Butwal Today

गगन– शून्यता कि पूर्णता ?

८ माघ २०८२, बिहीबार
अ+
अ-

हाम्रो पौरस्त्य परम्पराको ज्योतिष शास्त्रमा अङ्कहरूलाई चिनाउने क्रममा शब्दहरूलाई प्रयोग गरिएको हुन्छ ।

तर ती शब्दहरू अर्थपूर्ण रहेका हुन्छन् । जस्तै एकलाई चिनाउन पर्‍यो भने चन्द्र, त्यस्तै दुईलाई नेत्र, तीनलाई त्रिनेत्र इत्यादि प्रकारले चिनाइएजस्तै शून्यलाई चिनाउन पर्‍यो भने गगन शब्द आउँछ ।

अर्थात् गगन भनेको शून्य भन्ने हुन्छ । पौरस्त्य परम्परामा शून्यतालाई रिक्तताका साथसाथै पूर्णताको प्रतीक पनि मान्ने गरिएको छ । हो गणित गर्ने सिलसिलामा शून्य आउनु भनेको केही पनि नहुनु भन्ने पनि छ तर गणितको सुरुवातलाई हे¥यौ भने त्यही शून्य पछि नै एक हुने हो । शून्य राशि र नक्षत्रपछि नै मेष राशि र अश्विनी नक्षत्रको आरम्भ हुने हो ।

अझ दर्शनराज वेदान्तभित्र पस्यौँ भने त शून्य नै ब्रह्म हो । त्यही शून्यताभित्र नै चेतन छ । त्यो शून्यता नै पूर्ण ब्रह्म हो । त्यसैले त त्यो शून्यतारूपी ब्रह्मका बारेमा हाम्रा उपनिषद्हरूले यसरी गणितीय व्याख्या गरेका छन्– पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। अर्थात् त्योब्रह्म पनि पूर्ण छ ।

यो प्रकृति पनि पूर्ण छ । त्यो परमात्मा पनि पूर्ण छ । यो जीवात्मा पनि पूर्ण छ । त्यो ईश्वर पनि पूर्ण छ । यो जीव पनि पूर्ण छ । त्यो पूर्णबाट यो पूर्ण निकालियो या थपियो भने पनि पूर्णता मात्र रहने हो ।

अर्थात् शून्यमा शून्य जोड्दा वा घटाउँदा पनि शून्यता नै रहने हो । अब प्रसङ्ग तिरै लागौँ । माथिको शीर्षक र वर्तमान राजनैतिक परिस्थिति हेर्दा हजुरहरूले लगभग थाहा पनि पाइसक्नुभयो होला । लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसको महाधिवेशनले गगन थापाको सभापतित्वमा कार्यसमिति गठन गरेको छ ।

यस्तो विशेष अवस्थामा केही विवादसहित गठित नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन आयोग पनि मान्यता दिएपछि भने दोधारमा रहेका कार्यकर्ता पनि अब शेरबहादुरको पक्षबाट गगनकै पक्षमा लाग्ने देखिएको छ ।

अदालतमा नै यो विषय गइसकेको छ । अव नेपाली काङ्ग्रेसको विधान अनुसार नै गगनकै विजय हुने सम्भावना अत्यन्तै धेरै देखिएको छ । त्यसैले गगन आउन त अब आए तर उनी आउँदा हात्ती आयो हात्ती आयो फुस्सा चाहिँ नहोस् भन्नेमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू रहेका छन् । उनी पहिलेदेखि नै सबैका गगन दाइ थिए ।

नमस्कार या जय नेपाल भन्दा नमस्कार जय नेपाल । के छ भाइ या बहिनी भनी नमस्कार त गर्थे नै अनि हात पनि अगाडि सारिहाल्थे । आफू भन्दा ठुलाहरूलाई सधैँ सम्मान गर्थे ।

त्यसैले नै नेपाली काङ्ग्रेस भित्र मात्र नभएर सवैतिर प्रिय थिए । २०६२ अघिको राजाको शासनकालमा राज्यसत्ता विरुद्धको आन्दोलनमा विशेष सक्रिय उनी त्यतिखेरदेखि नै गणतन्त्रका पक्षपोषक मानिन्छन् । माओवादीले बन्दुकका भरमा गाउँ गाउँमा गणतन्त्रको नारा लगाएपनि सडकबाटै गणतन्त्रको नारा लगाउने पहिलो व्यक्ति नै यिनी मानिन्छन् ।

विश्वप्रकाश शर्मा र बद्री पाण्डेभन्दा कनिष्ठ नेता गगन थापा पार्टीमा मात्र नभएर अरू राजनैतिक संगठनका माझ पनि लोकप्रिय नै देखिन्छन् । स्वास्थ्य मन्त्री हुँदाको छोटो समयमा नै उनले गरेका कार्य सह्रानीय नै छन् ।

तर विशेषगरेर माओवादीसँगको गठबन्धन तोडाएर काङ्ग्रेसलाई एमालेसँग मिलेर बनेको सरकारले रवि लामिछानेलाई प्रतिशोधको नजरले हेर्यो भन्ने सिलसिलामा भने यिनी अलि धेरै नै आलोचित देखिए ।

यिनलाई विभिन्न आरोपमा खेद्नु खेदियो । कृतिपुरमा भनेको राम्रै कुरोलाई पनि तोडमोड पारेर यिनलाई अति धेरै आलोचना गर्ने काम भयो । तर पनि उनी त्यस किसिमका आलोचनालाई आलु र चना जस्ता मानी पचाएर नैराश्य नबनीकनै अगाडि बढिरहेका देखिन्छन् ।

हालको विशेष महाधिवेशनको प्रसङ्गमा उनका पार्टीका केही मान्छेहरूले गगन अलि चाँडै आत्तिए भन्ने खालको टिप्पणी गर्न पनि थालिसकेका छन् । उनीहरूको विचारमा गगनले ३ महिनापछि आउने महाधिवेशन मार्फत नै देउवालाई पनि ससम्मान बहिर्गमन गर्न सक्थे होला भन्ने उनीहरूको धारणा रहेको छ ।

हुन पनि उनका लागि चुनौती चाहिँ धेरै नै रहेका छन् । भरखर उदाउँदै गरेका पार्टीहरूसँग यिनले राम्रै सङ्घर्ष गर्नुपर्ने देखिन लागेको छ । बालेन र रविको गठबन्धन एवम् कुलमानको उज्यालो पार्टी नेपाल, हिन्दुत्वको राप्रपा आदि पार्टीहरू यिनका लागि चुनौती नै हुन् ।

यी विभिन्न कारणले गर्दा गगन फेरिँदैमा, हो काङ्ग्रेसबाट तितरबितर भएकाहरू फर्किएलान् तर नयाँमा आएको लहर परिवर्तन हुन अलि गाह्रै देखिन्छ । त्यसैले यस पटकलाई पुरानै आफ्ना अभिभावकहरूलाई नै हालीमुहाली गर्न दिई चुनावी परिणामपछि मात्र यसैको निहुँले अगाडि बढ्नुपर्थ्यो कि भन्ने विशेष शुभचिन्तकहरूको चिन्तनलाई पनि गलतै मान्नु चाहिँ पर्दैन ।

यस्तै खालका विषय विचार गर्दा पनि नयाँप्रतिको मानिसहरूको लहरलाई उनले अब कति थेग्न सक्दछन् भविष्यले नै बताउला ।

अब आयो हामी प्राज्ञिक वर्गले भन्न पर्ने कुरो । देशमा जो आए पनि भ्रष्टाचारमुक्त विकास होस् । किनकि लोकतन्त्र आएपछि विकास हुँदै भएन भन्ने चाहिँ होइन । विकास धेरै नै भयो । तर भ्रष्टाचार व्यापक भयो । जनतालाई अनावश्यक करको बोझ थपाई अनावश्यक महँगो सङ्घीयताले नेतालाई खाने बाटोको सिर्जना गरिएको छ ।

शान्तिका लागि विदेशीहरूले पनि हिन्दुत्वको वकालत गरिरहेका समयमा यहाँ हाम्रो देशमा यहाँका हिन्दु (वैदिक, बौद्ध र किराँत) हरूलाई नै असर गर्ने गरी कानुन बनाइएको छ । धर्म परिवर्तनलाई धार्मिक स्वतन्त्रताका नाममा झनै प्रश्रय दिइएको छ ।

दशकौँसम्म आशामा रहेका हाम्रा नेपाली मूलका भुटानीहरूलाई विदेश पलायन गराई यहाँ शरणार्थीहरूलाई नागरिकता दिइएको छ । त्यसको उदाहरणका रूपमा भरखरैका वीरगन्ज र नेपालगन्ज घटना हाम्रा लागि प्रत्यक्ष भएका छन् ।

दशकौँ सम्म जनयुद्धका नामको पीडा, अनि परिणाम क्रिस्तानमय शरणार्थीमय देश, अनि दुई दशकसम्म संक्रमणकालीन अवस्थाको सिर्जनाले देशको जनशक्ति विदेश पलायत, अब फेरि नाकानाकामा धर्मयुद्ध मार्फत के गराइने हो भन्ने त्रासमा जनता बाँच्न बाध्य भइरहेका छन् ।

त्यसैले पनि यहाँ शीर्षकको अभिप्राय नै यही हो कि गगनको अर्थ शून्यता र पूर्णता दुबै हुने रहेछ । शव शान्ति र शिव शान्ति दुबै हुने रहेछ । सधैँ निधारमा टिका लगाएर हिँड्ने गगनजी तपाइँले आफुले ल्याएको तन्त्र बचाउने भन्दा पनि त्यो तन्त्र अब नेपाल जोगाउनका लागि आवश्यक कि अनावश्यक यो सोँच्ने समय आएको छ ।

नेपाली काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी, त्यसको सभापतिका हैसियतले पनि तपाइँको काँधमा ठूलो जिम्मेवारी आएको छ । अब यही तन्त्रयुक्त संविधानलाई नै राखेर नेपालमा केही गर्छु भन्नु अत्यन्तै गलत हुन जान्छ ।

यहाँ एकजना स्थिर अभिभावक हुने तन्त्रका साथ संविधानमा व्यापक हेरफेर गर्नैपर्दछ भन्ने विचार हाम्रा देशका असल प्राज्ञिक वर्गलाई आइसकेको छ ।

यस विषयलाई चुनावी सभामा संबोधन गर्न सक्नुभएन भने तपाइँलाई जनताले पूर्णता हैन शून्यतातिर नै लैजाने छन् । देशमा मदर टेरेसाको जस्तो सेवा नभएर योगी नरहरिनाथको जस्तो सेवाको खाँचो रहेको छ ।

यही कार्यका लागि मंगलमय शुभकामना छ ।