© 2026
बागलुङ। बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि मागअनुसारको आवेदन आउन सकेको छैन।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी १ हजार ४८७ जना माग गरिएको थियो।
तर, हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।
हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ। गत पुस २४ देखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको थियो। उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए। मागअनुसार आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनको भनाइ छ।
मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ। आवेदकलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउँछन्।–रासस