© २०२३
वि.स. २०७२ मा संविधान बनेर देश सङ्घीय गणतान्त्रिक व्यवस्थामा गएपछि नेपालमा नौलो अभ्यास बन्दै गरेको प्रदेश अनि पहिलो निर्वाचित गणतान्त्रिक सरकार गठनको लागि थुप्रै सपनाहरू पालेर नागरिकले उत्साहप्रद ढङ्गले मतदान गरेका थिए ।
तर, चुनाव पछि प्रदेश र सङ्घीय सरकार चलाउनेहरूले देश र जनताप्रति गरेका घात, बेवास्ता, भ्रष्टाचार, मनोमानी, कानुनी शासनको उपहास जस्ता कुराले सङ्घीय व्यवस्थाको पहिलो ५ वर्षमै नागरिकहरूमा व्यवस्था प्रति नै एक किसिमको वितृष्णा उत्पन्न भएको थियो ।
तैपनि पहिलो अवधि सिकाईमा बित्यो र अबका दिनमा संघीयता र गणतन्त्रको असल अभ्यास हुनेछ भन्ने आशामा नागरिकले दोश्रो संसदीय निर्वाचनमा मतदान गरेका थिए ।
निर्वाचनले कुनैपनि दललाई एक्लै सरकार चलाउन पुग्ने बहुमत दिएन र सत्ताको फोहोरी खेलको आधार तयार भयो । चुनावमा गरेका बाचा र दलीय सिद्धान्तलाई कुल्चेर सत्ताको लागि जे पनि गर्न तयार हुने नेताहरूको व्यवहारले गर्दा पछिल्ला तिन वर्षमा नेपाली नागरिकहरूले जुन बेथिति देख्नुप¥यो, त्यसले गर्दा प्रदेश खारेजी र व्यवस्था नै परिवर्तनको लागि जनमत तयार भैरहेको महसुस धेरै नेपालीहरूले गरेकै हुन् ।
दलका नेतालाई खबरदारी गर्न र भ्रष्ट्राचार विरुद्धमा आवाज उठाउदा जेनजी आन्दोलन हुन पुग्यो । संविधान संसोधन गरेर अहिलेको संसदीय संरचना नै परिवर्तन गरेर देशलाई नयाँ दिशामा लैजानुपर्ने नयाँ पुस्ताको माग भएपनि यहि संविधान र व्यवस्थाबाट नै परिवर्तन खोज्ने अन्तरिम सरकारको कार्यदिशा अनुसार पृथक परिस्थितिमा सङ्घीय संसदको लागि चुनाव हुदैछ ।
दल र नेताहरूप्रति वितृष्णा बढिरहेको अवस्थामा चुनाव हुन लागेकोले अघिल्लो चुनावमा जत्तिपनि नागरिकहरूमा उत्साह छैन । राजनैतिक परिदृश्यहरू छिटोछिटो परिवर्तन भैरहेका छन्, अन्तर्राष्ट्रिय परिवेश पनि अनुमान भन्दा बाहिर छ ।
जेनजी आन्दोलनताका देखिएको फितलो सुरक्षा संयन्त्रले गर्दा नागरिकले सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन् । यस्तो अवस्थामा फागुन २१ मा चुनाव नहुने त हैन भन्ने आशंका कायमै रहेपनि दलहरू चुनावी दौडमा लागेकोले पक्कैपनि चुनाव हुनेछ । अनि, थुप्रै असन्तुष्टि हुदाहुदैपनि नागरिकहरूले भोट पनि हाल्नेछन् ।
नेपालका ठूला दलहरूले ल्याएको संघियता र गणतन्त्रको औचित्यतामा प्रश्न गर्नुपर्ने अवस्थामा अहिलेको समाज उभिएको छ । तरपनि अर्को ठुलो परिवर्तन नहुँदासम्म नेपाली नागरिकहरूले यहि ब्यवस्थालाई व्यवस्थित बनाउन र यसै व्यवस्थाबाट सुशासन र समृद्धि ल्याउनको लागि भोट हालिरहनु पर्नेछ ।
व्यवस्थाप्रति असहमति राख्दै व्यवस्था परिवर्तन गर्ने चाहाना राख्नेहरूले पनि आफ्नो पक्षीय मान्छेलाई संसदमा पु¥याउनको लागि पनि निर्वाचनमा भाग लिनुपर्ने बाध्यता छ । त्यसैले नेपालमा अहिले यो व्यवस्था सर्वश्रेष्ठ छ भन्नेहरू र यो व्यवस्था ठिक छैन भन्ने दुबैथरी मानिसहरू चुनावी प्रतिष्प्रर्धामा हुनेछन् । नागरिक समुहहरू पनि अहिले यिनै दुई कित्तामा विभाजित छन् ।
यस्तो अवस्थामा आम निर्वाचनमा नागरिकहरूको सहभागिता र छनौट विगतमा भन्दा बढी महत्वपूर्ण हुने निश्चित छ । चुनाव मुखैमा अईसकेकोले प्रत्येक देशको अधिकतम कल्याण गर्न सक्ने योग्य उम्मेदवारले चुनाव जिताउने दायित्व मतदाताको हो ।यो दायित्व पुरा गर्नको लागि निम्न तिन पक्षमा सतर्कता अपनाउनु जरुरि छ ।
राम्रो उम्मेदवारको निर्धारणः
धेरै मतदाताहरू दलका भक्तहरू छन् । अरूबेलामा दल र नेताहरूले केहि गरेनन, नेताहरू खराब भए, व्यवस्था नै ठिक भएन भन्दै चिच्याउनेहरू अहिले दलका उनै व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ र जिताउन पर्छ भन्न्दै मरिहत्ते गरेर लागेका छन् ।
प्रजातान्त्रिक र दलीय सस्कार राम्ररी विकास नभएको अवस्थामा दलले उठाएका उम्मेखवारलाई राम्रो ठान्नु र उसलाई भोट दिनुपर्छ भन्ने ठान्नु स्वाभाविक पनि हो । कार्यकर्ताले दलका खराब व्यवहार र खराब मान्छेलाई सबक नसिकाउने हो भने नेपालको आर्थिक सामाजिक अवस्था कहिल्यै सुधार हुनेवाला छैन । अहिले नेपाल जटिल आर्थिक, सामाजिक र राजनीतिक मोडमा छ ।
यस्तो अवस्थामा सबै दलका नेता कार्यकर्ताले आफ्नो दललाई योग्य व्यक्तिलाई उम्मेदवार बनाउन दबाव दिनुपर्छ र दलीय चस्माले उम्मेदवारलाई नहेरी देशको भविस्यको दृष्टिबाट उम्मेदवारलाई हेरेर को सहि? को गलत? भन्ने कुराको विश्लेषण गर्नुपर्छ ।
सकेसम्म आफ्नो आस्था भएको दलमा राम्रो उम्मेदवार आउछ भने उसैलाई भोट दिनुपर्छ । तर, दलले उठाएका उम्मेदवारको विगतको व्यवहार र क्षमता समाज र सुशासनमैत्री छैन भने अरू उम्मेदवारलाई भोट दिने हिम्मत पनि गर्नुपर्छ ।
यसो गर्दा एकपटक आफ्नो दलले नजित्ला तर आउँदा दिनमा योग्य व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने रहेछ भन्ने चेत खुल्नेछ । राम्रो उम्मेदवार जुनसुकै उमेर समूह, वर्ग, जातीय र भौगिलिक समुह तथा विभिन्न दलमा हुन् सक्छन् ।
यी मध्ये कुनलाई राम्रो भनेर छान्नु सजिलो काम पक्कैपनि हैन । अर्काले बनाईदिएको राम्रो उम्मेदवारको मानक आफुलाई चित्त नबुझ्न पनि सक्छ । त्यसैले राम्रो मान्छे हो कि हैन भन्ने कुराको प्रश्न आफैले आफुलाई धेरैपटक गर्नुपर्छ ।
सकेसम्म निर्वाचन क्षेत्रकै स्थायी वासिन्दा, सामाजिक, शैक्षिक, पर्यावरण संरक्षण जस्ता कुनै काममा संलग्न भएको, विगतमा कुनै पदमा निर्वाचित वा मनोनित भएको भए सो पदमा बस्दा उसले गरेको कामको समेत मुल्यांकन गर्नुपर्छ । कुनै देखिने ब्यापार व्यवसाय वा पेशामा संलग्न नभएपनि उच्चस्तरको जीवनयापन गरिरहेको व्यक्तिमा कुनै न कुनै खोट छ भन्ने अनुमान गर्नुपर्छ ।
आफ्नो सिद्धान्तप्रति अविचलित, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रकृति संरक्षणप्रति प्रतिवद्ध, धरातलीय र वस्तुगत योजनाहरू पस्केको र विगतमा ति कामहरू गर्न तत्परता देखाएको वा देखाउने सम्भावना भएका व्यक्तिमा असल उम्मेदवारका गुणहरू हुन्छन् । चुनावमा भोट हाल्न जानु केहि दिन अघि नै यी कुराको विश्लेषण गर्दै , अरूको राय समेत बुझी भोट हाल्ने व्यक्ति निश्चित गर्नुपर्छ ।
निर्वाचनमा उच्च सहभागिताः
भनिन्छ– “असल मतदाताले चुनावमा सभागिता नजनाउँदा खराब उम्मेदवारले चुनाव जित्छन र असल मानिसहरू माथि शासन चलाईरहन्छ्न् ।” अहिलेको व्यवस्था अनुसार जतिसुकै कम भोट ल्याएपनि प्रतिद्वन्दीले भन्दा एकभोट बढी ल्याउनेले चुनाव जित्छन् । त्यसैले उम्मेदवार चिन्न सक्ने मानिस मतदान गर्न नजादा दलहरूलाई दुःख लाग्दैन ।
‘गतिलो उम्मेदवार नै छैन, कसले जितेर के हुन्छ ? भन्ने सोच्ने तटस्थ मतदाताको कारण दलहरूले निर्वाचनमा कुकुर नै खडा गरेपनि दलका कार्यकर्ताहरूले जिताएर पठाउने अवस्था छ । जनताको व्यवस्था भनिएपनि २५ देखि ४० प्रतिशतसम्म मतदाताहरूले चुनावमा भोट नखसालेको विगतको निर्वाचनले देखाएको छ ।
पहिलो सङ्घीय चुनावमा नेपालमा प्रतिनिधिसभा तर्फ ६८.६७ प्रतिशत मात्र मत खसेको थियो भने २०७९ को चुनावमा ६१.८५ प्रतिशत मात्र मत खसेको थियो । समाजलाई बुझेका र उम्मेदवारलाई प्रश्न गर्न सक्ने व्यक्तिहरूले बढी भन्दा बढी चुनावमा सहभागी भएर “ हाम्रो हैन, राम्रो मान्छेलाई मतदान“ गर्ने हो भने दलका अन्धभक्त, मासु र पैसामा बिकेकाहरूको भोट निर्णायक हुन पाउदैन र प्रतिनिधि सभा र सङ्घीय सरकारमा असल र योग्य मानिस पुग्न पाउनेछन् ।
बदर मतसंख्यामा न्यूनीकरणः
मत बदर नेपालको चुनावको ठुलो समस्या हो । २०७४ सालको निर्वाचनमा नेपालमा खसेका कूल मतहरू मध्ये ५.१७८ प्रतिशत अर्थात ५ लाख ४८ हजार ५७० मत बदर भएका थिए भने २०७९ को निर्वाचनमा कूल खसेको मतको ५.०६ प्रतिशत अर्थात ५,५९,७६१ मत बदर भएका थिए . उत्साहपूर्वक मतदानमा सरिक भएका यति धेरै नागरिकमा मतहरू खेर जानुबाट पनि असल उम्मेदवार चुनिनमा बाधा पुगेको हुन्छ ।
पहिलेका चुनावमा दल र उनीहरूका उम्मेद्वारहरू निस्चित भएकाले मतदातालाई चुनाव चिन्ह सम्झे पुग्थ्यो. तर २०७९ को चुनावमा जस्तै अहिलेपनि दलीय गठबन्धन हुने सम्भावना रहेकोले कुन दलको उम्मेदवार कुन हो ? कुन उम्मेदवारले प्रदेश वा प्रतिनिधिसभा मध्ये कुनमा भोट मागेको छ भन्ने कुरा बुझ्न नै गैह्र राजनैतिक मान्छेलाई गाह्रो हुनेछ । खासगरि पाका पुस्ता र राजनीतिमा खासै चासो नराख्ने सामान्य मतदान झुक्किने र रोजेको भन्दा फरक उम्मेदवारको मतचिन्हमा छाप लगाउने सम्भावना धेरै छ ।
अहिले युवाहरूले नो भोटको माग गरिरहेकोले यदि आफुले योग्य ठानेका व्यक्ति उम्मेदवार नरहेका मतपत्र बिगारेर मतदान गर्ने सम्भावना छ । यसले बदर मतको संख्या पक्कैपनि बढाउनेछ । त्यसैले सचेत नागरिकले आफ्नो क्षेत्रबाट राम्रो मान्छे उम्मेदवार भएको छ भने उसलाई जानुपर्ने भोट बदर नहोस भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । अहिले हुन थालेको चुनाव देशको भविष्य कस्तो बनाउने भन्ने छनौट गर्ने अवसर हो ।
नियमित प्रक्रिया अनुसार चुनाव अर्को ५ वर्षमा फेरी पनि आउनेछ, तर अहिले हामीले योग्य व्यक्तिलाई छनौट गर्न सकेनौ भने १-२ वर्षमै धेरै कुरा गुमाईसकेका हुनेछौ. । व्यवस्था परिवर्तनको नाममा, देशमा समृद्धि र सुशासन ल्याउने नाममा अहिलेसम्म पटकपटक आन्दोलन गरिरहनु परेको छ, ठुलो धनजनको क्षति बेहोर्नु परिरहेको छ । देशले सधै आन्दोलन र विद्रोह थेग्न सक्दैन ।
चुनावको बेलामा आफ्नो दल वा आफ्नो मान्छे भन्दै खराब व्यक्तिलाई संसद र सरकारमा पुग्ने बाटो तयार गरिदिने अनि त्यसपछ्किा समयमा नेताहरूले गर्दा देश बिग्रियो भन्दै चिच्याउनु र आन्दोलन गर्नुको अर्थ रहदैन ।
हामी मतदाताहरू उम्मेदवार छनौटदेखि मतदानको दिनसम्म सचेत हुने हो भने सकेसम्म असल मान्छे र त्यो नभएमा खराबहरू मध्ये पनि कम खराब मान्छेले हामीमाथि र हाम्रो लागी शासन गर्न पाउनेछ । यसो हुन सकेमा मात्र देशमा सुशासन अनि समृद्धिको आधार तयार हुन सक्नेछन् ।