Butwal Today

६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ८ माघ ।

 चालु आर्थिक वर्ष २०७८/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।

गत आव २०७८/८२ को सोही अवधिसँग तुलना गर्दा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी वृद्धि भएको देखिएको छ । गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको थियो ।

यसरी तुलना गर्दा आयात मूल्य करिब ६.७३ प्रतिशतले बढेको छ ।

चालु आव पुससम्म ४ अर्ब २७ करोड १२ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाख मात्र थियो ।

त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएको चामल आयात पनि उल्लेख्य बढेको छ । गत वर्ष यस्तो चामलको आयात ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँ थियो भने यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।

प्रशोधित चामल आयात बढे पनि धान आयातमा सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख रुपैयाँको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख रुपैयाँमा र २७ करोड ७ लाख किलोमा झरेको छ ।

बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष जम्मा ४ हजार रुपैयाँ मात्र खर्च भएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा १७ लाख ५४ हजार रुपैयाँ बराबरको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको कनिका आयात गरेर २२ करोड ७ लाख ६८ हजार रुपैयाँ खर्च गरिएको छ ।

राजस्व संकलनमा भने गिरावट आएको छ । गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा झरेको छ ।

मुख्य खाद्यान्नमा परनिर्भरताको दर बढ्दै गएसँगै मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि अर्थतन्त्रमा थप चुनौती थपिएको अर्थशास्त्रीहरूले बताएका छन् ।