Butwal Today

मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने

७ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

मौसमविद्हरूका अनुसार पर्सि शुक्रबारदेखि देशका केही भागमा वर्षा र चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको जानकारी दिएका छन् । पोखरेलका अनुसार काठमाडौँमा सामान्य वर्षा हुन सक्ने सम्भावना छ ।

मौसमविद् उज्ज्वल उपाध्यायले भनेका छन् कि भूमध्यसागरमा भइरहेको हलचलका कारण शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुन सक्नेछ । उहाँका अनुसार वर्षा प्रणाली गण्डकी प्रदेशसम्म पुग्नेछ भने बागमती प्रदेशमा सामान्य प्रभाव पर्नेछ । वर्षा र हिमपातले ठूलो विपद्को सम्भावना नरहेको मौसमविद्हरू

बताउँछन्, तर चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले शुक्रवारदेखि आइतवारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र पूर्वी भागसम्म हिउँदे वर्षा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन् । तर तराई क्षेत्रमा वर्षा नहुने र प्रणालीका बादलले हुस्सु हटाउने सम्भावना रहेको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले पनि निकालेको तीन दिनको पूर्वानुमानमा शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना उल्लेख गरिएको छ ।

यसपालि हिउँदमा खासै पानी पर्न सकेको छैन । वर्षा प्रणाली आए पनि मध्य र पूर्वी नेपालमा ठूलो वर्षाको सम्भावना कम रहेको छ । मौसमविद्हरूका अनुसार शुक्रवारदेखि केही दिन चिसो बढ्ने तर त्यसपछि घाम लागेर न्याना दिनहरू आउने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?