Butwal Today

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास

७ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी र्यालीमा आबेमाथि गोली प्रहार गरेका ४५ वर्षीय तेत्सुया यामागामीलाई साढे ३ वर्षपछि नारा शहरको अदालतले सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

यामागामीले २०२२ जुलाईमा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए । जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार भए पनि मुद्दा पूरै सुनुवाइ हुने व्यवस्था छ ।

जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि विशेषज्ञहरूले धेरै कैदीहरू जेलमै जीवन बिताउने गरेको बताएका छन् ।

अदालतबाहिर उपस्थित मानिसहरूले घटनाले जापानी समाजमा पारेको गहिरो प्रभावबारे प्रतिक्रिया जनाए । केहीले पीडित प्रति सहानुभूति व्यक्त गरे भने केहीले यामागामीको जीवन पृष्ठभूमि र उनका परिवारको परिस्थितिलाई समेत विचार गर्नुपर्ने माग राखेका थिए ।

जानकारीअनुसार यामागामीको परिवार र उनको आमाको चर्चमा समर्पण, र आबेको विवादास्पद चर्चसँगको सम्बन्धले उसमा द्वेष उत्पन्न भएको थियो ।

जापानमा बन्दुक नियन्त्रण कडा छ र बन्दुक हिंसा अत्यन्त दुर्लभ भएकाले यो घटनालाई गम्भीर चेतावनीको रूपमा लिइएको छ । घटनास्थलमा सुरक्षाकर्मीहरूले शुरूमा गोली चलेको बुझ्न नसक्दा उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?