© २०२३
काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३,४८६ उम्मेदवारमध्ये केवल ५ उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म प्रारम्भिक जानकारी अनुसार ५ उजुरी दर्ता भएका थिए ।
मनोनयनपत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने समय आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको थियो । उजुरीहरू सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ अनुसार दर्ता भएका हुन् ।
उक्त उजुरी निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिम दर्ता किताबमा लेखी, अनुसूची १८ अनुसार उजुरी कर्तालाई भरपाइसम्बन्धी सूचना दिएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार, उजुरी दर्ताको म्याद समाप्त भएपछि निर्वाचन अधिकृतले म्यादभित्र आएका उजुरीको विवरण अनुसूची १९ अनुसार तयार गरी कार्यालयमा प्रकाशन गरेका छन् । प्रकाशन गरिएका सूचनामा जसका विरुद्ध उजुरी परेको हो, उनीहरूले तोकिएको समयमा प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ ।
उक्त प्रक्रिया अनुसार, आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ तथा निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।
आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार ३,०८९ पुरुष, ३९६ महिला र १ तेस्रो लिङ्गी गरी कुल ३,४८६ उम्मेदवारको दर्ता भएको छ ।