© २०२३
देश भन्नु केवल भूगोल होइन, नक्सामा कोरिएको सीमा होइन, देश भनेको सपना हो, सम्भावना हो र ती सम्भावनालाई बोकेर हिँड्ने पुस्ता युवा हो ।
तर विडम्बना के छ भने, आजको नेपालमा देशले युवाको काँध खोजिरहेको छ, तर राज्य व्यवस्थाले युवालाई देश छोड्ने धक्का दिइरहेको छ । हरेक चुनावमा युवाका नाम लिइन्छ ‘युवा नै परिवर्तनको शक्ति हो’ भन्ने नारा घन्काइन्छ।
भाषणमा युवा विकासको मेरुदण्ड बन्छन्, तर नीतिमा पुगेपछि युवाको स्थान कतै हुँदैन। शिक्षित, सीपयुक्त र ऊर्जा वान युवालाई देशभित्र अवसर दिनेभन्दा पनि विदेश पठाउने संरचना नै स्थापित भएको देखिन्छ । आज नेपालका युवालाई दुई वटा प्रश्नले घेरेको छ – पहिलो, “यहाँ बसेर भविष्य बनाइन्छ ?” दोस्रो, “नबने के गर्ने ?” यसको उत्तर न त शिक्षाले दिन सक्छ, न त अनुभवले ।
किनकि यहाँ मेहनतभन्दा पहुँच ठुलो छ, योग्यता भन्दा चिनाजानी प्रभावशाली छ र इमानदार सङ्घर्षभन्दा सिफारिस भारी छ । गाउँमा जन्मिएको एक युवा, जसले दिनको १३–१४ घण्टा पसिना बगाउँछ, नयाँ काम सुरु गर्छ, जोखिम उठाउँछ, उसलाई समाज प्रश्न गर्छ—“सरकारी जागिर छैन, कसरी चल्छ भविष्य ?” उसको मेहनतलाई सम्मान होइन, शङ्का गरिन्छ ।
तर त्यही युवा विदेश जान्छ भने उसलाई ‘सफल’ घोषणा गरिन्छ । यही सोच, यही मूल्याङ्कनले युवालाई निरुत्साहित बनाएको छ । देशभित्र श्रमलाई हेपिने, उद्यमलाई अस्थिर मानिने र सङ्घर्षलाई जोखिम ठानिने अवस्था बनेको छ ।
राज्यको संरचना पनि यही मानसिकतासँग मिलेर काम गरिरहेको छ । सरकारले हरेक वर्ष बेरोजगार युवाको तथ्याङ्क सार्वजनिक गर्छ तर समाधान एउटै हुन्छ विदेश रोजगारी । सीप प्रशिक्षण भनेको पनि अधिकांश अवस्थामा देशभित्र रोजगारी सिर्जना गर्न होइन, बाहिर पठाउन केन्द्रित छ । यसको अर्थ के हो भने, देशलाई युवाको शक्ति चाहिएको छ, तर त्यो शक्ति देशभित्र होइन रेमिटेन्सका रूपमा बाहिर ।
युवालाई दोष दिन सजिलो छ “देश छोडे”, “देशको माया गरेनन” भनेर तर प्रश्न उल्टो हुनुपर्छ देशले युवालाई के दियो ? राजनीतिक अस्थिरता, नीति परिवर्तन, भ्रष्टाचार, अनिश्चित भविष्य—यी सबै बीच युवाले देश रोज्ने आधार के हो ? देश निर्माणको इतिहास हेरौँ ।
जहाँ परिवर्तन आएको छ, त्यहाँ युवाले नेतृत्व गरेका छन् तर नेतृत्व गर्न वातावरण चाहिन्छ, भरोसा चाहिन्छ, सम्मान चाहिन्छ । आजको नेपालमा युवा नेतृत्वको कुरा गरिन्छ, तर निर्णय तहमा पुग्ने बित्तिकै युवालाई साइडलाइन गरिन्छ । यसको परिणाम आज हाम्रो आँखै अघि छ—खाली गाउँ, वृद्ध अभिभावक, बन्द स्कूल, र बाहिर जाने युवाको लामो लाइन ।
देश भित्र सम्भावना छ तर प्रणालीले त्यो सम्भावनालाई कुल्चिरहेको छ । देशलाई युवाको काँध चाहिन्छ भन्ने वाक्य केवल नारा हुन नहुने समय आइसकेको छ । यदि त्यो साँच्चै चाहिएको हो भने, युवालाई देशमा टिक्ने आधार दिनुपर्छ ।
इमानदार श्रमलाई सम्मान दिनुपर्छ । सीप र उद्यमलाई संरक्षण गर्नुपर्छ । राजनीतिक पहुँच नभए पनि भविष्य बनाउने सम्भावना सिर्जना गर्नुपर्छ । नत्र, भविष्यमा यही प्रश्न उठ्नेछ– देश त बाँच्यो, तर बनाउने युवा कहाँ गए ?