दिए।

उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सञ्चारकर्मीहरूले सशक्त र सत्य सूचना प्रवाह गर्नुपर्ने बताए ।

साथै पछिल्लो समय सामाजिक सञ्जालमा एआईमार्फत तयार पारिएका भ्रामक फोटो तथा भिडियोहरू व्यापक रूपमा फैलिएको भन्दै त्यस विरुद्ध जनतालाई सचेत गराउनु प्रेस चौतारीमा आबद्ध पत्रकारहरूको दायित्व भएको उल्लेख गरे।

उनले विदेशी चलखेलविरुद्ध पनि सजग रहनुपर्ने आवश्यकता औँल्याएका थिए ।

यसै गरी नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले सञ्चारकर्मीहरू पार्टीको विचार, राष्ट्रहित र जनताको पक्षमा दृढ भएर लाग्नुपर्ने बताए। उनले प्रेस चौतारीले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने धारणा राखे।

नेकपा एमाले जिल्ला सचिव सिवी गहतराजले सङ्गठनात्मक एकता, अनुशासन र निरन्तरता नै आगामी निर्वाचनको सफलता हुने उल्लेख गर्दै प्रचार–प्रसारमा आपसी समन्वय अपरिहार्य रहेको बताए।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डेले प्रेस चौतारीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि जिम्मेवार पत्रकारितामार्फत जनताको विश्वास जित्नुपर्ने बताइन्।

त्यस्तै केन्द्रीय अनुशासन आयोग सदस्य जानु पाण्डेले पत्रकारितामा अनुशासन, मर्यादा र आचारसंहिता अनिवार्य रहेको बताउँदै गलत सूचना र अफवाहविरुद्ध सशक्त रूपमा उभिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, पूर्व केन्द्रीय सदस्य विकास बन्जाडे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।