© 2026
काठमाडौँ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गरिनेछ । उनले भने, समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको छ भने बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धित जिल्लामा नै खरिद हुने व्यवस्था गरिएको छ भने बाँकी १४ वटा सामाग्री माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गरी खण्ड–खण्ड गरेर ढुवानी गरिनेछ ।
भट्टराईले आयोगले गलत सूचना नियमन गर्न निरन्तर काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरालाई प्रभावकारी बनाउने काम भइरहेको पनि जानकारी दिए ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम पनि आयोगले तय गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १,३४८७ उम्मेदवारी दर्ता भइसकेको छ ।