© २०२३
पाल्पाको तल्लो डुम्रेमा पुग्दा बिहानको पौने आठ बज्दै थियो । त्यहाँ ईभीको खाजा स्टेसन रहेछ ।
सुख्खा रोटीसँग मटरको झोल दाबें । साथी युवराज घिमिरे र मलाई पाल्पा,रामपुरको भुजात गुरुङ पुग्नु थियो । पौने १० बज्दै गर्दा भुजात नजिककैको जानकी आधारभूत विद्यालयमा ओर्लियौं ।
हामीलाई लिन आउने भनेका यमबहादुर गुरुङ हाइवेमा नआइसकेका कारण पैदलयात्रा उकालियौं । भाइसँगै मोटर साइकिलमा आएका यमबहादुर बाटोमा भेटिए । यमबहादुरसँगै हामी मोटर साइकिल छाडेर पैदल एक नम्बरमा गाउँतिर उक्लियौं ।

हामीलाई नै हेरेजस्तो ……….
भुजात गुरुङगाउँमा होमस्टे सञ्चालन, सम्भाव्यतासम्बन्धि अध्ययन र प्रिजेन्टेसन गर्नु थियो हामीले । यमबहादुरले गोरेटो बाटो हिडाले । कतै हिलो थियो बाटो,कतै तेर्सो अनि कतै उकालो । उकालोमा फोक्सो फुल्लियो ।
इएर लियो शरीरले । यमबहादुरको माईजूकहाँ शरीर बिसाइयो । तातोपानी गिलासभर पिएपछि शरीरमा छुट्टै स्फूर्ति मिल्यो । केहीबेर सोही ठाउँबाट नागबेली कालीगण्डकी हेरियो । होमस्टे सञ्चालन गर्न मिल्छ कि नाइँ भनेर माइजूको घर भित्रबाहिर आँखा डुलाइयो ।
फोटो खिचियो । अगेनामा ओदान,ओदानमा किट्ली बसालिएको थियो । गाउँले परिवेश,मनोरम लाग्यो । गुन्द्रीमा बसेर सानीनानीले गृहकार्य गर्दैथिइन् । बारीका पाटामा रहेका सुन्तला,कागतीका बोटहरुले हामीलाई नै हेरेजस्तै लाग्ने ।
गाउँमा १० घरहरु गुरुङ जातिका रहेछन् । तीमध्ये दुई घर बसाइसराइँ सरेछन् । बाँकी आठ घरहरु र साँधमा रहेका चार घर मगरजातिलाई जोडेर होमस्टे चलाउने योजना रामपुर नगरपालिका वडा नं.८ ले गरेको रहेछ ।
त्यसका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने सोच बनाएको वडासचिव बासुदेव ढकालले बताउँदै थिए । उनकै निम्तो र अनुरोधमा हामी यता आइपुगेका थियौं । गाउँ पुग्न सिमेन्टेड सिंढीहरु बन्दै गरेका रहेछन् ।
पानीको अस्थायी व्यवस्थापन भएपनि यसवर्ष दुई लाख रुपैयाँले पानीलाई थप व्यवस्थापन गर्ने कुरा यमबहादुरले सुनाए । युवराज र मैले फोटो खिच्ने, भौतिक संरचना हेर्ने र होमस्टे सञ्चालनका लागि आवश्यक पक्षहरुका बारेमा कुराकानी गर्दै यमबहादुरलाई साथमा लिएर अघि बढिरह्यौं
गाउँमै तमू समाजको हल रहेछ । गाउँका मानिसहरु जम्मा हुने साझा हलले सुन्दरता थपेको मानियो ।
एकैछिन त्यहाँको वरिपरि घुमियो । पानी र विजुलीको प्रवन्ध गर्न सके उत्तम हुने मानियो । होमस्टे सञ्चालन भएमा यहाँ आउने पर्यटकहरुलाई स्वागत गर्ने,खाना खुवाउने र सांस्कृतिक कार्यक्रम गर्नका लागि तमू समाजको हल उपयुक्त हुने मानियो ।
छेउमै पीपलपाटा सामुदायिक वनले एउटा सिमेन्टेड चौपारी बनाएको रहेछ । बरु ढुंगा चिनेर बनाएको भए कति उत्तम हुने थियो झैं लाग्यो ।

नागबेली कालीगण्डकी हेरेपछि…………….
त्यहाँबाट उकालियौं । स्याँस्याँ गरायो,उकालोले । तैपनि त्यहाँबाट देखिने स्याङ्जाको चापाकोट, पाल्पाकै रामपुर अनि नागबेली कालीगण्डकी नदीले थकाईलाई बिर्साइ दियो । मनै रमायो । कालीगण्डकी कोरीडोरको तल्लो भुजातबाट उक्लिएको आधाघण्टामा नै स्वर्गीय आनन्द मिल्यो ।
गाउँको टुप्पामा पुगेपछि यमबहादुरले हामीलाई आफ्नो घरमा पुराए । बाबा शेरबहादुरसँग भेटाए । ठूलो परिवार रहेछ उनको । मिठ्ठो चिया पिलाए । आमाले स्वागत गरिन् । माला समेत लगाइयो । केहीबेरमा वडासचिव बासुदेव आफ्नो साथीसँग आइपुगे । सँगै फोटो खिचियो ।
युवराजले फेसबुकमा फोटो पोष्ट्याए । पुष महिनाको पारिलो घाममा बसेर स्वादिलो सिकारसँगै खाना खानुको स्वादै बेग्लै । अरु के बयान गर्नु र ? स्वागत,सत्कारले समेत खानालाई झनै मिठो बनायो ।
दिउँसोको एक बज्दै गर्दा हामी झेरुछाप गाउँका लागि स्कूटीमा उक्लियौं । बाटोमा बाघडाँडामा बन्न सक्ने ग्रीनपार्कका बारेमा सल्लाह ग¥यौं । मचान बनाएर उत्तरतिरका हिमश्रृङ्खलाहरुलाई हेर्दा अतिनै सुन्दर देखिने छ । स्याङ्जाको चापाकोट,दामाचौर र रामपुरफाँटलाई आँखैमा सजाउन सकिने रहेछ । यो स्थानबाट देखिने सबै ठाउँहरु भू–स्वर्ग लाग्यो ।
झेरुछाप गाउँमा पुगियो । सबै मगरजातिको बसोबास रहेछ । झुरुप्पै घरहरु । थाप्लाको गाउँ रहेछ । त्यहाँबाट हेर्दा त झन् राम्रा दृश्यहरु देखिए । गाउँमा करीव ४० घरहरु भएपनि बुढापाकाहरु धेरै देखिन्थे । सहर पसेका बुहारीहरु,नातीनतिना,परदेश पसेका छोराहरुलाई सम्झेर पिंढी कुर्ने बुढाबुढीहरुले गाउँको इतिहासलाई जोगाउँदै रहेछन् ।
लालुपाते रातै फुलेका । घरहरु चिटिक्क, बार्दलीसहितको । हाम्रा गाउँहरुका प्रतिनिधि गाउँ नै झेरुछाप लाग्यो । फर्केर आइयो । चिया पिइयो । यमबहादुरको घरमा फेरि । उनको गाउँमा मकै,कोदो फल्दो रहेछ । भिरालो जमिन भएकाले धानखेती नहुँदो रहेछ ।
आँप,नास्पाति,कटहर,सुन्तला मनग्यै फल्दोरहेछ । बेसार,पिंडालु,अदुवाले गाउँलेहरुलाई धानेको समेत थाहा पाइयो । कलात्मक तरिकाले करेसाबारी सजाइएको रहेछ । बाख्रा,भैसीपालनका लागि उत्तम ठाउँ रहेछ ।
यमबहादुर पनि आफू परदेश पुगेर फर्केका २६ वर्षीय युवा रहेछन् । ६ भाइमध्येका कान्छा रहेछन् । उनका दाजुहरु कोही नेपालमा र कोही परदेशमै रहेछन् । यो गाउँका प्रत्येक घरबाट कम्तिमा एकजना परदेश गएकै रहेछन् ।
मनै चसक्क ………………….
युवराज र मैले गाउँको सेरोफेरो बुझ्यौं । भूगोल र भावना जान्ने चेष्टा ग¥यौं । गाउँका समृद्धिका आधारहरु केलायौं । भेटिएका जतिसँग गाउँका कुरा ग¥यौं । यमबहादुरका बाजे,उक्त गाउँमा लमजुङबाट आएका रहेछन् ।
बाबा शेरबहादुरसँग भलाकुसारी गरियो । डोको,डालो,नाम्लो बुन्ने सीप रहेछ उनीसँग तर अचेल उनले ती काम गर्न छाडेछन् । सीप मर्ने कुराले मनै चसक्कै भो ।
हामी यमबहादुरसँगै भुजातमा रहेको वडा नं.८ को कार्यालयमा पुगियो । मैले वडाध्यक्ष दिनेश आचार्यलाई ‘उद्यान दर्पण’ उपहार दिएँ । त्रिलोचन अधिकारी,सुभाष अधिकारी,बासुदेवलगायतका साथीहरुसँग होमस्टेका बारेमा केही कुरा बुझ्यौं ।
आफूहरुको होमस्टे सञ्चालनमा उत्कट इच्छा भएको तर आइडिया नभएको कुरा सुनाए वडाध्यक्षले । हामीलाई चाहिने आवश्यक तथ्यांकहरु संकलन गरियो । त्रिलोचन र सुवास सरसँग उनीहरुका घर,सिद्धबाबा मन्दिर,क्रिकेट पीच, कालीगण्डकी पैदलमार्ग हेरेर रामपुर बजार नजिकै रहेको आस्था इनमा खाजा खान पुगियो ।
विहान तालपोखरामा ………….
नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकोटा,स्थानीय समाजसेवी फणेश्वर गौतमसँगै बसेर तातोतातो थुक्पा खायौं ।
बर्खि बारेका कारण बासुदेव भोकै परे । हामीलाई होटल व्यवस्थापन गर्दै थिए बासुले तर युवराजको आफन्तीकहाँ बस्ने सल्लाह भो । हुन त बासु र सागरले आआफ्ना घरमा बसौं भनेका थिए तर हामी युवराजको आफन्तीकहाँ पाहुना लागियो ।
हामी दुई जना, राति एघार बजेसम्म ‘रामपुर भुजात गुरुङगाउँमा होमस्टे सञ्चालन,सम्भाव्यता र अन्तत्र्रिmया’का लागि आवश्यक छलफल गरी स्लाइड बनाउन थाल्यौं । बाँकी काम विहानै उठेर पूरा गरियो । चिया पिएर बेझाड बजार पुगियो । तन्नेरी भाइ सन्देश ढकालकहाँ पुगियो ।
उनका बाबा बेचन र आमाले स्वागतका साथ चिया पिलाए । सन्देशको मोटरमा तालपोखरा पुगियो । त्यही भेटिए वडा नं.६ का वडाध्यक्ष दिवाकर देवकोटा र नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेसमेत । साथमा बासुदेव र सागर थिए ।
पर्यटन प्रवद्र्धनका लागि रामपुरमा वृहत् कार्यकार्यक्रम गर्ने सहमतिका साथ तालपोखरामा फोटो खिचेर बिदा भइयो । बाघको ढाँड र बुद्ध उद्यान हेरेर सन्देशकहाँ गाँस हाल्न पुगियो । स्वादिलो खानाले मुखै रसायो । पेट डम्मै भो ।
चिया,कोदोरोटी,ट्वाक्कको अचार………..
पृथ्वी टीभीमा उद्यानसम्बन्धि विषयमा केन्द्रीत रहेर अन्तर्वार्ता कृष्ण पौडेललाई दिइयो ।
गल्धाली होटलमा युवराजका आफन्ती भेट्यौं । रामपुरमा पुगेपछि रमालाई भेटियो । आफूले पढाएको विद्यार्थी शान्ति राउतलाई रामपुर बजारको ए टू जेड मोबाईल सेन्टरमा भेट्यौं । उनका श्रीमान शनि पाण्डेय र शान्तिले प्रविधिमैत्री व्यापार गरेको देख्दा खुसी लाग्यो ।
कोेदोको रोटी,स्वादिलो अचार र चियाले पेटै अघायो । स्नेहपूर्ण स्वागत र सम्मानसहितको खाजाले शान्तिको परिवारलाई बिर्सिन गारो बनायो ।
साँझ ७ वजेदेखि भुजात गुरुङगाउँमा होमस्टेका बारेमा मैले र युवराजले प्रिजेन्टेसन गरियो ।
रामपुर नपाका प्रमुख प्रशासकीय अघिकृत पण्डित,प्रमुख अतिथि भए । वडाध्यक्षले आफ्नो गाउँमा होमस्टे सञ्चालन गर्ने रहर पूरा हुने कुरा स्वागत गर्ने बेला बताए । प्रमुख अतिथि सूर्यदर्शन पण्डितले आफ्नो पालिकाले होमस्टेलाई सक्दो सहयोग गर्ने र होमस्टे सञ्चालन भएमा पालिकाको नै गौरव बढ्ने बताएका थिए ।
पत्रकार महासंघ,पाल्पाकी उपसभापति बन्दना पोखरेलले भुजात गुरुङगाउँमा होमस्टे सञ्चालन भएमा व्यापक रुपले प्रचारप्रसार गर्ने,आफ्ना कार्यक्रमहरु समेत यही सञ्चालन गर्ने बताइन् । स्थानीय समाजसेवी फणेश्वर गौतमले गुरुङजातिलाई संरक्षण र गाउँमै बस्ने वातावरण गर्न होमस्टे जरुरी रहेको सुनाए ।
होमस्टे सम्भव छ तर प्रतिवद्धताको खाँचो …………
बाटो,बिजुली,पानी,सुरक्षा,सेवा,सुविधा,सांस्कृतिक कार्यक्रम र रैथाने खाना तथा उच्च स्वागत,सत्कार गर्ने संस्कार रहेको भुजात गुरुङगाउँमा होमस्टेको प्रचुर सम्भावना रहेतापनि स्थानीयहरुको रुची अनि प्रतिवद्धता पहिलो सर्त हुने र दोस्रो कुरा वडा र नगरपालिकाले अत्यावश्यक भौतिक पूर्वाधार तयार गर्ने संकल्प भएमा यसै आर्थिक वर्षभित्र होमस्टे सञ्चालन हुन सक्ने हामी दुबै प्रस्तोताको ठहर रहेको सुनायौं ।
औपचारिक कार्यक्रम समापनपछि रमाइलो सांस्कृतिक कार्यक्रम भो । खानपिनपछि रामपुर सन्देशकहाँ बास बस्न पुगियो । यसपालि बासुदेवको पिंढीको पाहुना बनेर दूध पिउन पाइएन । सागर देवकोटाको घरमा पाहुना बन्न सकिएन ।
रामपुरबाट बुधवार विहानै बेचन ढकालसँगै जीपमा फर्कियौं । बुटवल आउँदा रामपुर भुजात गुरुङ गाउँको अपार माया बोकेर आइयो । ती गाउँका भाइबहिनीको स्नेहपूर्ण स्वागत,जिभ्रोमा नै झुण्डिने खाना,मनोरम तथा हरियाली गाउँ,शालीन सांस्कृतिक कार्यक्रमलाई आँखामा सजाएर,मनमा पोको पारेर फर्कियौं । फेरि कहिले फर्किने होला,भुजात गुरुङगाउँमा !