© २०२३
बुटवल। रुपन्देहीमा नेकपा एमालेले सबै उम्मेदवारको टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले यसअघि निर्वाचन क्षेत्र नम्बर ३ र ५ मा वासुदेव घिमिरे र खिमलाल भट्टराईलाई टिकट दिएपनि अरु क्षेत्रमा टुंगो लगाएको थिएन।
एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पाल्पा २ बाट टिकटको टुंगो लगाएपछि रुपन्देहीमा असन्तुष्टि देखिएको थियो। एमालेले आइतबार पाल्पा २ मा पौडेललाई पठाउने निर्णय फिर्ता लिँदै रुपन्देही २ मा टिकट दिएको लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले जानकारी दिइन्।
योसँगै रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ। रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता ठठेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा टिकट पाएका न्यौपाने अघिल्लो कार्यकालमा लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य थिए भने पौडेल पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष हुन्। यस्तै घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको मेयर र विघटित प्रतिनिधि सभा सदस्य थिए। उनले रुपन्देही ५ बाट प्रत्यक्षमा निर्वाचन जितेका थिए। रुपन्देही ४ मा टिकट पाएकी ठठेर यसअघिको प्रदेश सभा सदस्यमा समानुपातिकबाट सांसद थिइन् भने ५ मा टिकट पाएका भट्टराई राष्ट्रिय सभा सदस्य थिए।