© २०२३
काठमाडौँ ।
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।
एक–बच्चा नीति अन्त्य भएको झन्डै एक दशक बितिसक्दा पनि जन्मदर बढ्न नसकेपछि चीनको जनसङ्ख्या सन् २०२५ मा एक अर्ब ३० करोड ४० लाख पुगेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै ३० लाखले कम हो । २०२५ मा जम्मा ७९ लाख २० हजार शिशु जन्मिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ लाख २० हजार अर्थात् झन्डै १७ प्रतिशतले कम हो ।
सन् २०२४ मा जन्मदर केही बढेजस्तो देखिए पनि त्यो दीर्घकालीन प्रवृत्ति नभएको संकेत गर्छ । चीनमा सन् २०२३ सम्म लगातार सात वर्ष जन्मदर घटेको थियो ।
धेरै परिवारले अत्यधिक प्रतिस्पर्धी सामाजिक संरचनामा बालबालिका हुर्काउने उच्च लागत र मानसिक दबावलाई मुख्य अवरोधका रूपमा उल्लेख गरेका छन् । यसमा पछिल्लो समयको आर्थिक मन्दीले थप बोझ थपेको छ, जसले धेरै परिवारलाई दैनिकी चलाउनै कठिन बनाएको खबरमा उल्लेख छ ।
एशियाका अन्य देशझैँ चीनले पनि तीव्र रूपमा घट्दो प्रजनन दरको समस्या भोगिरहेको छ ।
दशकौँसम्म एकभन्दा बढी सन्तान जन्माउन प्रतिबन्ध लगाएको चीनले सन् २०१५ मा नीति संशोधन गर्दै दुई बच्चाको अनुमति दिएको थियो । जनसाङ्ख्यिकीय दबाव अझ गहिरिँदै गएपछि सरकारले सन् २०२१ मा तीन बच्चासम्मको अनुमति दिएको थियो । तर यी नीतिगत परिवर्तनहरूले अपेक्षित परिणाम दिन सकेका छैनन् ।
सरकारले थप सन्तान जन्माउन प्रोत्साहनस्वरूप विभिन्न उपायहरू अघि सारेको छ । गएको जुलाईमा सरकारले प्रत्येक नवजात बालबालिकाका लागि झन्डै ५ सय अमेरिकी डलर नगद अनुदान दिने घोषणा गरेको थियो । जनवरी १ देखि कण्डमलगायत गर्भनिरोधक सामग्रीमा १३ प्रतिशत कर लागू भएको छ । यस्तै, बालबालिकाको हेरचाहमा छुट पनि दिइएको छ ।
चीनले विवाहसँग सम्बन्धित सेवाहरूमा पनि मूल्य अभिवृद्धि कर छुट दिएको छ । बुढ्यौली जनसङ्ख्याको समस्या सामना गर्न थालेपछि चीनले युवाहरूलाई विवाह गर्न र दम्पतीहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ ।
सन् २०२३ सम्म चीन विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश थियो, तर अहिले भारतले चीनलाई उछिनेर पहिलो स्थान ओगटेको छ । चीनका लागि घट्दो जनसङ्ख्या दीर्घकालीन आर्थिक, सामाजिक र श्रम बजारसम्बन्धी चुनौतीका रूपमा देखा परेको छ ।
युवा पपुलेशन रिसर्च इन्स्टिट्युटको सन् २०२४ को प्रतिवेदनअनुसार बच्चा हुर्काउने सबैभन्दा महँगो देशमध्ये चीन एक हो ।