Butwal Today

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग

९ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी–बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणलगायतका सबै कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ ।

माघ ११ गते आइतबार १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान हुने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ ।

केही प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले राजीनामा दिएको कारण तिनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।