© 2026
काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका भट्टराईले आज आफूनिकट केही नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावकको भूमिकामा रहेर सहजीकरण गरिदिन आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । भट्टराईले आजै वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिने तयारी रहेको स्रोतले जनाएको छ ।
गोरखा–२ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७९ को निर्वाचनमा भने उनले प्रचण्डलाई सहयोग गर्दै आफू उम्मेदवारी नदिने बताएका थिए । यसपटक पनि चुनाव नलड्ने अभिव्यक्ति दिँदै आएका भट्टराई मनोनयनको दुई दिनअघि मात्र निर्णय गर्दै गोरखा पुगेका थिए ।
उनले उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्नेबारे भने खुलाएका छैनन् ।
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), प्रगतिशील लोकतान्त्रिक पार्टीका डा. बाबुराम भट्टराई, तथा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार रहेका छन् ।