© 2026
काठमाडौँ ।
फागुन २१ गते हुने चुनावका लागि निर्वाचन प्रहरी भर्नामा मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा आवेदन दिने म्याद भोलिसम्मका लागि थप गरिएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आवेदन कम परेकाले दुई दिन म्याद थपिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीका लागि हिजोसम्म आवेदन दिने समय तोकेका थिए । यस अवधिमा झन्डै दुई लाख आवेदन परेको छ ।
धेरै जिल्लामा मागभन्दा बढी आवेदन परे पनि भर्नासम्बन्धी मापदण्ड नपुगेका कारण कतिपय आवेदक छनोट प्रक्रियाबाटै बाहिरिने गरेका छन् । नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ ।
निर्वाचन प्रहरीमा आवेदन दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, आतंककारी वा विध्वंसात्मक संगठनको सदस्य नभएको र नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।
पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडाइ ३१ देखि ३३ इन्च, कम्तीमा ५० किलो तौल हुनुपर्ने छ । महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ किलो तौल र गर्भवती नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिई ३० दिन काममा खटाइनेछ । निर्वाचन प्रहरीमा भर्ना हुनेले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान, लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । यसअनुसार निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार रुपैयाँ तलब तथा सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता पाउने व्यवस्था गरिएको छ ।