© 2026
काठमाडौँ- नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादसँगै पार्टीको आधिकारिकता सम्बन्धी कानुनी प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।
गएराति सम्पन्न विशेष महाधिवेशन पक्षधर समूहले आज बिहीबार निर्वाचन आयोग पुगेर राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिकका लागि निवेदन दिने तयारी गरेको छ।
पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भई बुधबार सम्पन्न भएको ‘दोस्रो विशेष महाधिवेशन’ बाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण आयोगको अभिलेखमा दर्ता गर्न लागिएको हो।
विशेष महाधिवेशनले पार्टीको विधान र कानुनी प्रक्रिया पूरा गरेको दाबी गर्दै उक्त पक्षले आफूहरू नै आधिकारिक कांग्रेस भएको जिकिर गरेको छ।
विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। थापाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेमा पार्टीको नाम, झण्डा र चुनाव चिह्न (रुख) माथि यो समूहको वैधानिक दाबी पुग्नेछ।
अर्कोतर्फ, संस्थापन पक्ष (देउवा समूह)ले भने यो महाधिवेशनलाई अवैधानिक भन्दै आयोगमा यसअघि नै जानकारी गराइसकेको छ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ मा दलको नाम, विधान, नियम, छाप, झण्डा वा पदाधिकारीको हेरफेर भएमा सोको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई दिनुपर्ने व्यवस्था छ।
सोही प्रावधानलाई टेकेर थापा नेतृत्वको टोलीले आज आयोगमा आफ्नो दाबी पेश गर्न लागेको हो। आगामी निर्वाचनको मुखमा कांग्रेसभित्र देखिएको यो विभाजन र आधिकारिकताको लडाइँले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।