© २०२३
बुटवल। नेकपा (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये २ निर्वाचन क्षेत्रका उमेदवार टुंग्याएको छ। शनिबार (माघ ३) बसेको सचिवालय बैठकले उमेदवारको टुंगो लगाएको हो ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा वासुदेव घिमिरेले टिकट पाएका छन् भने क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराइले टिकट पाएका छन्। अरु क्षेत्रमा भने एमालेले अध्यक्षले टुंगो लगाउने भनेर खाली राखेको छ। रुपन्देही ३ मा टिकट पाएका घिमिरे यसअघि रुपन्देही ५ बाट निर्वाचन जितेका थिए। केही हप्ताअघि पार्टीबाट राजीनामा दिएको घोषणा गरेपनि उनी पुन: पार्टीमै फर्किएका थिए।
निर्वाचन क्षेत्र नम्बर ५ बाट टिकट पाएका भट्टराइ यसअघि सोही क्षेत्रमै टिकट पाएपनि घिमिरे र भट्टराईको टिकटका बारेमा विवाद भएको थियो। निर्वाचन आयोगमा घिमिरेले उम्मेदवारी दर्ता गरिसकेकोले भट्टराईको उम्मेदवारी दर्ता भएको थिएन। पार्टीले दुईजनालाई टिकट दिएपछि यी दुई नेताका बीचमा विवाद भएको हो। त्यसपछि भट्टराई राष्ट्रिय सभा सदस्य बनेका थिए।
एमालेले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधि सभा उम्मेदवार टुंगो लगाउँदा केही निर्वाचन क्षेत्रहरु भने अझैपनि खाली राखेको छ। अध्यक्षले टुंगाउने र महासचिवको इच्छा बुझेर टुंगाउने भन्दै एमालेले रुपन्देही १ र २, दाङ १ र २, कपिलवस्तु २, बाँके २ र रुकुम पूर्व खाली राखेको छ।