© २०२३
हङकङमा गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १ सय ६८ पुगेको छ । हङकङ प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या अघिल्लो विवरणभन्दा ७ जनाले बढेको हो ।
प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा मृतकको उमेर ६ महिनादेखि ९८ वर्षसम्मका व्यक्ति रहेको उल्लेख छ । मृतकमध्ये ५८ जना पुरुष र १ सय १० जना महिला छन् ।
गत नोभेम्बर २६ मा हङकङको उत्तरपूर्वी ताई पो जिल्लास्थित वाङ फुक कोर्ट अपार्टमेन्ट कम्प्लेक्समा भीषण आगलागी भएको थियो । यो आगलागी दशकौँयताकै हङकङमा भएको सबैभन्दा घातक आगलागी भएको बताइएको छ ।
सहरका नेता जोन लीले बुधबार दिएको जानकारीअनुसार आगलागी घटनासँग सम्बन्धित रहेर अहिलेसम्म ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकामाथि आपराधिक हत्या, ठगी तथा भ्रष्टाचारको आशंका गरिएको छ ।
आगो नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रक खटाइएका थिए । त्यस क्रममा एक जना अग्नि नियन्त्रकको समेत ज्यान गएको थियो ।