© २०२३
बुटवल। प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएपछि लुम्बिनी प्रदेश सभाका तीन जना सांसदले राजीनामा दिएका छन्।
प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले राजीनामा दिएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाले भने सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्। उनले प्रदेश सभा सचिवालयमा राजीनामाको जानकारी गराएका छैनन्।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सांसदले २ जना चौधरी र मास्कीले पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको जानकारी दिए। उनले भने-‘उहाँहरुको सनाखत समेत भइसकेको छ, भोलिसम्ममा हामीले सूचना टाँस गर्छौं।’ उनले बानियाले प्रदेश सभालाई सोमबार दिउसो ४ बजेसम्म जानकारी नगराएको बताए।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बाँनियाले आज सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत राजीनामाको घोषणा गरेका हुन्।
चौधरी यसअघि नाउपाबाट बर्दिया २ (२)बाट निर्वाचित भएका थिए। तर नाउपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित भएपछि उनी भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा लागेका थिए। उनी उज्यालो नेपाल पार्टीका महासचिव हुन्।
मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका छन्। बानिया राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन्।
मास्कीले तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए। उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।
चौधरीले यसअघि माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई हराउँदै विजयी भएका थिए। उनी पनि प्रदेश सभामा नाउपाबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका थिए।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा ३ जनाको राजीनामापछि प्रदेश सभा ८४ सदस्यीय भएको छ।