© २०२३
बुटवल, ०७ माघ ।
दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ ।
पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
समापन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले मेला सफलतापूर्वक सम्पन्न भएको बताए ।’ १० करोडमाथिको कारोबार गर्दै मेला सम्पन्न भएको छ ।’
संयोजक खातीले भने, एक लाख बढी दर्शकले मेला अवलोकन अवलोकन गर्नुभएको छ भने अस्थायी रूपमा मेलाले ५ सय जनाको हाराहारीमा रोजगार सिर्जना गरेको तथ्याङ्क छ ।’
‘राष्ट्रिय स्वाधीनताको लागि अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक उद्योग व्यापार सङ्घ देवदहले जनाएको छ ।
महोत्सवको समापन समारोहमा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले विगतका दिनमा भन्दा मेलाको दायरा वृद्धि भएको र आयोजकले प्रभावकारी ढङ्गले समन्वय र सहकार्य गरेको बताइन् ।
उपप्रमुख गुरुङले आर्थिक परिचालन र स्थानीय उत्पादनको बजारीकरणमा मेलाले मह«वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । नगरपालिकाले सधैझैँ मेलालाई सहयोग गर्ने प्रतिबद्धता जनाउंदै उपप्रमुख गुरुङले महोत्सव देवदहको महत्त्वपूर्ण सम्पत्तिको रूपमा विकास भएको विचार व्यक्त गरिन् ।
मेलाको समापन समारोहमा उपसमिति संयोजक, सङ्घ–संस्था, सुरक्षाकर्मी, पत्रकार, प्रायोजक, स्टलधनी तथा देवदहवासीप्रति आभार व्यक्त गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो । १० वर्षअघि सुरु गरिएको देवदह महोत्सव विभिन्न चुनौती पार गर्दै दशौँ संस्करणसम्म आइपुगेको हो । महोत्सवले व्यापार र मनोरञ्जनसँगै देवदहलाई राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको छ ।
साथै, महोत्सवअन्तर्गत सञ्चालन हुने सिङ्गिङ तथा डान्सिङ आइडल कार्यक्रमबाट स्थानीय प्रतिभाहरू राष्ट्रिय स्तरका रियालिटी शोसम्म पुग्न सफल भएको आयोजकको भनाइ छ । देवदह नगरपालिका सह–आयोजक रहेको महोत्सवमा उद्योग व्यापार महासंघ काठमाडौँ, लुम्बिनी प्रदेश, देवदह उद्योग वाणिज्य सङ्घ, देवदह व्यापार सङ्घलगायत विभिन्न सङ्घ–संस्थाको सहकार्य रहेको थियो ।
यस वर्ष महोत्सवको मुख्य प्रायोजक सूर्य इन्डस्ट्रिज प्रालि रहेको थियो भने बैंक, बीमा, उद्योग, शिक्षा र सेवा क्षेत्रका दर्जनौँ संस्थाले सह–प्रायोजन गरेका थिए ।
तीन वटा व्यावसायिक सङ्घ संस्थाले आलोपालो महोत्सव सञ्चालन गर्ने कार्यलाई पछ्याउँदै ११औँ देवदह महोत्सव आयोजना गर्न उद्योग वाणिज्य सङ्घ देवदहलाई दियो हस्तान्तरण गरिएको छ ।
उद्योग वाणिज्य सङ्घ देवदहका अध्यक्ष हरी भण्डारी सहितको टिमलाई दियो हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।