© २०२३
सल्यान, २ माघ ।
सचेतनामूलक नारासहितको र्याली निकालेर तथा कोणसभा गरेर सल्यानमा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी, सुरक्षित निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा शुक्रबार सदरमुकाम खलङ्गास्थित बसपार्क डाँडा गाउँबाट र्याली निकालिएको थियो ।
उक्त र्याली टुँडिखेल हुँदै पुरानो बसपार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह र समुदायबिच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
यस्तै शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्र कुमार शर्मा लगायतले बोल्दै भूकम्पबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनमा ध्यान दिनुपर्ने र विपद् पूर्व तयारीमा सरकारी निकाय मात्र नभई सर्वसाधारण नागरिक समेत सचेत र सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
भूकम्प प्राकृतिक विपद् भए पनि अव्यवस्थित बसोबास, भवन संहिताको उल्लङ्घन तथा मानवीय लापरबाहीका कारण ठुलो जनधनको क्षति हुने गरेको भन्दै कार्यक्रमका सहभागीहरूले सुरक्षित आवास निर्माण, जोखिमयुक्त संरचनाको पहिचान तथा समुदाय स्तरमा नियमित अभ्यास र तालिमको आवश्यकता औँल्याएका थिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो ।