© २०२३
बुटवल । बुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने भएको छ। भवनको ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवसको अवसरमा शिलान्यास गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भवनको शिलान्यास गरे।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलले शिक्षामा २६ प्रतिशत लगानी गरेको बताए । उनले नियमित रुपमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवस्यक कार्यहरु गर्दै आएको दाबी गरे। विद्यालयको भवन बनाउनको लागि जग्गा भएपनि ६ पटक कार्यपालिका बैठक बसेर ४ पटकसम्म डेलिगेशन गएपछि मात्रै जग्गा प्राप्ति भएर शिलान्यास गर्न सम्भव भएको बताए।
उनले बुटवलको मात्रै नभई लुम्बिनी प्रदेशकै अब्बल सामुदायिक विद्यालयको नाम आउदा नयाँगाउँ माविको नाम अग्रपंक्तिमै आउने अवस्था आएको बताए।
उनले अहिले सम्म विद्यालयको सुधारका लागि कामहरु गर्दै आएको बताएका थिए। नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले नेपाल र भारत मित्रराष्ट्र रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तरगत भवन निर्माणमा सहयोगी बनेको बताए।
अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलले नयाँगाउँ माविको चर्चा अर्घाखाँची सम्म रहेको बताए। बुटवल उपमहानगर उपप्रमुख साबित्रादेबी अर्यालले शिक्षाको क्षेत्रमा बुटवलले धेरै लगानी गर्दै आएको बताइन।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार गरेको बताए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले विद्यालयको स्तर सुधारमा निरन्तर लागिरहेको बताउदै नतिजा सुधार हुँदै अब्बल विद्यालय बनेको दाबी गरे। विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयका गतिविधि र भावी कार्ययोजनाको बारेमा बताएका थिए।
शिलान्यास गरिएको भवन बुटवल उपमहानगरपालिका र भारतीय राजदुतावासको संयुक्त लगानीमा निर्माण हुनेछ भने सो भवनमा १२ कोठा रहनेछन्।
४ करोड ८८ लाख लागत अनुमान गरिएको भवनको ३ करोड ३८ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ। २०८३ फागुन २५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको भवन भूकम्प प्रतिरोधी र आधुनिक शैलीमा निर्माण हुने बुटवल उपमहानगरपालिका योजना शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए।