© २०२३
पाल्पा, ६ माघ ।
सङ्घीय सरकारको स्पष्ट नीति र मापदण्ड हुँदाहुँदै पनि स्थानीय सरकारले त्यसको कार्यान्वयन नगर्दा पाल्पाको तानसेन नगरपालिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
खोला तथा वन क्षेत्रबाट कम्तीमा पाँच सय मिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने सरकारी मापदण्ड विपरीत तानसेन नगरपालिका भित्र पर्ने तिनाउ खोलामा खुलेआम क्रसर सञ्चालन भइरहँदा पनि नगरपालिका मौन बस्नुले ‘सेटिङ’ को आशङ्का बढाएको छ ।
सङ्घीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयले वडा नम्बर ९ मा डिलबहादुर मार्ग निर्माणको ठेक्का अर्घाखाँचीस्थित गोर्खा जयमाता जेभीलाई दिएको छ ।
सोही निर्माण कार्यको आडमा कम्पनीले तिनाउ खोलामै क्रसर प्लान्ट राखी खोलाबाटै बालुवा, गिट्टी र माटो उत्खनन गर्दै आएको स्थानीयको आरोप छ । अझ रोयल्टी नतिरी निर्माण सामग्री ओसार–पसार भइरहेको दाबी पनि गरिएको छ ।
तर यति गम्भीर गतिविधि भइरहँदा पनि नगरपालिकाका जिम्मेवार प्रतिनिधि बेखबर जस्तै देखिनुले प्रकरण झनै रहस्यमय बनेको छ ।
निर्माण कम्पनीले भने खोलामा राखिएको प्लान्ट निर्माण सामग्री सफा गर्नका लागि मात्र भएको दाबी गर्दै आएको छ ।
तर स्थानीयका अनुसार खोलाबाट उठाइएको माटोसहितको बालुवा सोझै सडकमा फिजारिँदा समेत सरोकारवाला निकाय मौन रहनुले प्रयोग भइरहेको सामग्रीको गुणस्तरमाथि प्रश्न उठेको छ । यसले निर्माणाधीन सडकको दीर्घकालीन टिकाउपनप्रति पनि आशङ्का पैदा गरेको छ ।
यस विषयमा बुटवल टुडेले जिज्ञासा राखेपछि नगरपालिकाको राजस्व शाखाका प्रमुख विष्णु पौडेलले नगर प्रहरी पठाएका थिए । तर निर्माण कम्पनीले ‘सफाइका लागि मात्र प्लान्ट राखिएको’ जवाफ दिएपछि नगर प्रहरी फर्किएको थियो ।
केही दिनअघि नगर प्रमुखसहितको टोलीले सो क्षेत्रको निरीक्षण गर्दा समेत कर्मचारीहरूले अवैध उत्खननबारे प्रश्न उठाएको एक नगर कर्मचारीले जानकारी दिए । तर यस प्रकरणमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।
उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले भने क्रसर सञ्चालनबारे अनभिज्ञता जनाउँदै नगर प्रमुखसँग समन्वय गरेर अघि बढ्ने प्रतिक्रिया दिइन् ।
स्थानीय दानबहादुर चिदी भन्छन्, “गुणस्तरहीन सामग्री प्रयोग र वातावरणीय मापदण्डको बेवास्ताले भविष्यमा ठुलो जोखिम निम्तिन सक्छ । त्यसको जिम्मेवारी कसले लिन्छ ?”
खोलामा भइरहेको अवैध उत्खनन र क्रसर सञ्चालनप्रति नगरपालिकाको मौनताले अब ‘अनदेखी’ कि ‘सेटिङ’ भन्ने प्रश्नलाई झनै तीव्र बनाएको छ ।